मैले बुझेको केसी आन्दोलन

-बिर्ख क्रान्ति
क. के हो केसी आन्दोलन?
१. केसी आन्दोलन सारमा देशमा समाजवादी स्वास्थ्य व्यवस्था लागु गर भन्ने नागरिक आग्रह हो । देशका गरीब जनताले पनि सरल र सहज रुपमा स्वास्थ्य सेवा र उच्च स्वास्थ्य शिक्षाको सुविधा पाउन् भन्ने माग हो ।
२. के.सी.ले सरकारसंग यही माग राख्दै आएको यही असौज २०७७ मा १०० महिना पुरा भएको छ । यसबीचमा उनले १९ औं पटक अनसन बसे । आज (२५ असौज २०७७) १९ औं अनसशनको २८ औं दिनमा यो अनशन अन्त्य गर्दा जम्मा २५० दिन (५ महिना) नाघिसकेको छ ।
ख. के गर्यो सरकारले?
३. केसीका माग सम्बोधन गर्न सरकारले यसबीचमा उच्चस्तरीय कार्यदल बनाइ अध्ययन गरायो, प्रतिवेदन लियो, उच्चस्तरीय आयोग पनि बनायो । १९ औं अनशनसम्म आइपुग्दा दुई पक्षबीच १२ पटक सम्झौता र सहमतिहरु पनि भइसकेका छन् ।
४. केसी आन्दोलन शुरु भएयता कांग्रेस र कम्युनिष्टका गरी ६ वटा प्रधानमन्त्री, ८ वटा स्वास्थ्यमन्त्री र ६ वटा शिक्षामन्त्रीहरु फेरिइसकेका छन् ।
५. जतिपटक सम्झौता तथा समझदारीहरु भए, ती सरकारको तर्फबाट वाध्यतामा परेर गरेजस्तो, तत्कालीन समस्याबाट उम्किने उपाय जस्तो, साधारण कुराहरु सम्बोधन गर्ने र मूलभूत विषयहरु अल्झाइराख्ने जस्तो, समग्रमा आफ्ना वाचाहरु आफैंले कुल्चेर छोपिराखे जस्तो चरित्र सरकारले देखाइरहेको छ ।
ग. के गरे दलहरुले?
६. सरकार र प्रतिपक्ष दुवै जिम्मेवारीमा रहेका बेलामा ठूला दलहरु सबैले केसी आन्दोलनका मागहरु सुने, भोगे । तिनै दलहरुले प्रतिपक्षमा बस्दा समर्थनमा भेट्न पुग्ने र सरकारमा पुग्दा दीर्घकालीन महत्वको निर्णायक काम केही नगर्ने गरे । बरु उनलाई माफियाहरुको खेतालासम्म भन्न भ्याए । पुर्व एमालेले त आरोपै लगाएर एमाले सक्नका लागि कांग्रेसले परिचालन गरेको सम्म भन्न भ्याए । यस्तो धारणा यति गहिरोसाथ गाउँ गाउँमा गाडियो कि गाउँका साधारण कार्यकर्तासम्म अहिले र आज बिहानसम्म पनि कांग्रेसकै एजेन्ट हो भन्ने आवाज निकालिरहेका छन् । केही त प्रधानमन्त्री कार्यालयकै कटुवाल भएर (सम्भवतः तलबै खाएर) खुलमखुला केसी आन्दोलनको विरोधमा लेखिरहेका छन् । उता कांग्रेस भने केसीका मसलाहरु पार्टीलाई युरिया हुन्छ कि भनेर दाउ हेरिरहेको अवस्था पनि छ । समग्रमा, केही ठूला दलहरुले केसीका मागहरुको खलेगरामा उभिएर आफ्नो दलको दाइँ हाल्न सकिन्छ कि भनेर पनि दाउ हेरिरहेका छन् ।
घ. के गरे नागरिक समाजले?
