म जापान गएको बेला संशोधन प्रस्ताव ल्याइएकोले समस्या आएको होः काँँग्रेस नेता पौडेल


३० मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सामान्य छलफल भए पनि आफू जापान गएका बेला हतारमा संविधान संशोधन विधेयक पेस गर्दा समस्या उत्पन्न भएको बताएका छन् । बिहीबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता पौडेलले सरोकारवाला र अन्य दलहरुसँग राय लिएर सहमतिमा प्रस्ताव दर्ता गर्नुपर्नेमा त्यसो नहुँदा अझै समस्या बाँकी रहेको बताए । गृहकार्य नगरिकन संविधान संशोधन प्रस्ताव दर्ता भएकाले सबैको चित्त बुझाउन कठिन भएको पनि उनको भनाइ थियो ।

नेता पौडेलले हडबडमा प्रस्ताव पेस भएकाले एमाले लगायतका दलको चित्त बुझाउन नसकिएको बताए । एमालेलाई विश्वासमा लिएर मात्रै जानुपर्ने आफ्नो सुरुदेखिको धारणामा कुनै परिवर्तन नभएको भन्दै उनले अब भने निकास दिनुपर्ने उल्लेख गरेका थिए ।

स्थानीय पुनर्सरचना आयोगले स्थानीय निकायको सीमाङ्कन गर्न नसकेकाले पुरानै संरचनामा निर्वाचन गर्ने विषयमा छलफल भइरहेको भन्दै नेता पौडेलले स्थानीय निकायमा जनप्रतिनिधि आएपछि सीमाङ्कनमा समेत सहज हुने बताए । वैज्ञानिक रुपमा सीमाङ्कन हुनुपर्नेमा आयोगले त्यसो गर्न नसकेको उनको भनाइ थियो । स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा जनताका काम हुन नसकेको भन्दै पौडेलले यथासक्य चाँडो यथास्थितिमै भए पनि निर्वाचन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्