माधव नेपालका सबै कुरामा मेरो समर्थन छः केपी ओली


२७ कात्तिक । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेका हरेक कार्यक्रम केही घण्टा ढिलो सुरु हुने गर्थे । आयोजकहरु पनि ओलीनै प्रमुख अतिथि आउने भनेपछि कार्यक्रम विस्तारै सुरु होला भनी त्यति हतारोमा देखिदैँनथे ।

त्यतिमात्र होइन सञ्चारकर्मीहरु समेत ओली नै प्रमुख अतिथि हुने भनेपछि ती कार्यक्रममा केही ढिला गरी नै पुग्थे । तर, शनिबार राजधानीमा एमाले निकटका आदिवासी–जनजातिहरुको संस्था ‘नेपाल लोकतान्त्रिक आदिवासी–जनजाति महासंघ’को प्रथम राष्ट्रिय भेलामा भने सञ्चारकर्मी र आयोजकलाई नै चकित बनाउँदै ओली कार्यक्रममा उपस्थित भए ।

ओली कार्यक्रममा समयमै उपस्थित मात्र भएनन्, भाषणसमेत निकै छोटो गरे । ओलीले सम्बोधन पनि जम्मा आठ मिनेट ५८ सेकेण्टमै सकेका थिए । शनिबार नै उदयपुरका एक आम सभा र भवन शिलान्यास कार्यक्रममा सहभागी हुन जानुपर्ने भएकाले ओलीले मन्तव्य पनि छोटो नै गरेका थिए । नेपाल र ओली दुबैले समयमै सम्बोधन गरेका कारण अधिकांश सञ्चारकर्मी समेत झुक्किएका थिए । ओली–नेपाल दुबै बाहिरिएपछि कार्यक्रम स्थलमा पुगेको थुप्रै सञ्चारकर्मी प्रमुख अतिथि अझै नआएको भ्रममा परेका थिए ।

अझ गजब त के भयो भने सोही कार्यक्रममा उपस्थित भएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालप्रति संकेत गर्दै ओलीले भने– ‘धेरै कुरा अघि बोल्ने क्रममा माधव नेपालले भनिसक्नु भएको छ, उहाँको सबै कुरामा मेरो समर्थन छ ।’
ओलीले त्यसो भन्दा हलभरी हाँसोसँगै ताली गुञ्जिएको थियो ।
पछिल्लो समय दुई नेता ओली र नेपालसँगसँगै देखिन थालेपछि देशव्यापि रुपमा एकताको सन्देश गएको भन्दै कार्यकर्ताहरुले समेत उत्साह व्यक्त गर्न थालेका छन् ।
करिब नौ मिनेटको सम्बोधनमा ओलीले संविधान कार्यन्वयन गर्न नदिने अनेकथरी गतिविधि भैरहेको भन्दै त्यस्ता गतिविधिलाई अन्त्य गरेर अघि बढ्न एमाले तयार रहेको बताएका थिए ।

‘नेपाल गरिब छ, नेपालाई सम्बृद्ध बनाउनु छ,’ उनले भने, ‘त्यसका लागि लोकतान्त्रिक संविधानलाई कार्यान्वयन गर्नुपर्छ । तर, अहिले अनेकथरी गतिविधि गरेर संविधान कार्यान्वयन हुन नदिने खेलमा लागेका छन् ।’ उनले कसैले तराई–पहाड त कसैले पूर्व–पश्चिमका नाममा संविधान कार्यान्वयन गर्न नदिने गतिविधि गरेको पनि आरोप लगाए ।

एमाले जनजाति विरोधी होइनः नेपाल

कार्यक्रममा सम्बोधन गर्दै नेपालले एमाले आदिवासी–जनजाति विरोधी नभएको बताएका थिए । ‘एमाले आदिवासी–जनजाति विरोधी पार्टी होइन,’ नेपालले भने, ‘अहिले एमालेलाई कमजोर बनाउँन र आदिवासी–जनजातिलाई आफूतिर प्रभावित बनाउन केही सस्ता भाषण मात्र गरेका हुन् ।’ नेपालले त्यस्ताको पछि नलाग्न पनि आग्रह गरे ।

ओली–नेपाल नै उदयपुर

नेपाल लोकतान्त्रिक आदिवासी–जनजाति महासंघको उद्घाटन कार्यक्रममा सम्बोधन गरेपछि दुबै नेता उदयपुरतिर लागेका छन् । त्यहाँ शनिबार नै आयोजना हुने आमसभा र भवन शिलान्यास कार्यक्रममा दुबै नेता सहभागी हुनेछन् ।  तस्बिरः चेतन अधिकारी 

प्रतिक्रिया दिनुहोस्