७. नागरिक समाजको नाममा आन्दोलनका अभियन्ताबाहेक मूलतः स्वास्थ्यकर्मीहरुको ऐक्यवद्धता र सहभागिता सक्रिय रह्यो । यीबाहेक विशेष अवस्थामा अधिकारकर्मीहरु र स्वतन्त्र भनिएका युवाहरु क्रियाशील भए । मलाई व्यक्तिगत रुपमा लागेको अचम्म के हो भने आम जनताकै स्वास्थ्य सुविधाका लागि भनेर यति लामो लडाइँ लड्दा पनि तिनै जनताको आम जनसहभागिता अपेक्षित रुपमा देख्न सकिएन । राजनीतिक दलसंग क्रियाशील समुदाय त सधैं विभाजित नै रह्यो ।
ङ. के गरोस् सरकारले ?
८. केसी आन्दोलनका मागबारे सरकारले सीधा सीधा काम गरोस्् । कल्याणकारी राज्यव्यवस्था हुँदै समाजवादी व्यवस्था ल्याउँछु भनेर वर्षौंदेखि लडेको पार्टी पुर्ण बहुमतका साथ सरकारमा पुगेको बेला केसीहरुले गर्ने माग सरकारले आफ्नै पहिलो दायित्वमा राखेर गरोस् । कुन काम गर्नुपर्छ कुन पर्दैन, कुन कहिले गर्न सकिन्छ कुन सकिँदैन, कुन मागहरु जायज हुन कुन नाजायज, कुन न्याय र तर्कसंगत विधि हो कुन कुतर्क? यी सब कुराहरु सरकारले जनताले प्रष्ट बुझ्ने र पत्याउने गरी भनोस् । मेरै कुरा तैंले गर्ने? भनेजस्तो शैलीमा सरकार नमातियोस् । आफैंले मौलिक अधिकारको रुपमा स्वीकार गरेका विषयहरुमा सरकारले नियमित काम गरोस् । गर्छु भनेकै कामका लागि फेरि कसैले घरिघरि आमरण अनशन बस्नु नपरोस् ।
च. के गरुन् दलहरुले ?
९. एउटा व्यक्तिले उठाएका मागहरु पार्टीको हितका लागि निकै उपयोगी लाग्छन् भने तिनै र यस्तै मागहरु दलहरुले आफ्नो एजेण्डा र कार्यक्रम बनाउन् । सबैभन्दा महत्वपूर्ण कुरा, चुनावी भाषण र सत्ताको आसन नपर्खी सामाजिक आन्दोलनको रुपमा काम अघि बढाउन् । तिनका सबै तहका सांगठनिक संरचनाहरु सिर्जनात्मक अभियानमा डटेर लागुन् ।
१०. दलहरुले शिक्षालाई सरकारीकरण र सामाजिकीकरण गर्न लागुन् । गाउँ गाउँमा सहकारी मोडेलको उत्पादन संरचना विकास गर्न लागुन् । कोरोनाले थला पारेको अर्थतन्त्र उठाउनका लागि अनेकौं बुद्धि र बल लगाएर लागुन् । तर, यसतर्फ राष्ट्रिय बहस अघि बढाउन र विकासको माहोल सिर्जना गर्न किन कसैको रुचि देखिएको छैन?
छ. के होला अनशनको भविष्य ?
