माथिल्लो तामाकोशीमा भारतीय कम्पनीले काम नगरेपछि नयाँ कम्पनी छनोटको तयारी


काठमाडौ, २७ वैशाख। दोलखामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीमा भारतीय कम्पनीले समयमै काम नगरेपछि नयाँ कम्पनी छनोटको प्रक्रिया थालिएको छ । भारतीय कम्पनी टेक्सम्याकाले समयमै काम नगरेपछि हाइड्रो–मेकानिकलको जिम्मा नयाँ कम्पनीलाई दिइने भएको हो । मन्त्री तथा प्रधानमन्त्रीले निर्माणस्थल मै गएर राष्ट्रिय गौरवको आयोजनालाई अघि बढाउन निदेशन दिएका छन । ४ सय ५६ मेघावट क्षमता भएको आयोजना २०७५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएपछि ठेकेदार कम्पनीले गर्दा सुस्त गतिमा अघि बढेको हो ।
आयोजना समयमै बनोस् र थप लागत पनि नबढोस् भनेर यो कम्पनीको विकल्प खोजिएको तामाकोसी हाइड्रोपावर लिमिटेडका सीईओ विज्ञान प्रसाद श्रेष्ठले जानकारी दिए ।

तामाकोसीमा इलेक्ट्रो–मेकानिकलको काम गरिरहेको एन्ड्रिजले नै हाइड्रो–मेकानिकलमा चासो देखाएको छ ।
भारतीय कम्पनी ट्याक्सम्याकाले थोरै कामदार राखेर काम गरेका कारण हाइड्रोमेकानिकल अन्तर्गतका धेरै काम बाँकी छन् । यो आयोजनामा दुईवटा भर्टिकल साफ्ट छन् । ३ सय ७३ मिटर माथिल्लो भर्टिकल साफ्ट र ३ सय ३२ मिटर लामो तल्लो भर्टिकल साफ्टमा पेनस्टक पाइप जडान गर्नुपर्छ । तर, अहिलेसम्म टेक्सम्याकाले सबै सामाग्रीसमेत निर्माणस्थल पुरयाउन सकेको छैन ।
जबकी अहिलेसम्ममा ५० प्रतिशत काम सक्नुपर्ने हो । दुवै भर्टिकल साफ्टमा पेनस्टक पाइप जडान गरेपछि मात्र कन्क्रिटिङको काम अघि बढाउन सकिन्छ ।

कन्क्रिटिङ गर्न कम्तीमा १० महिना लाग्छ । सिभिल कन्स्ट्रक्सनको जिम्मा भने चिनियाँ कम्पनी सिनो हाइड्रोले लिएको छ । टेक्सम्याकाले समयमै काम अघि नबढाएपछि सिभिल कन्स्ट्रक्सनको काममा समेत प्रभाव पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्