यथास्थितिमा संविधान संशोधन विधेयकलाई सहयोग गरिँदैनः उपप्रधानमन्त्री थापा


३० फागुन । स्थानीय तहको निर्वाचन गराउनकै लागि आफू सरकारमा गएको बताउँदै आएका उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । निर्वाचनको काम युद्धस्तरमा भइरहेको बताउँदै निर्वाचन हुने÷नहुने भन्नेबारे शङ्का उपशङ्का नगर्न आग्रह गर्दै थापाले भने, ‘सरकार निर्वाचनका लागि जुटिरहेको छ । निर्वाचन निश्चित रुपमा हुन्छ । सबै दलका नेता तथा कार्यकर्ताहरु निर्वाचनका लागि जुट्नुहोस् ।’

उपप्रधानमन्त्री थापाले सरकारले संसद्मा ल्याएको संविधान संशोधन विधेयकलाई यथास्थितिमा सहयोग नगर्ने बताए । उनले संविधान जारी भएपछि पहिलोपटक २० वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै निर्वाचनमा कुनै पनि दल वञ्चित हुन नहुने बताए । थापाले भने– “मधेसकेन्द्रित आन्दोलनरत दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्छ ।”

राप्रपाका अध्यक्षसमेत रहेका थापाले लामो समयदेखि काम गरेको राप्रपालाई छाड्नु डा. प्रकाशचन्द्र लोहनीको कदम आत्मघाती भएको बताउँदै भने, ‘पार्टीभित्र चित्त नबुझेका कुरा छलफल गरेर अगाडि जान सकिन्थ्यो तर पार्टी छोड्नु राम्रो काम होइन ।’

प्रतिक्रिया दिनुहोस्