११. डा. केसी आन्दोलन सत्याग्रह आन्दोलनको एउटा विधिको रुपमा स्थापित भइसकेको छ । तर, सत्याग्रहको लडाइ धेरै गाह्रो हुने भएकोले यो जोसुकैले अघि बढाउन सक्दैन । अभियन्तामा पर्याप्त आत्मानुशासन, धैर्यता, तर्क, प्रेम, सामाजिक दायित्वबोध लगायतका वीरता हुनुपर्ने भएकोले यसमा धेरै मानिसहरुको सक्रिय सहभागिता नहुनुको एउटा मुख्य कारण यो हो । नेताहरुले भनेजस्तो लम्पसार पर्ने बित्तिकै माग पुरा गर्दै जाने हो भने त जसले पनि माग्ला, म पनि माग्छु, कसरी पुरा गर्नसक्छ सरकारले भन्ने तर्क नै काँचो तर्क हो । डा. गोविन्द केसी ५ महिना भोकै बस्दा अरु कुनै १ जनाले यो सिकेर एउटा मौलिक र तार्किक माग राखेर यसरी सुत्न आयो त? जाँडपानी खर्च बेगर डेग चल्न नसक्ने संस्कृति मौलाइसकेको अवस्थामा पार्टीहरुले भत्ता नै दिएर भए पनि आफ्ना कार्यकर्तामा १ महिना मात्रै भए पनि भोकै बसाउन सक्छन् त? अरुले उचालेर सुतेको भनेर आरोप लगाएजस्तै के नेताले आफ्ना कार्यकर्ता उचालेर यसरी नै बिना भाग, बिना आश भोकै राख्नसक्ने सम्भावना छ त? अन्य आन्दोलनहरुमा जस्तै केसी आन्दोलनमा पनि चर्का चर्का नारा जुलुस गर्न पाउने भए, अरुलाई मनपरी गाली गर्न पाउने भए, केही गाडीहरु फुटाउन पाउने भए, आन्दोलनका शुरु वर्षहरुमै व्यापक सहभागिता भइसक्ने थियो ।
१२. भोक हड्तालका विश्व चर्चित अभियन्ताहरुमा महात्मा गान्धीलगायत विश्वका ६८ मध्ये यस अवधिमा निकै लामो परीक्षाका साथ केसीको नाम पनि ६७ औं नम्बरमा दर्ज भैसकेको छ । ६८ औं नम्बरमा टर्किस मानवअधिकारकर्मी ४२ वर्षीय इब्रु तिम्तिक छन् जो न्यायिक अधिकारका लागि २३८ दिनको अनशनपछि २७ अगस्त २०२० मा देहत्याग गरिन् ।
१३. सत्याग्रह सजिलो हुने भए संसारका ठूल्ठूला युद्धमा ठूला ठूला लडाकुहरु अनशनको बाटो समाउन सक्थे । तिनल यो गर्न सकेनन् । संसारमा सयौं युद्धहरु भए, लाखौं योद्धाहरु मारिए । तर, भोक हडतालको हतियारबाट युद्ध गर्ने साहसी सिपाहीहरुको नाम १०० भन्दा कम छ ।
१४. अनशन युद्धको सशक्त रुप आयरल्याण्डबाट फैलिँदै गएको पाइन्छ । त्यहाँ पाँचौं शताब्दीमा महान सन्त प्याट्रिकले लामो अनशनको माध्यमबाट दुःखी मानवहरुको मुक्तिका लागि पहल गरेका थिए । गल्ती गर्नेलाई गल्तीको महसूस गराइ सुधार गराउनका लागि त्यहाँ भोक हडताललाई संघर्षको एक सभ्य र उन्नत विधिको रुपमा लिइन्छ । भारतमा हेर्ने हो भने यो इतिहास २७५० वर्षभन्दा पुरानो छ । पछिल्लो इतिहासको कुरा गर्ने हो भने भारतमा बेलायती साम्राज्य विरुद्ध भारत छोड आन्दोलनमा महात्मा गान्धीले पटक पटक भोक हडताल बसेका थिए । यही आन्दोलनमा स्वतन्त्रता सेनानी भगत सिंह र जतीनदासहरु बसेका थिए । जतीनदासले सन् १९२९ मा २५ वर्षकै उमेरमा लाहोर जेलमा ६३ दिनकोे भोक हडतालपछि देह त्याग गरेका थिए । यसले असहयोग आन्दोलनलाई अझ तीब्र बनाउन मद्दत पुगेको थियो । यसैगरी गणतन्त्र भारतपछि पनि आन्ध प्रदेशको भिन्न राज्यको माग गरी अनशन बसेका पोत्ती श्रीरामुलुको दिसम्बर १९५२ मा ५८ दिनको भोक हडतालको मृत्युबाट भड्किएको जनविद्रोहपछि प्रधानमन्त्री पं. जवाहरलाल नेहरुले मृत्युको तेस्रो दिनमै तेलुगुभाषीको सम्मानमा आन्ध्र राज्यको घोषणा गरेका थिए । यी भोक शहीदलाई आन्ध्रराज्यका पिताको रुपमा सम्मान दिइएको छ ।
