मार्क्सका नाममा विशेष कार्यक्रम


पुस ११ । कम्युनिस्ट विचारधाराको प्रवर्तक कार्ल मार्क्सको द्वीशतवार्षिकी मनाउने क्रममा आज राष्ट्रिय नाचघर, जमलमा विशेष कार्यक्रम आयोजना हुँदैछ । कार्ल मार्क्स द्वीशतवार्षिकी समारोह राष्ट्रिय भेला आयोजक समितिद्वारा आयोजना हुने उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत बरिष्ठ वामपन्थी नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

आगामी सन् २०१८ मे ५ मा मा मार्क्स जन्मेको दुई सय वर्ष पुग्ने भएकाले त्यतिबेलासम्म विशेष कार्यक्रम मनाउन एमाले नेता घनश्याम भुसाल संयोजक र माओवादी नेता राम कार्की सहसंयोजक रहेका आयोजक कमिटी एक वर्षअघिदेखि क्रियाशील छ ।

दुई दिनसम्म आयोजना गरेको भेलामा आजको कार्यक्रममा नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्वप्रधानन्त्री माधवकुमार नेपाल, नेकपा (संयुक्त) का बरिष्ठ नेता विष्णुबहादुर मानन्धर, नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतम, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,  नेकपा (संयुक्त) का अध्यक्ष गणेश साह, नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र सोही पार्टीका अर्का नेता अमिक शेरचनले बोल्ने कार्यक्रम छ ।

आजको सन्दर्भमा मार्क्सवादका बारेमा विमर्श गर्न आयोजित कार्यक्रम अन्तर्गत भोलि कार्की ब्यांक्वेट, बबरमहलमा छ वटा विषयमा प्रस्तुति रहने जनाइएको छ । आोजजक समितिका सदस्य बेदुराम भुसालका अनुसार, समाजवादको भविष्यका विषयमा राम कार्की (सुरेन्द्रकुमार कार्की), मार्क्सवादको योगदानका बारेमा प्रदीप ज्ञवाली, द्वन्द्वात्मक भौतिकवादका बारेमा बेदुराम भुसाल, आजको विश्व व्यवस्थाका बारेमा डा. विजय पौडेल, कम्युनिष्ट आन्दोलनमा एकता र विवादका बारेमा मोहनबिक्रम सिंह र मार्क्सवाद र संस्कृतिका बारेमा आहुति (विश्वभक्त दुलाल) ले कार्यपत्रहरु पेस गर्नेछन् ।

विहान ८ बजे सुरु भई दिउँसो साढे २ बजे समापन हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा एमाले बरिष्ठ नेता झलनाथ खनाल छन् भने माओवादी नेता रामबहादुर थापा र माले महासचिव सीपी मैनालीले पनि सम्बोधन गर्नेछन् ।

सो अवसरमा आगामी सन् २०१८ मेसम्म आयोजना गरिने कार्यक्रमहरु र कार्ल माक्र्स द्वीशतवार्षिकी राष्ट्रिय समारोह समिति र राष्ट्रिय संयोजन समितिको घोषणा गर्ने कार्यक्रम छ ।

कार्यक्रमको औचित्यका बारेमा आयोजक समितिले भनेको छः

‘कार्ल मार्क्सको द्वीशतवार्षिकी समारोहलाई हामीले केबल एउटा औपचारिक आयोजनामा सीमित होइन, नेपाली कम्युनिष्ट आन्दोलनमा पठन संस्कृति, स्वस्थ बहस, गम्भीर आत्मसमिक्षा, पारस्परिक सम्मान र नयाँ चुनौतीको सामना गर्न नयाँ उचाईबाट दृष्टिकोण निर्माणको महत्वपूर्ण अवसरका रूपमा स्थापित गर्न चाहन्छौं । करिब दुई बर्षसम्म आयोजना गरिने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न छलफल, विमर्श तथा अध्ययन–अनुसन्धानहरुले माक्र्सवादको सान्दर्भिकता र समाजवादको भविष्यका बारेमा नेपाली समाजमा नयाँ विश्वासको सन्देश सम्प्रेषित गर्ने, कम्युनिष्ट आन्दोलनमा सहकार्य  र वैचारिक स्पष्टताका लागि नयाँ वातावरण निर्माण हुने र नेपालमा कम्युनिष्ट आन्दोलनको भूमिका र भविष्यलाई अझ सुदृढ गर्न टेवा पुग्ने विश्वास लिइएको छ ।’

प्रतिक्रिया दिनुहोस्