मैले ‘रअ’का मानिसलाई भेटेको छैनः ओली


२० भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विंग (रअ) का मानिससँग नभेटेको स्पष्ट पारेका छन् । स्वास्थ्य उपचारका लागि दुई साताअघि थाइल्यान्डको राजधानी बंैककतर्फ प्रस्थान गरेका ओलीले त्यहाँ रअका प्रतिनिधिलाई भेटेको प्रचारप्रति स्वदेश फर्किएपछि आपत्ति प्रकट गरेका हुन् ।

श्रीमती राधिका शाक्य, सहयोगी राजेश बज्राचार्य र आफू प्रधानमन्त्री हुने बेलाका सल्लाहकार विष्णु रिमालसहित बैंकक गएका ओली थाइल्यान्डको च्याङमाई र इन्डोनेसियाको बाली पुगेर फर्किएका हुन् ।

विमानस्थलमा पनि अध्यक्ष ओलीले त्यही आशयको प्रश्नको कडा प्रतिवाद गरेका थिए । साँझ ट्वीट गर्दै उनले भनेका छन, ‘उपचारका क्रममा बैंककमा मैले ‘रअ’का मानिससँग भेटेँ भन्नु राजनीतिक उद्देश्यका लागि बुनिएको कथा मात्र हो । कुनै सत्यता छैन ।’

ओली तुलनात्मक रुपमा लामो समय विदेश बसेपछि नेपालमा माओवादी निकट सञ्चारमाध्यम र व्यक्तिहरुले उनको त्यहाँ भारतीय गुप्तचर संस्था रअका प्रतिनिधिसँग भेट भएको प्रचार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्