म्यानचेस्टर सिटी इतिहास रच्न सफल


काठमाडौं, ३१ बैशाख ।
इङ्गलिस प्रिमियर लिग फुटबल सम्पन्न भएको छ । गएराति भएको अन्तिम खेलमा म्यानचेस्टर सिटीले प्रिमियर लिगमा इतिहास रच्न सफल भएको छ । ३८ खेलमा १०० अंक बटुल्दै सिटीले नयाँ किर्तिमान बनाएको हो । अन्तिम खेलमा साउथह्याम्टनलाई पराजित गर्दै सिटीले १०० अंक जोड्न सफल भयो ।

अन्तिम दिनका खेलपछि स्वान्सी सिटी रेलिगेशनमा परेको छ भने लिभरपुलले चौथो स्थानमा लिग सकाउँदै अर्का वर्षको च्याम्पियन्स लिगमा ठाँउ बनाउन सफल भएको छ । यसैगरी लिभरपुलका इजिप्सियन खेलाडी मोहोमद सालाह प्रिमियर फुटबलको एकै सिजनमा सर्वाधिक ३२ गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

सिजनको अन्तिम खेलमा ब्राइटनलाई ४-० ले हराँउदै लिभरपुल आगामी सिजनको च्याम्पियन्स लिगमा छनौट भएको हो । यो सिजनको च्याम्पियन्स लिगको फाइनलमा भने लिभरपूलले रियाल मड्रिडको सामना गर्दैछ ।  गएराती ब्राईटन विरुद्ध लिभरपुललाई विजयी गराउन मोहम्मद सलाह, डेजान लोभ्रेन, डोमिनिक सोलाङ्के र एण्ड्रिउ रोबर्ट्सनले एक एक गोल गरे ।

प्रिमियर लिगको अन्तिम दिनको खेलमा चेल्सीलाई न्युकासल युनाइटेडले ३-० ले हराँउदा च्याम्पियन म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई १-० ले पराजित भयो । यसैगरी दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडले वाट्फोर्डलाई १-० ले हराँउदा टोटेनह्याम हट्सपरले लेस्टर सिटीलई ५-४ ले पराजित गर्‍यो । अन्तिम दिनको खेलमा स्टोक सिटीसँग आफ्नै मैदानमा २-१ ले पराजित हुँदै स्वान्सी सिटी रेलीगेशनमा परेको छ ।

यसपटक प्रिमियर लिगको पुछारमा रहेका तीन टोलीहरु स्वान्सी सिटी, वेष्ट ब्रोम र स्टोक सिटी दोस्रो श्रेणीको फुटबल च्याम्पियनसिपमा घटुवा भएका हुन् । गएको सिजनको प्रिमियर लिग उपाधि जितेको चेल्सीलाई भने झट्का लागेको छ । यस सिजन खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको चेल्सीले पाँचौ स्थानमा चित्त बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्