मुख्यमन्त्रीको विद्युतिय जिप हेटौंडा आयो


हेटौंडा, १८ कात्तिक । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चढ्ने विद्युतिय जिप हेटौंडा आईपुगेको छ । ३ नम्बर प्रदेशमा पेट्रोलियम सवारीसाधन पूर्ण प्रतिवन्ध लगाउने घोषणा गरिसकेको प्रदेश–३ सरकारका मुख्यमन्त्रीले विद्युतबाट चार्ज गरी सञ्चालन हुने सुविधायुक्त विद्युतीय जीप चढ्ने हेटौंडा ल्याईएको हो । यस अघि राष्ट्रपति विद्यादेवी भण्डारी तथा उर्जा मन्त्री बर्षमान पुनले विद्युतिय जिप चढिसकेका छन ।
प्रदेश सरकारले २०८५ सालदेखि काठमाडौं उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौती शहरहरुमा पेट्रोलियम सवारीसाधन पूर्ण प्रतिवन्ध लगाउने नीति तथा कार्यक्रममा घोषणा गरिसकेको छ । प्रदेश सरकारले सार्वजनिक यातायातमा विद्युतीय साधन प्रयोगलाई प्रोत्साहन गरिने र यातायात सेवालाई वातावरणमैत्री बनाइने अभियान अन्तर्गत मुख्यमन्त्रीले नै अभियान थालनी गर्न लाग्नु भएको हो ।
चीनमा उत्पादन गरिएकोे बीवाईडी जीपको मूल्य ५५ लाख पर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । उक्त जीपको ब्याट्रीमा १० वर्ष वारेन्टी रहेको बताइएको छ । २ घण्टा चार्ज गर्दा जीप ४ सय किलोमिटर गुड्ने उत्पादक कम्पनीले दावि गरेको छ । चिनियाँ कम्पनीको सो गाडिहरु नेपालमा सूर्या गुड्स सप्लायर्सले विक्रि गर्ने गरेको छ । गाडिहरुको नियमित सञ्चालनका लागि चितवनको मुग्लिन, हेटौंडा, त्रिभुवनराजपथको विभिन्न स्थानका साथै पूर्वपश्चिम राजमार्गमा पनि केही महिनापछि विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्न लागिएको छ । पहिलो चरणमा हेटौंडास्थित मुख्यमन्त्री कार्यालयमा मल्टियुजर चार्जिङ स्टेशन स्थापना गरिनेछ । प्रदेश सरकारले विद्युतीय बसहरु पनि सञ्चालनको तयारी गरेको छ । पहिलो चरणमा हेटौंडा–नारायणगढ सञ्चालन हुने त्यस्ता गाडी निकट भविष्यमा रसुवा–हेटौंडा लगायत क्षेत्रमा पनि सञ्चालन गरिनेछ ।
नेपालको वातावारणमा स्वच्छ कायम गरिराख्ने एकमात्र भरपर्दो उपाय विद्युतीय गाडीको प्रवद्र्धन भएकोले सरकारले प्रदेशलाई अब विद्युतीय सवारीसाधनतर्फ डो¥याउने मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । नेपालमा विद्युतिय उत्पादनलाई बृद्धि गरी विद्युतिय सवारीहरुको विस्तार गर्ने योजनामा प्रदेश सरकार रहेको उहाँको भनाई थियो । केहि समय अगाडि मात्र काठमाण्डौमा विद्युतिय बसको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ समेत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्