माधव नेपालले भने– ‘हामीकहाँ कर्मचारीतन्त्र विकासमुखी छैन’


१२ चैत । नेकपा (एमाले) को बैदेशिक मामिला विभागले ‘विकास र समृद्धि’ विषयमा एक दिने कार्यशाला सम्पन्न गरेको छ ।

भक्तपुरस्थित काठमाडौँ स्कुल अफ लमा आयोजित उक्त कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री तथा बैदेशिक मामिला विभागका प्रमुख माधवकुमार नेपालले मुलुकको विकासका लागि दीर्घकालीन योजनाको आवश्यकतामा जोड दिँदै विकासलाई अघि बढाउन अवरोधका रुपमा खडा हुनेहरुलाई पन्छाउनुपर्ने धारणा राखे ।

 ‘हामीकहाँ कर्मचारीतन्त्र विकासमुखी छैन, अदालतले पनि विकासका काम रोक्ने गरेको छ । ०५१ सालमा हाम्रो सरकारले माइतीघरदेखि भक्तपुरसम्मको बाटो विस्तार गर्न खोज्दा एभरेस्ट होटल अदालतमा गयो र स्टे अर्डर ल्याएर आयो । त्यसकारण हामीले काम गर्न पाएनौँ । अहिलेसम्म पनि त्यो क्रम जारी छ,’ उनले भने, ‘कर्मचारीतन्त्र कुरा मिलाउन जान्दछ, विकास गर्न होइन । म प्रधानमन्त्री हुँदा मुग्लिनमा पुल भत्किएको देखेपछि तत्काल बनाउन भनेँ । १० लाख रुपियाँमा एक महिनाभित्र बनाउन सकिन्छ भनियो । तर, तीन महिना वितिसक्दा पनि रिपोर्ट मात्रै पेस भयो, काम भएन । पछि मुख्य सचिवलाई नै कडा निर्देशन दिएर हेर्न पठाएपछि बल्लतल्ल काम भयो ।’

उनले ठूला परियोजना स्वीकृत नगर्ने कुरामा षड्यन्त्र लुकेको पनि दाबी गरे । ‘नेपालमा ठूला परियोजना आउनै नदिने कोसिस हुन्छ । विकासका लागि हाम्रा कानुनहरुमै सुधार आवश्यक छ, कानुन सुधार गरेनौँ भने टाउको फोडे पनि विकास हुन्न,’ उनले भने, ‘विकासको लक्ष्य बनाउँदा आजको मात्र होइन, भोलिको आवश्यकतालाई पनि हेर्नुपर्छ । अस्ति म जाजरकोट जाँदै थिएँ, अहिले पनि एक लेनको पुल बनाइरहेको देखेँ । यस्तो मानसिकताले विकास हुँदैन ।’

उनले राष्ट्रिय पुँजी, प्रविधि र जनशक्ति परिचालन गर्दा ठूलो परिवर्तन गर्न सकिने बताए । ‘अर्काको देशमा पुगेर गर्ने काम आफ्नै देशमा गर्दा मात्रै पनि समाज परिवर्तन हुन्छ,’ उनले भने, ‘हालै पर्वत पुग्दा मैले एउटा परिवार भेटेँ, जसले गाईपालन गरिरहेको छ र महिलाको दुई लाख रुपियाँ कमाइरहेको छ । जबकि, उनी पहिला विदेश गएर पनि कमाउन नसकेर फर्किएका रहेछन् ।’

कार्यक्रममा नेपालको विकासको मोडल प्रस्तुत गर्दै पूर्वअर्थमन्त्री तथा पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले हिजोको राजनीति अधिकारमूखी भएको तर आज परिस्थितिमा परिवर्तन आएका कारण समृद्धिमुखी हुनुपर्नेमा जोड दिए । ‘हिजो हामीले भन्दै आएका कतिपय कुरा पनि आज असान्दर्भिक भएका छन् । जमिन बाँडेर हुँदैन, यसलाई सरकारको मातहतमा राख्नुपर्छ र पकेट क्षेत्र तोकेर काम गर्न जनतालाई दिनुपर्छ,’ उनले भने ।

उक्त कार्यपत्रमाथि सार्क चेम्बर अफ कमर्सका अध्यक्ष सुरज बैद्य, अर्थशास्त्री डा. विजय पौडेल, समाजशास्त्री हरि शर्मा, कानुनविद् युवराज संग्रौला र समाजशास्त्री डा. सुरेश ढकालले टिप्पणी गरेका थिए ।  सहभागीहरुमध्ये पूर्वमन्त्री केशव बडाल, योजना आयोगका पूर्वसदस्य डा. भीम न्यौपाने, सांसद लालबाबु यादव, पूर्वसांसद हरि बैरागी दाहाल, पूर्वसांसद डा. डिल्लीराज खनाल, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा, डा.अञ्जान शाक्य, वातावरणविद् मञ्जित ढकाल, स्वशासनविज्ञ डा. खिमलाल देवकोटा, डा. रमेश ढकाल, एमाले प्रचार विभाग सचिव विष्णु रिजाल, अर्थशास्त्री डा. गोविन्द थापा, पूर्वराजदूत प्रमेश हमाल, पूर्वरथी विनोज बस्न्यात, वातावरणविद् डा. मदन कोइराला, पूर्वमन्त्री हरि पाण्डे, इन्जिनियर सरोज उपाध्याय, उद्यमी हरिप्रसाद पौडेल, तेज ढकाल, गणेश विक, डा. नारद भारद्वाज र अधिवक्ता नवराज थपलियाले धारणा राखेका थिए ।

विदेश मामिला विभाग प्रमुख नेपालको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन विभागका सदस्य लेखनाथ पौडेलले गरेका थिए ।  नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री भीम रावलको अध्यक्षतामा सम्पन्न दोस्रो सत्रमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. युवराज खतिवडाले ‘नेपालको आर्थिक विकासः चुनौती र अवसर’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

आफ्नो कार्यपत्रमा डा. खतिवडाले आर्थिक विकासका लागि आज गर्नुपर्ने कामका बारेमा चर्चा गरे । उक्त कार्यपत्रमाथि प्रविधि विज्ञ महाविर पुन, कृषिविद् डा. दुर्गादत्त ढकाल, पर्यटनविज्ञ प्रचण्डमान श्रेष्ठ, जलस्रोतविद् सूर्यनाथ उपाध्याय र बैंकर चन्द्र ढकालले टिप्पणी गरे । कार्यक्रमको सञ्चालन विदेश विभाग सदस्य रविन्द्र अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्