‘मेरो धरहरा म आफैँ बनाउँछु’ भन्ने ओलीको अभियान सार्थक बन्दै, पूनर्निर्माणका लागि सेनाले दियो छ करोड


२२ कात्तिकं । नेपाली सेनाले धरहरा पूनर्निर्माणका लागि छ करोड सत्र लाख तेह्र हजार सात सय त्रियासी रुपैयाँ पचपन्न पैसा प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ ।

सोमबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उक्त रकम बराबरको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । चेक बुझ्दै प्रधानमन्त्रीले नेपाली सेनाले गरेको प्रयासको प्रशंसा गर्दै धरहरा निर्माणका लागि सरकारले पनि गृहकार्य गरिरहेको जानकारी दिए ।

‘हामी पूनर्निर्माणको चरणमा छौं, सबै मिलेर पुनःनिर्माण र नवनिर्माणको कामलाई तिब्रता दिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि तपाईहरुले गरेको प्रयास प्रशंसनीय छ । सरकार पनि धरहरा निर्माणको बिकल्पबारे गृहकार्य गरिरहेको छ ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले राष्ट्रको गौरवका रूपमा रहेको ऐतिहासिक धरहरा निर्माणमा सबै मुलुकवासीको सहभागिता रहोस् भनी ‘मेरो धरहरा म आफैँ बनाउँछु’ भन्ने नारा दिई निर्माणमा सहयोग गर्न आह्वान गरेको थियो ।

सो आह्वानअनुरुप हालसम्म धरहरा निर्माणका लागि सहयोगस्वरुप रु तीन करोड रकम जम्मा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । नेपाली सेनाले प्रदान गरेको रकम अहिले सङ्कलन भएको रकमभन्दा दोब्बर बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्