मुम्बईको कोठीमा बेचिएकी सुनिता लेख्छिन्– ‘घाँटी रेट्नै लाग्दा पनि मैले धन्दा गरिनँ’


जब सम्पूर्ण रुपमा म होसमा आएँ, एउटा यस्तो कोठामा मैले आफूलाई पाएँ, जुन मेरा लागि बिल्कुल नौलो थियो । फलामै फलामले बारिएका झ्यालबाट बाहिर केही देखिँदैनथ्यो । उठेर दायाँ–बायाँ हेर्न थालेँ । त्यहाँ थुप्रै कोठाहरु रहेछन् । छेउका कोठाहरुमा मजस्ता केटीहरु लहरै सुतिरहेका रहेछन् । कोही अर्धनग्न अवस्थामा पल्टिएका थिए, कोही टुपीसमा लडिरहेका थिए । एउटा छेउमा केही केटीहरु छिल्लिइरहेका देखिन्थे । ओंठमा गाढा रातो लिपिस्टिक, गालामा भद्दा मेकअप अनि आँखामा लत्पतिएको गाजलमा सजिएका ती केटीहरु भर्खर सोह्र–सत्र वर्षका जस्ता देखिन्थे । उनीहरुको पोशाक र हाउभाउ अलि भिन्न थियो । यी केटीहरु यहाँ के काम गर्छन् होला भन्ने जिज्ञासा मेरो मनमा पलायो ।

एक ठाउँबाट अलिअलि बाहिरको परिवेश देखियो । म गाउँको माटोमै जन्मिएकी, माटोमै हुर्र्किएकी । ठूल्ठूला पक्की घर मैले जीवनमा देखेकै थिइनँ । आमा–बाबुको काख छोडेर एक दिन पनि बाहिर बसेकी थिइनँ । त्यहाँ त पक्की बिल्डिङ । सुकिलो परिवेश । चमकधमक । अहो ! म यस्तो ठाउँमा त बसेकी थिइनँ, कसरी म त्यहाँ पुगेँ ? बुबा–आमा कहाँ जानुभयो ? भनेर आत्तिएँ ।

म त्यसबेला झसङ्ग भएँ, जब मैले देखेँ मेरो भर्खर ६ महिनाको बच्चालाई केही केटीहरुले खेलाइरहेका थिए । दौडिदै गएर मैले आफ्नो छोरालाई उनीहरुको हातबाट खोसेर छातीमा टाँसे ।

‘तिमीहरुले मेरो बच्चा किन लिएको ? को हौ तिमीहरु ? मेरो बुबा–आमा खोई ?’, मैले सोधेँ ।

त्यहीबेला एकजना मोटी न मोटी महिला आइन् । उनले आएर भनिन्, ‘तिमीलाई भोक लागेको छ ?’

‘छैन, मलाई भोक लागेको छैन, बरु भन्नुस् यो कुन ठाउँ हो, मलाई यहाँ कसले, कसरी ल्याइयो ?’, मैले आँत्तिदै सोधेँ ।

‘तिमीलाई दुईजना दाइले यहाँ घुमाउन ल्याएका हुन् । उनीहरु अहिले तिम्रो लागि नयाँ–नयाँ लुगा किन्न गएका छन् । तिमी नुहाइधुवाइ गरेर चटक्क परेर बस, भरे तिमीलाई लिएर घुम्न जाने हो’, उनले भनिन् ।

एक मनले लाग्यो, ती महिलाले भनेकी कुरा सही नै हो कि ? मलाई थाहा नभएको हो कि ? राम्रै हुन गइरहेको हो कि ? के हो ?! के हो ?! मेरो दिमागले केही सोच्नै सकिरहेको थिएन ।

दुई दिन भइसक्यो, ती केटाहरु आएनन् । मलाई खाना ल्याएर दिन्थे, कहाँ रुच्थ्यो
र ? दुई दिनसम्म केही पनि खाइनँ । अनि दोस्रो दिन मैले भनेँ, ‘मलाई यहाँबाट छोडिदेऊ, मेरा आमाबुबा हुनुहुन्छ, म आमाबुबाकहाँ जान्छु ।’

केही बेरपछि ती मोटी महिला आएर भनिन्, ‘अब तिमी नुहाइधुवाइ र मेकअप गरेर चिटिक्क पर । कपाल काट । तिमी यहाँबाट उम्किन पाउँदैनौ । तिमी अब राम्री हुनुपर्छ ।’

