मोरङमा किन पछारियो एमाले ?


२६ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एक मात्र महानगरपालिका विराटनगरमा नेपाली कांग्रेसले चुनाव जितेको छ । पहिलादेखि नै कांग्रेसको गढ मानिँदै आएको विराटनगरमा यस पटकको निर्वाचनमा एमालेले त्यो गढ भत्काउने प्रयत्न गरे पनि सफल हुन सकेन । एमालेका मेयरका उम्मेदवार विनोद ढकालभन्दा करिब ५ हजार बढी मत ल्याएर कांग्रेसका भीम पराजुलीले निर्वाचनमा सफलता पाए ।

‘दोस्रो राजधानी’ को रुपमा चिनिने विराटनगर महानगरपालिकामा एमालेले पराजय बेहोर्नुमा सो नगरभित्र पहिलादेखि नै एमाले कमजोर रहेको हुँदा पार्टी पंक्तिले चित्त बुझाउनु स्वाभाविकै थियो । तर, एमालेले हरेक पटकको निर्वाचनमा कब्जा जमाउँदै आएको उत्तरी मोरङमा समेत नराम्रो पराजय बेहोर्नु परेपछि केन्द्रदेखि गाउँ तहसम्मकै नेताहरु चकित परेका छन् । एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका रहेको मोरङमा उम्मेदवारमा सन्तुलन मिलाउन नसक्दा एमाले ५ तहमा खुम्चिनु परेको छ । बहुदल आएपछि २०४८ सालमा भएको पहिलो आमनिर्वाचनदेखि नै एमालेले वर्चश्व कायम गर्दै आएका तहहरुमा समेत नराम्रो पराजय बेहोर्नु परेपछि मोरङमा चुनाव हार्नुका कारणहरु खोजिन थालेका छन् ।

मोरङका कतिपय तहमा त उम्मेदवार छनोटमा गल्ती भएकै कारण पनि चुनाव हार्नु परेको बताइन्छ । यसअघिका निर्वाचनहरुमा जित्दै आएको उर्लाबारी नगरपालिकामा एमालेले चुनाव हा¥यो । सो नगरपालिकामा एमालेले भूपाल जिमीलाई उठाएको थियो । तर, जिमीको ठाउँमा अरु कसैलाई टिकट दिएको भए चुनाव जित्ने बताइन्छ ।

उर्लाबारी नगरपालिकामा मात्र होइन, अरु तहहरुमा समेत ‘राम्रा’ भन्दा ‘हाम्रा’ उम्मेदवारले टिकट पाएपछि पराजय बेहोर्नु परेको छ । कोसी हरैंचा नगरपालिकामा पनि त्यस्तै भयो । सो नगरपालिकामा केदार गुरागाईलाई टिकट दिइयो । गुरागाईले हारे, उपमेयरमा भने धना तामाङले जितिन् ।

लेटाङ नगरपालिका त एमालेले सधैं जित्ने ठाउँ हो । सो नगरपालिकामा मेयरमा भूपेन्द्र लावती उठेका थिए । तर, दुर्भाग्य, उपमेयरसहित बहुमत सिटमा एमालेले जित्यो, मेयरले भने चुनाव हारे ।

सधैंभरि जित्दै आएको रतुवामाई नगरपालिकामा पनि त्यस्तै भयो । एमालेले शिक्षण पेशाबाट राजीनामा दिन लगाएर टेकेन्द्र पोमुलाई सो नगरपालिकाको मेयरमा उठायो । तर, मधेसीहरुको पनि बाहुल्य रहेको सो नगरपालिकामा उम्मेदवार छनोट गर्न नसक्दा हार्न प¥यो । शिक्षण पेशा छाडेर बसेका मधेसी समुदायका विश्वनाथ राय वा अरु कुनै लोकप्रिय व्यक्तिलाई टिकट दिएको भए सो नगरपालिकामा चुनाव जितिने बताइन्छ ।

केराबारी गाउँपालिकाको मेयरमा नवीन थापा मगर उठेका थिए । उनी लोकप्रिय नै हुन् । तर, उनले पनि पार्टीभित्रको सन्तुलन मिलाउन नसक्दा चुनाव हार्नु प¥यो । मोरङको ५ तहमा मात्रै एमाले खुम्चिनुमा पार्टीभित्रको सन्तुलन मिलाउन नसक्नु र उम्मेदवारी चयनमा देखिएको खिचातानी नै मुख्य कारण रहेको मानिन्छ ।

एमालेले अत्यधिक मत ल्याएर जित्ने अपेक्षा गरेको बेलबारी नगरपालिकामा मेयरका उम्मेदवार ज्ञानेन्द्र सुवेदीले झिनो मतान्तरले मात्रै जिते । तर, उपमेयर तारा पराजुलीले अपेक्षाकृत रुपमा राम्रै मत ल्याएर चुनाव जितिन् । त्यसो त, मोरङमा ५ तहमा मात्र चुनाव जिते पनि उपप्रमुखमा भने एमालेले ९ ठाउँमा जितेको छ । उम्मेदवारी छनोटमा सन्तुलन मिलाउन नसक्दा र टिकट पाएका उम्मेदवारले पार्टीभित्रको सन्तुलनलाई बेवास्ता गर्दा मोरङमा एमालेले हार बेहार्नुपरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्