मिति नै नतोकिएको निर्वाचनमा जुट्न प्रधानमन्त्रीको निर्देशन


१४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार पर्वतका कार्यालय प्रमुखहरुलाई तीनै तहको निर्वाचनका लागि तयार रहन निर्देशन दिए । अहिले प्रधानमन्त्री दाहालले जहाँ पुगेर बोले पनि निर्वाचनको कुरा गर्न छुटाउँदैनन् । तर, व्यवहारमा भने त्यस्तो देखिएको छैन । निर्वाचनलाई पर धकेल्नेतिर नै प्रधानमन्त्री दाहालका क्रियाकलापहरु रहँदै आएका छन् ।

प्रधानमन्त्री दाहालले पुस १५ देखि नै निर्वाचनको रटान लगाउन थालेका हुन् । उनले त्यतिबेला बोल्दा माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन हुने कुरा बताएका थिए । प्रधानमन्त्री दाहालले मात्र होइन, माओवादी केन्द्रका शीर्ष तहका नेताहरुले पनि माघको पहिलो हप्ता निर्वाचनको मिति घोषणा हुने बताउने गरेका थिए ।

माघको पहिलो हप्ता बिते पनि निर्वाचनको मिति भने घोषणा हुन सकेन । सत्ता गठबन्धनमा सामेल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी एमालेका शीर्ष तहका नेताहरुलाई बालुवाटारमै बोलाएर प्रधानमन्त्री दाहालले केही दिनभित्रै निर्वाचनको मिति घोषणा हुने बताए । तर, माघ १५ कट्नै लाग्दा पनि निर्वाचनको मिति घोषणा गर्नेतिर सरकारले तत्परता देखाइरहेको छैन । तर, प्रधानमन्त्री दाहालले भने निर्वाचनको रटान लगाउन भने छाडेका छैनन् ।

निर्वाचनलाई पछि धकेल्न प्रधानमन्त्री दाहालका व्यवहारहरु सतहमै देखिए पनि सत्ता गठबन्धनकारी दल काँग्रेसले भने निर्वाचनका लागि तीव्र दबाब दिइरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइरालालगायत काँग्रेसका उच्च तहका नेताहरु निर्वाचन चाँडै नै हुने बताउँदै आइरहेका छन् । काँग्रेसकै सहयोगमा सरकारको नेतृत्व सम्हाल्न पाएको हुँदा प्रधानमन्त्री दाहालले पनि पछिल्लो समय निर्वाचनका लागि तीव्र दबाब झेलिरहेको सहजै महसुस गर्न सकिन्छ ।

नौ महिनाका लागि प्रधानमन्त्री बनेका दाहालले स्थानीय तहको निर्वाचन गराएर सहज रुपमा बिदा लेओस् भन्ने चाहना काँग्रेस सभापति देउवाले राखेका छन् । अहिलेको गठबन्धनलाई नटुटाई एउटा निर्वाचन माओवादी केन्द्र नेतृत्वको सरकारलाई गर्न दिने र अरु दुई तहको निर्वाचन भने आफ्नै नेतृत्वको सरकारमा गर्ने काँग्रेस सभापति देउवाको दाउ रहेको छ । त्यही कारण वर्तमान सरकारले चाँडै निर्वाचन गरेर सत्ताको चाबी आफूलाई सुम्पोस् भन्ने चाहना देउवाको रहेको छ ।

प्रमुख प्रतिपक्षी एमालेले पनि निर्वाचनका लागि सरकारलाई दबाब दिँदै आइरहेको छ । हठात्मा ल्याएको संविधान संशोधन विधेयक स्थगित गरेर निर्वाचनको मिति घोषणा गरी माहोल बनाउन एमालेले सरकारलाई बारम्बार सुझाव दिँदै आएको छ । तर, सरकार भने निर्वाचनको मिति घोषणा गर्न आलटाल गर्दै आइरहेको छ ।

निर्वाचनको मिति घोषणा नै नगरी निर्वाचनमा जुट्न प्रधानमन्त्री दाहालले दिएका निर्देशन हास्यास्पद मात्र देखिन्छ । मिति घोषणा गरेर मात्र निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका भए कति सार्थक निर्देशन हुन्थ्यो ?

प्रतिक्रिया दिनुहोस्