‘मैले किन राम्री हुनुप¥यो ?’, मैले सोधेँ ।

‘अब यहाँ तिमीले धन्दा गर्नुपर्छ’, मोटी महिलाले भनिन् ।

‘धन्दा’ भन्नाले मैले के ठानेँ भने घरभित्रको कुनै काम होला । मैले त धन्दा भन्नाले भाँडा माझ्ने, खाना बनाउने र लुगा धुने काम होला भन्ने ठानेकी थिएँ । मेरो दिमागमा धन्दाको अर्थ त्यो थियो ।

‘मलाई धन्दा गर्न केही आउँदैन । घरमा पनि मैले धन्दा गरिनँ । भाँडा माझ्ने, लुगा धुने र खाना बनाउने सबै धन्दा आमाले गर्नुहुन्थ्यो । मलाई त त्यो कुनै पनि धन्दा आउँदैन, बरु बाहिरको कुनै काम हो भने भन्नुस्, मलाई जुनसुकै काम गर्न आउँछ । दाउरा चिर्नेदेखि ढुंगाको गारोसम्म म लगाउनसक्छु । तर घरभित्रको धन्दा गर्न मलाई आउँदैन’, मैले भनेँ ।

‘हैन तैँले धन्दा नै गर्नुपर्छ’, ती महिलाले भनिन् ।

दोस्रो दिन साँझपख मैले सोधेँ, ‘यो कुन ठाउँ हो ?’

‘यो बम्बई हो’, उनले भनिन् ।

अनि बल्ल म छाँगाबाट खसेझैं भएँ । किनकि बम्बई भनेपछि मात्र मैले ‘धन्दा’को अर्थ बुझेँ । गाउँमा हुँदा मेरो बुबा–आमाबीच बम्बईको बारेमा कुराकानी भएको म सुन्ने गर्थेँ । ‘बम्बईमा सोझासादा केटीहरुलाई फकाएर लैजान्छन् रे, त्यहाँ उनीहरुलाई लगेर बेचिन्छ रे, केटीहरुलाई नराम्रो काममा लगाइन्छ रे’ आदि–इत्यादि चर्चा गरेको म सुन्थेँ । आफूलाई त्यसरी बम्बई पु¥याइएको चाल पाएपछि मैले आफूले टेकेको जमिन नै भासिएको जस्तो अनुभव भयो । म एकदम आत्तिएँ । मलाई बल्ल थाहा भो, ट्रयाक्टर चलाउने ती केटाहरु मानव बेचबिखन गर्ने दलाल रहेछन् । उनीहरुले बेहोस बनाउने औषधि हालिएको मिठाइ खुवाइएका रहेछन् । आमा र बुबा पनि बेहोस, म पनि बेहोस । आमा–बुबा कता हुनुहुन्थ्यो, त्यो मलाई थाहा भएन । आखिर ती केटाहरुले मलाई बम्बईको कोठीमा पु¥याएर बेचेका रहेछन् ।

‘मलाई यहाँबाट छाडिदिनुस्, म जान्छु । म यो काम गर्दिन’, मैले रुँदै हात जोडेर
भनेँ ।

मोटी न मोटी आइमाई त कोठीकी ‘बाइ’ अर्थात ‘घरवाली’ रहिछिन् । मैले जान्छु भनेर कराउन थालेपछि उनले पनि कडा स्वरमै भनिन्, ‘मैले तँलाई किनेर ल्याएको हो, पहिला त्यो पैसा तिर अनि जा । हैन भने यो काम के तेरी आमाले आएर गर्छ ?’

जब त्यो ‘घरवाली’ले ‘आमा’ शब्द उच्चारण गरिन्, मलाई सहन झन् गाह्रो भयो । मैले आँखा बन्द गरेर आक्रोशको आवेगलाई रोक्ने कोसिस गरेँ, तर सकिनँ । रिसमा आँखा पनि मैले देखिनँ । के के गरेँ, गरेँ ? मेरो त्यस्तो व्यवहार थेग्न नसकेर उनीहरुले हतार–हतार मलाई ढोकाभित्र छिराए र चाबी लगाए ।

जाने बेलामा ‘घरवाली’ले भनी ‘जबसम्म तैँले धन्दा गर्दिनस्, तबसम्म तँैले पानी पनि पाउँदिनस् ।’

‘बरु खाना र पानी केही पनि नदे, तर म यो धन्दा कुनै हालतमा गर्दिन’, मैले पनि कड्किएरै भनेँ ।

