माग पूरा नभएको भन्दै डा केसी नवौँ आमरण अनशनमा


१० असोज । ३ गते नै अनशनको घोषणा गरेका डा गोविन्द केसीले आफ्ना माग पूरा नभएको भन्दै आजदेखि आमरण अनशन सुरु गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी उनले नवौँ आमरण अनशन सुरु गरेका हुन् । यसअघि गरेका सहमति पूरा हुने अवस्था नदेखिएकाले दबाबस्वरुप अनशन बस्नु परेको उनको भनाई छ । शिक्षा र स्वास्थ्यमन्त्रीले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतापत्र पठाएपछि उनले एक हप्ता सरकारलाई समय दिई अनशन स्थगन गरेका थिए ।

चिकित्सा शिक्षा ऐन यही संसदबाट पारित गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण सिंहलाई महाअभियोग लगाउनुपर्ने, चिकित्सा शिक्षाको शुल्क माथेमा आयोगले सुझाए अनुसार लिनुपर्ने र त्यसपछि शुल्क समायोजनका लागि बनाइएको समिति खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मा वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने, विचाराधीन विधेयक संसद्बाट फिर्ता लिनुपर्ने र आइओएमका भ्रष्टाचारीमाथि छानबिन र कारबाही गर्नुपर्ने, चिकित्सा शिक्षामा सुधार गर्नुपर्ने जस्ता माग केसीले राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्