१५. १९ औं अनशनको सहमतिसंगै केसी आन्दोलनको अन्त्य हुँदैन । केसी आन्दोलन भविष्यमा केसीको आन्दोलन नभएर सत्याग्रह आन्दोलनको रुपमा विस्तार हुने सम्भावना धेरै छ । किनभने राज्यले विकासको स्थायित्व लिएको छैन । राजनीतिक संघर्षको लामो कोर्षबाट आएका दलहरुमा दुःखमा विद्रोह, सुखमा भ्रष्टाचार गर्ने प्रवृत्ति संस्थागत नै भइसकेको छ भन्छु म । गर्नुपर्ने विकासका काम धेरै छन् । न्युनतम काम भनेकै खाद्य सुरक्षा गर्नुछ । सरल, सुलभ र जीवनवादी शिक्षा दिलाउनुछ । हरेक सेवाक्षेत्रमा सुशासन स्थापित गर्नुछ । हामी ठूलो रुपान्तरणको चरणमा भएकोले यसका लागि आम नागरिकलाई साझेदार बनाएर परिचालन गर्नुपर्नेछ । तर हाम्रो काम गर्ने सारा प्रणाली ठेक्का पट्टा विधिले नियन्त्रण गर्छ । कर्मचारी, विद्यार्थी, मजदुर, साराका सारालाई राजनीतिक दाम्लोमा बाँधेर राष्ट्रिय योगदानका लागि विशाल छाती लिएर संगै हिँड्न नसक्ने बनाइएको छ । यी परिस्थितिहरुको कारण आधारभूत आवश्यक्ताहरुको अभाव र सुशासनको वेथिति त हुने नै छ । त्यसको लागि फेरि कसैले, कुनै विषयहरुमा घरिका घरि लड्नैपर्ने हुन्छ । र, भर्खरै युद्धबाट थाकेर बसेको अवस्थामा त्यस्तो लडाइँ सम्भवतः अहिंसात्मक र लोकतान्त्रिक नै हुनेछ । तर, गोरखाली इतिहासबाट हुर्किएको हाम्रो सत्ताले सत्याग्रह जस्तो सभ्य आग्रहलाई वडा समितिले पनि नसुन्ने अवस्था आएपछि पुनः हिंसात्मक विद्रोह भड्किन्न भन्ने अवस्था पनि छैन ।
१६. तर समग्रमा, अहिंसात्मक आन्दोलनले अनेकौं रुपहरु परिष्कृत गर्दै अघि बढ्नेछ ।
झ. के भन्छु म?
१७. व्यापक रुपमा ज्ञान निर्माणको स्वतन्त्रता देऊ । शताब्दीदेखि दुई चार मान्छेहरुको ज्ञानले मात्र देशलाई दाम्लो लगायो । यसैले देशले स्वतन्त्रतापूर्वक चर्न, हिँड्न र प्राकृतिक रुपमा विकास हुन सकेन । उदाहरणका लागि कैयौं जागरुक युवाहरुले के.सी. आन्दोलनका सवालहरु ठीक लागे तापनि पार्टीकै लोभ र डरले कहिल्यै मुख खोल्न सकेनन् । कतिपयले यसरी खोले कि यो लोक र यो जीवनमा पार्टीभन्दा अर्को कुनै सत्य छैन, व्यक्ति र ज्ञान छैन भन्ने ग्राफ्टिङ धारणा पोखिरहे । यिनै कारणहरु मुख्य हुन्, जसले गर्दा त्रि.वि.विमा ठूल्ठूला ज्ञान, सिद्धान्त र आविष्कारहरु भए भन्ने मुख्य समाचार कहिल्यै सुनिँदैन । सुनिन्छ अग्निको कथा, मार्कसीटको महात्म्य र गुरु-युद्धको श्रृंखलाहरु मात्र ।
१८. म व्यक्तिहरुको दैत्य र देवत्करणमा भजन लेख्न सक्दिनँ । म निश्चित घटनाहरुको रोमान्समा नाचिरहन सक्दिनँ । म अवसर र वाध्यताहरुको परिबन्दमा जेलिएर सुनको सुगा बास्न सक्दिनँ । म चेतनाहरुको स्वतन्त्रता र सहअस्तित्वको समानताका लागि लडि नै रहनेछु । यो लडाइँ म, तिमी र उ सबैको लागि हुनेछ ।
प्रतिक्रिया दिनुहोस्