यमीले ‘देशलाई खारेज गर’ भनेपछि बाबुराम भट्टराईले माफी मागे


२१ चैत । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पत्नी हिसिला यमीले नेपाल देशलाई नै खारेज गर्नु पर्ने अभिव्यक्ति दिएपछि दिनभरी उनको आलोचना भयो । सामाजिक सञ्जालहरु उनकै आलोचनामा केन्द्रित भए । ‘देशलाई खारेज गर’ भन्ने यमीको अभिव्यक्तिविरुद्ध ‘हिसिलालाई गिरफ्तार गर’ भन्ने अभियानसमेत सुरु भयो ।

सर्वत्र आलोचना भएपछि बाबुराम पत्नी यमीले पत्रकार सम्मेलन नै गरेर क्षमायाचना गरिन् । निकै नरम शब्द प्रयोग गर्दै यमीले आवेग र अर्धचेत अवस्थामा त्यस्ता अभिव्यक्ति दिएको भन्दै आफू होसमा आउँदा पछुतो भएको पनि प्रष्टिकरण दिइन् । ‘मैले अर्धमुर्छित अवस्थामा स्थानीय निर्वाचन ऐनको आदेश खारेजी हुनुपर्छ भन्न खोज्दा बेहोशीपूर्ण शब्द उच्चारण गर्न पुगेछु,’ उनले पत्रकार सम्मेलनमा भनिन्, ‘म जनजातीकी छोरी भएकाले मलाई शब्दको त्यति ख्याल भएनछ । आन्दोलनको प्रेसर, भाषागत कमजोरी र वेहोशीमा त्यसो भनेछु । म होसमा आएपछि थाहा पाएँ ।’

त्यति मात्र होइन उनले नेपाल भएकाले सबै नेपालीले नेपाली भनेर गर्व गर्न पाएको समेत उल्लेख गरिन । ‘नेपाल छ र त हामी नेपाली भएर बाँचेका छौँ,’ उनले भनिन्, ‘मेरो प्यारो देशप्रति जे भने त्यसप्रति क्षमा माग्न चाहन्छु । आफ्ना अभिव्यक्तिमा पूर्ण सचेत हुन चाहन्छु ।’

यमीले यसरी याचना गर्दै गरेको पत्रकार सम्मेलनको लाइभ भिडियो नै सामाजिक सञ्जालमा राखेका बाबुरामले ‘हिसिला यमीको यो प्रष्टीकरण र क्षमायाचना !’ भन्ने उल्लेख गरेका छन् । लाइभ भिडियो दुइ घण्टामै करिब ३५ हजारले हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्