मार्क्सवादी पुस्तकालय खोलौँ, जग्गा म उपलब्ध गराउँछुः माधव नेपाल


११ पुस । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले सबै कम्युनिष्ट पार्टी बीच एकता आवश्यक भएको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘हामीले अब सबै कम्यनिष्ट पार्टीबीच बैचारिक छलफल गरेर एकताबद्ध कम्युनिष्ट पार्टी गठन गर्नुपर्छ,’ नेपालले भने, ‘एमालेले पहिल्यै यस्तो प्रक्रियाको थालनी गरेको छ ।’

नेपालले सँगै मञ्चमा बसेका एमाओवादी नेता एवं सूचना तथा सञ्चारमन्त्री राम कार्कीलाई संकेत गर्दै भने–‘हामी सबै कम्युनिष्ट पार्टीबीच एकताका बारेमा छलफल गर्न तयार छौँ । तपाईँले पार्टी अध्यक्षलाई यो खवर लगिदिनुहोला ।’

कार्ल माक्र्स द्वीशतवार्षिकी राष्ट्रिय समारोहको अवसरमा आयोजित कार्यक्रमा नेपालले माक्र्सको विभिन्न पाटोको व्याख्या गर्न आवश्यक रहेको पनि बताए । शान्तिपूर्ण रुपमै कम्युनिष्टहरुले सत्ता कब्जा गर्न सक्छन् भन्ने सन्देश नेपालका कम्युनिष्टहरुले दिएको भन्दै उनले जबसम्म जनतालाई सचेत बनाउन सकिन्न तबसम्म कम्युनिष्टहरु माथि उठ्न नसक्ने दाबी गरे ।

उनले कम्युनिष्टहरुमा पदको आशक्ति र भ्रष्टीकरण महारोगका रुपमा देखा परको भन्दै त्यसको अन्त्य आवश्यक भएकोमा पनि जोड दिए । उनले अधिनायकत्व राज्यसत्ताको हतियार भएको भन्दै हतियार होइन सत्ताकब्जाका लागि वल प्रयोग आवश्यक हुने तर्क गरे । ‘वल प्रयोग जनताको चेतना र शक्तिले हुन्छ,’ उनले भने, ‘संगठन निर्माण गरेर अघि बढौँ, जनतालाई सचेत बनऔँ । जनताके बलबाटै सत्ताकब्जा हुन्छ ।’

मार्क्सवादी पुस्तकालय खोलौँ, जग्गा म उपलब्ध गराउँछु

कार्यक्रममा नेपालले अन्तराष्ट्रिय स्तरको माक्र्सवादी पुस्तकालय स्थापना भए त्यसका लागि जग्गा उपलब्ध गराउन तयार रहेको बताए । ‘प्रधानमन्त्रीजीलाई घर बनाइदिन आग्रह गर्नुहोला म पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष पनि भएको नाताले भन्दैछु,’ उनले भने, ‘त्यसका लागि जग्गा म उपलब्ध गराउँछु ।’

प्रतिक्रिया दिनुहोस्