अब म बन्दी भएकी थिएँ । कोठाभित्र ढोका ढक्ढक्याउने, कराउने र रुने गर्थेँ । कराउँदा घाँटी नै सुक्यो । रुँदारुँदा आँखा सुन्निए । भित्तामा टाउको ठटाउँदा टुटुल्का उठे तर मेरो वेदना सुन्ने त्यहाँ कोही थिएनन् । छोरालाई कता लगे ? के खान दिए ? मलाई थाहै भएन । बेलाबेलामा झल्याकझुलुक देखाउँथे । फेरि बिजुलीजस्तै चम्काएर कता लैजान्थे, कता ? मेरो भोक, तिर्खा र निन्द्राको कुनै ठेगाना थिएन । पानी खान नपाएर मुख सुक्नु भनेको त हावा बदलेको जस्तो भयो । कसरी सुत्नु ? निन्द्रा लागेको भए पो सुत्नु ! आनन्दमा पो हुँदो रहेछ आरामविराम !
मैले करिब एक महिनासम्म संघर्ष गरेँ । काखको बच्चाको निर्दोष अनुहारले बेला बेलामा मलाई निकै भावुक बनाउँथ्यो । बच्चाको अनुहारमा प्रकट हुन थालेका मुस्कान, रुवाइ र हाँसोका वाल संवेदना र भावहरुमै म केहीबेर भुल्थेँ, केहीबेरपछि पुनः त्यो कहालीलाग्दो यथार्थ मेरो सामु ‘किङ कोब्रा’ झैं फँणा फैलाएर मलाई डस्न तयार भइरहेको पाउँथँे । अनि आँखाबाट बलिन्द्र धारा आँसु खस्थे । तैपनि मैले आफूभित्रको ‘स्व’लाई कमजोर हुन दिइनँ । आफ्नो अस्मिता जोगाउन संघर्ष गरी रहेँ । कसैलाई आफ्नो शरीर छुन समेत दिइनँ ।

मलाई त्यहाँ पहिलेदेखि नै ल्याइएका अन्य केटीहरुसँग भेट्न दिइँदैनथ्यो । कोठामा एक्लै हुन्थेँ । बेलाबेलामा त्यो घरवाली आएर धम्की दिएर जान्थी या उसले राखेका म्यानेजर केटाहरु आउँथे । एक पटक त्यहीँ काम गर्ने एउटा नेपाली केटो आएर मलाई भन्यो, ‘हेर यो ठाउँ नै यस्तै हो, तँैले अब यहाँबाट उम्किएर जाउँला भन्ने आशै नगरे हुन्छ । बरु तेरो लास बाहिर जान्छ, तर तेरो सासचाहिँ यहाँबाट जाँदैन ।’
‘जे होस् होस्, तर म यो काम गर्दिनँ । बरु मेरो लासै बाहिर जाओस्’, मैले पनि अड्डी कसेँ ।

म्यानेजर भनेर त्यहाँँ राखिएको त्यो नेपाली केटोले केही बेरमै लामो नेपाली खुकुरी ल्यायो । खुकुरीको धार मेरो घाँटीमा राख्दै उसले भन्यो, ‘हेर तैँले कि यो धन्दा गर, हैन भने तँलाई हामी काट्छौं । तेरो टाउको र शरीर काटेर बाहिर सडकमा फाल्छौं । मानिसहरुले तेरो मृत शरीर हेर्नेछन्, थुक्नेछन्, तर यो लास कसको हो ? भनेर कसैले पनि सोध्ने छैनन् बुझिस् ।’

मैले यसो सोचेँ । दिमागमा धेरै कुरा खेले । आ ! भोलि एक दिन मर्नु नै छ भने यौन धन्दा गर्नुभन्दा त मर्नु नै ठिक भन्ने लाग्यो ।
आँखा चिम्म गरेर भनेँ, ‘ल काट् ।’

मेरो साहस देखेर त्यो म्यानेजर छक्क प¥यो । उसले खुकुरी घाँटीमै लगिसकेको थियो, तर मलाई काट्न भने सकेन । बरु उसले मलाई निर्घातसँग कुट्यो । कुन हदसम्म कुटयो भने मैले त्यस्तो कुटाइ जिन्दगीमा पहिलो पटक खाएकी थिएँ । त्यो केटो र घरवालीसमेत मिलेर मेरो शरीरका विभिन्न अङ्गहरुमा बलिरहेको चुरोटको ठुटोले घोचिदिए । कपाल भुत्ल्याए । गालामा मुड्की र झापड मारे । कान निमोठिदिए । कञ्चटका रौं तानिदिए । अनि लात्तै लात्ताले गोदे । दिनुसम्मको यातना दिए ।

