मुलुकमा अधिनायकवादी शासनको अभ्यास शुरु भयो– सभापति देउवा


काठमाडौँ, ८ वैशाख । काँग्रेस सभापति शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरु हुन लागेको आरोप लगाएका छन् ।

काँग्रेस काठमाडौँ जिल्लाले नयाँ वर्षका अवसरमा आज आयोजित जिल्ला भेलामा बोल्दै देउवाले सरकारले राजश्व विभाग, राष्ट्रिय अनुसन्धान विभागलगायतलाई प्रधानमन्त्री कार्यालयमा राखेर मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात गर्न खोजेको आरोप लगाएका हुन् ।

“अधिनायकवादी र सर्वसत्तावादी कम्युनिष्ट पार्टीको खिलापमा काँग्रेस एकजुट भएर लाग्नुपर्छ,”– उनले भने । प्रदेशसभा र प्रतिनिधि सभामा पार्टीले भोग्नुपरेको पराजयलाई अवसरका रुपमा बदलेर संगठन निर्माणमा लाग्नुपर्ने उनको भनाई थियो ।

सभापति देउवाले पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र विभागले चाँडो पूर्णता पाउन लागेको जानकारी दिए । पार्टीभित्रको अन्र्तघातका कारण २० भन्दा धेरै नेताले निर्वाचनमा पराजय भोगेको भन्दै देउवाले अब पार्टीलाई विवादरहित तवरले एकढिक्का बनाएर अगाडि लैजाने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्