मोदीको विदेश नीति उत्कृष्ट !


१० असार । नेपालसँगको सम्बन्ध इतिहासकै खराब मोडबाट गुज्रिएको बेला भारतमा भने भारतीय विदेश नीतिको प्रशंसा भएको छ । हालै सरकारले गरेको सर्वेक्षणबाट उक्त नतिजा प्राप्त भएको बताइएको छ ।

भारतीय जनता पार्टीको नेतृत्वमा भारतमा सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा भारतीय सरकारले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको कामका बारेमा सुझाव लिन जनमत सर्वेक्षण गरेको थियो । सरकारले ‘माइ गब पोर्टल’मार्फत गरेको सर्वेक्षणमा २ लाख ६८ हजार ७ सय ९६ जनाले भाग लिएको एजेन्सीहरुले जनाएका छन् ।

सोही सर्वेक्षणमा मोदी सरकारको विदेश नीतिको सबैभन्दा बढी प्रशंसा भएको छ, जसमा ६७ प्रतिशतले ‘सबैभन्दा राम्रो’ भनेका छन् भने तीन प्रतिशतभन्दा कमले मात्र ‘खराब’ भनेका छन् ।

सर्वेक्षण अनुसार मोदी सरकारको दुई वर्षे कार्यकालमा कालो धन फिर्ता ल्याउने र स्वच्छ भारतको नीतिमा मोदी सरकार कमजोर देखिएको छ । एक अधिकारीका अनुसार, सर्वेक्षणको नतिजा प्रधानमन्त्री मोदीलाई दिइसकिएको छ । प्रधानमन्त्री मोदीले मन्त्री फेरवदल गर्ने समयमा यो सर्वेक्षणलाई ध्यान दिने अनुमान गरिएको छ ।

त्यस्तै मोदीको रेलवे आधुनिकीकरण गर्ने नीतिमा पनि ६७ प्रतिशतले धेरै राम्रो भनेका छन् । मोदीको रेलवे आधुनिकीकरण गर्ने नीतिलाई नराम्रो भन्नेको प्रतिशत पनि तीन भन्दा कम छ । १९ प्रतिशले मोदीको त्यो नीतिलाई राम्रो भनेका छन् । मोदीको मन्त्रिमण्डलमा रहेका रेलवेमन्त्री सुरेश प्रभुले दुई वर्षमा भारतमा बुलेट रेल चलाएको र रेलको रफ्तार बढाएको सर्वेक्षणका क्रममा देखिएको छ ।

सर्वेक्षणले प्रधानमन्त्री मोदीकी विश्वासपात्र मानिने स्मृति इरानीले सम्हालेको मानव संसाधन मन्त्रालय र अरुण जेटलीले सम्हालेको अर्थ मन्त्रालयको काम सन्तोषजनक नभएको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्