म पनि के कम थिएँ र ? जतिसुकै कुट्दा पनि उनीहरुले मलाई एक महिनासम्म ‘धन्दा’मा लगाउनै सकेनन् ।

कोठीमा राखिएका केटीहरुबीच पनि विभेद थियो । धन्दा गर्ने र पैसा कमाइदिने केटीहरु मीठो–मीठो खान पाउँथे । हामी भर्खर गएका र धन्दा गर्न नमान्नेलाई चाहिँ ज्यान धान्नका लागि मात्र कमसल खाना दिइन्थ्यो । मासुको झोल या सागको झोल र भात मात्र दिइन्थ्यो । एक महिनासम्म म पानीकै भरमा बाँचे हुँला । बडा त्रासदिपूर्ण दिनहरु थिए ती ।

मलाई लगिएको एक महिना जस्तो पछि हो, पिसाबले च्यापेर म ट्वाइलेट छिरेकी थिएँ । ट्वाइलेटबाट बाहिर निस्कँदा एउटा चिरपरिचित अनुहारसँग मेरो जम्काभेट भयो । त्यो त्यही दलाल केटा थियो, जसले मलाई बम्बईमा ल्याएर बेचेको थियो । मलाई बेच्ने दुईजनामध्ये एउटासँग ट्वाइलेटमा भेट भएको थियो भने अर्को अलि पर उभिइरहेको थियो । उनीहरुलाई देख्नासाथ मैले आँखा देखिनँ । कति रिस उठेछ मलाई आपूm नजिकै रहेको दलाललाई फनन घुम्ने गरी एक झापड लगाइदिएँ । त्यो केटाको पछाडि घरवाली उभिइरहेकी रहिछ । मैले त्यो दलाललाई कुटेको देखेपछि घरवालीले मलाई झम्टिई र एक झापड लगाई अनि लगेर रुममा थुनिदिई ।

मैले झयालबाट देखेँ, एउटा अर्को कहालीलाग्दो दृश्य । मलाई बेच्ने ती दलालहरुले मेरै आँखा अगाडि भर्खर नौ वर्षकी कलिली बालिकालाई बेचिदिए ।

मेरो झापड खानबाट बचेको अर्को दलाल आएर मलाई भन्दै थियो, ‘अहिलेसम्म तिमीले धन्दा गरेकी रहिनछ्यौ । यदि यस्तो काम गर्दै नगर्ने तिम्रो सोच हो भने हिँड मसँग, म तिमीलाई नेपाल लैजान्छु ।’

मैले विस्फारित नेत्रले त्यो दलाललाई हेरेँ । अनि उसको मुखभरि थुकिदिएँ ।

‘तैँले के सोचेर मसँग यस्तो कुरा गर्दैछस् मुर्दा ? फेरि अर्को ठाउँमा लगेर बेच्ने तेरो दाउ हैन ?’, मैले कड्किँदै भनेँ ।

‘हैन, त्यस्तो हैन, म अर्को केटाको लहलहैमा लागेर त्यस्तो काम गरेको हुँ । तिमीले अहिलेसम्म धन्दा नगरेको थाहा पाएँ, त्यसैले जान्छौ भने लैजान्छु भनेको हुँ’, मुर्दाले सहानुभूति जनाउँदै भन्यो ।

‘बढी बोल्छस् साला कुकुर, जा पहिला तेरी आमा, तेरी दिदी, तेरी बहिनी कोको छन्, सबलाई यहाँ ल्याएर बेच, अनि मात्र म तँसँग जान्छु’, मैले भनेँ ।

मैले उसलाई धेरैबेर गाली गरिरहेँ । मैले हेर्दाहेर्र्दै उनीहरु कलिली बालिका बेचेबापतको नोटको बिटो बोकेर चुरोटको मुस्लो छाड्दै त्यहाँबाट ‘रफुचक्कर’ भए ।

तल पान पसलमा भने हाम्रै नेपाली दाजु उदितनारायण झाको स्वरमा एउटा गीत घन्किरहेको थियो–
‘मेहन्दी लगा के रखना
डोली सजा के रखना
लेने तुझे ओ गोरी
आएगें तेरे सजना’
(केही दिनअघि सार्वजनिक भएको दनुवारको कृति ‘आँसुको शक्ति’ भित्रका एक अंश)

प्रतिक्रिया दिनुहोस्