मान्छे मारेर फरार रहेका बालकृष्ण ढुंगेल पुराणमा, कांग्रेसका सांसदबाट संरक्षण !


११ फागुन । ओखलढुंगाका पूर्वसांसद बालकृष्ण ढुंगेल अभियुक्त मात्र होइनन्, ज्यानमारा मुद्दामा सर्वोच्च अदालतबाट प्रमाणित अपराधी हुन् । तर, उनी फरार रहेको भन्दै नेपाल प्रहरीले पक्राउ गर्न नसकिएको जवाफ सर्वोच्च अदालतलाई पठाएको छ ।

कुनै आश्चर्य मान्नुपर्दैन, तिनै अपराधी बालकृष्ण ढुंगेल गाउँमा डुलिरहेका छन् । उनी कतै लुकीछिपी बसेका छैनन्, खुलेआम सार्वजनिक कार्यक्रममा सहभागी हुन्छन् ।

गत फागुन ८ गते ओखलढुंगाको गाम्नांगटार गाविसको वडान नम्बर ५ स्थित खरबारीमा प्रेमप्रसाद भट्टराईको घरमा लगाइएको सप्ताह पुराणमा तिनै जेल भुक्तान गर्न बाँकी रहेका बालकृष्ण ढुंगेल एक्लै पुगेनन्, ओखलढुंगाका सांसद रामहरि खतिवडासँग नारिएर तस्वीर खिचाउन समेत बाँकी राखेनन् ।

16649020_10202635813774381_5418982710241451629_nहालै रोलेक्स घडी काण्डका कारण चर्चामा आएका सांसद खतिवडा र कांग्रेसका जिल्ला सभापति प्रदीप सुनुवारको बीचमा बसेर लामो समय बिताएका ढुंगेल र खतिवडाबीच हार्दिक सम्बन्ध रहेको बताइन्छ । गृहमन्त्री विमलेन्द्र निधिसँग नजिकको सम्बन्ध रहेको भन्दै प्रहरीको सरुवा बढुवामा समेत चासो राख्दै आएका सांसद खतिवडाले हाँसीखुसी ढुंगेलसँग तस्वीर खिचाउनुले पनि उनीहरुबीचको मित्रता झल्किन्छ ।

रमाइलो कुरा त के छ भने ढुंगेल फरार रहेर भेटाउन नसकिएको भन्दै अदालतलाई सरासर ढाँट्ने प्रहरीको कार्यालय सप्ताहस्थलभन्दा दुई सय मिटर नजिकै छ । तर पनि, प्रहरीले माथिल्लो निकायमा खबर समेत गरेन । ओखलढुंगाका डिएस्पी मिलन केसीले बालकृष्ण ढुंगेल जिल्लामा घुमिरहेको खबर माथिल्लो निकायलाई पठाएका समेत छैनन् ।

ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यामा संंलग्न रहेको अभियोग प्रमाणित भएर सर्वोच्चबाट अपराधी कायम भएका ढुंगेल कानुनको खिल्ली उडाउँदै खुलेआम हिँडिरहेका छन् ।

तस्वीरमा माला लगाएका तीनजना क्रमशः कांग्रेसका जिल्ला सभापति प्रदीप सुनुवार, फरार बालकृष्ण ढुंगेल र सांसद रामहरि खतिवडा
तस्वीरः दीपक भट्टराईको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्