माल्दाइ र ज्ञानेन्द्रसँग मिलेर आम्बारीमा मुरइका डल्ला र जेरी खान्थे केपी ओली


 ८ माघ । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय गृह जिल्ला झापाको भ्रमण निकै बाक्लो गर्न थालेका छन् । केही हप्ता अघि मात्र झापा पुगेर फर्केका ओलीले फेरि आफ्नो गृह जिल्ला पुगेर विभिन्न कार्यक्रममा उपस्थिति जनाएका छन् ।

गृह जिल्ला पुगेपछि निकै व्यस्त बन्ने ओलीले एकै दिन तीन–चार वटासम्म कार्यक्रम भ्याउने गरेका छन् । त्यसो त पछिल्लो पटकको भ्रमणमा पनि उनले तीन वटा ठूला योजनाहरुको शिलान्यास गरे ।  ओलीले एकैदिन ५० करोडभन्दा बढी लागतका ३ वटा योजनाहरु शिलान्यास मात्र गरेरनन् । उनले झापाको क्षेत्र नं. ७ लाई देशकै नमूना क्षेत्र बनाउने उद्घघोष पनि गरे ।

संविधानसभाको दोस्रो विर्नाचनमा झापा क्षेत्र नम्बर ७ बाट सभासद् बनेका ओलीले पहिलो पटक प्रधानमन्त्री बन्ने अवसर पनि प्राप्त गरे । झापा पुगेपछि साना–साना कार्यक्रममा पनि उपस्थित हुने ओलीले पटक–पटक त्यहाँका जनतालाई आफूलाई प्रधानमन्त्री बन्ने अवसर दिएको भन्दै धन्यवाद् दिने गरेका छन् । यो पटकको भ्रमणमा पनि उनले त्यो कुरा छुटाएनन् ।

झापा भ्रमणका क्रममा मुख्य गरेर विकास निर्माणका काममा सक्रिय बन्ने ओलीले यो पटक दमक–१७ को बेतिनी–मावा–आम्बारी पुल, दमक–१९ को सेतुमारी–कोहबरा जोड्ने रतुवा खोलाको पुल र लखनपुरको मंगलबारे–धरमपुर–शिवगञ्ज सडकको स्तरोन्नतीको शिलान्यास गरे ।

माओवादीले शिलान्यास गरेको पुल ओलीले पनि गरे शिलान्यास

झापाको दमक १७ हुँदै मोरङको राजघाट–९ जोड्ने बेतेनी–मावा–आम्बारी पुल बुधबार नै माओवादी केन्द्रका नेतालले शिलान्यास गरेका थिए । आफूहरुको पहलमा पारेको योजनाको पुल एमाललेले थाहा नदिइ उद्घाटन गर्न लागेको भन्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य रेवतराज पुरी ‘गगन’ ले बुधबार शिलान्यास गरेका गरेका थिए । पुल शिलान्यास गर्दै माओवादी नेताहरुले ओली पुलको शिलान्यास गर्न आए प्रतिकार गर्ने चेतावनी समेत दिएका थिए ।

तर, झापा क्षेत्र नम्बर–७ का सासंद् समेत रहेका ओली निर्धारित समयमै पुलको शिलान्यास गर्न पुगे । निकै बलियो सुरक्षाका बीच शिलान्यास कार्यक्रममा पुगेका ओलीले  पुलको शिलान्यास मात्र गरेनन् । उनले विकास निर्माण कसैको एकलौटी नहुने र सबैको साझा हुने भन्दै माओवादीलाई व्याङ्यसमेत गरे ।  उनले राजनीतिक दलहरुले विकासका एजेण्डालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिदैँ विकास योजनाका पक्षमा सवै दल र नेताहरुलाई एक जुट हुन आग्रह पनि गरे ।

‘झापा क्षेत्र नम्बर–७ लाई नमुना क्षेत्रको रुपमा विकास गर्न लागिरहेको छु,’ उनले भने ‘ संविधानसभाको पहिलो  निर्वाचनमा म यहाँको प्रतिनिधि हुन नसक्दा विकास पुराना स्थितिमा नै रहे । अब यस क्षेत्रको विकास अरुका लागि अनुकरणीय हुने छ ।’ दमक १९ मा रतुवा खोलाको पुल करिब ३३ करोड, दमक १७ मा मावा खोलाको पुल करिब २३ करोड र सडक स्तरउन्नती ७ करोडको लागतमा हुने बताइएको छ । ओलीले ती योजनाहरु निर्धारित समयमा सक्न र गुणस्तरीय बनाउनका लागि निर्माण पक्षलाई सजग समेत गराए ।

४६ वर्ष अघि कट्टु लगाएर यहीँबाट वारपार गर्थेँः ओली

बेतिनी–मावा–आम्बारी पुल शिलान्यास गर्ने क्रममा ओली निकै भावुक बनेका थिए । उनले पुल शिलान्यास गर्दै ४६ वर्ष अघिको सम्झना गर्दा कार्यक्रममा उपस्थित सबै भावुक बनेका थिए । ‘मलाई अहिले यो पुल शिलान्यास गर्दा २०२७ साल असार १५ गतेको याद आयो,’ ओलीले भने, ‘आज भन्दा करिब ४६ वर्ष अघि म मुक्ति बरालको घरमा भूमिगत जीवन विताइरहेको थिएँ । त्यसैबेला कट्टु लगाएर यही खोला वार–पार गरेर मुरइका डल्ला र जेरी खान्थ्यौँ । त्यसैबेला यो खोलामा पुल बनाउन पाए हुन्थ्यो भन्ने लागेको थियो ।’

उनले ४६ वर्ष अघिको सपना पूरा भएकोमा खुशी व्यक्त गरे । ‘म भूमिगत हुँदा कहिले हरिबहादुर बस्नेत त कहिले के नाममा यही बाटो हिँडडुल गर्थे,’ उनले भने, ‘कुलझोडामा कुलबहादुर लिम्बू प्रधानपञ्च थिए । उनका भाइ प्रेमबहादुर लिम्बू प्रगतिशील विचारधाराका थिए । त्यसैबेला उनको हत्या भएको थियो ।’ उनले त्यसबेला मल्दाइ, ज्ञानेन्द्र नाम गरेका साथीहरुसँग बेतिनी–मावा–आम्बारी ओहोर–दोहोर गर्दै जेरी र मुरइका डल्ला खाँदाको पल अहिले पनि ताजै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्