यसपालिको तीजः बाढी–पीडितको पीडामा मल्हम सावित


५ भदौ । बितेका वर्षहरुमा तीज बेग्लै तरिकाले मनाइन्थ्यो । पार्टी प्यालेस, होटल वा रेस्टुरेन्टमा जमघट हुने, खानपान गर्ने, नाचगान गर्ने– यस्तै हुन्थ्यो तीजको रमझम । तर, यस पटक भने राजनीतिक दलका भातृ संगठनहरु र सामाजिक संस्थाहरुले भने तीजलाई रमझमपूर्ण बनाउन चाहेनन् ।

बाढी, पहिरो र डुबानका कारण सिंगो मधेसको जनजीवन नै बेहाल भएकाले तीजमा गरिने खर्च बाढी–पीडितग्रस्त क्षेत्रका पीडित जनतालाई समर्पण गर्ने टुंगो अधिकांश संस्थाहरुले गरेका छन् । यस पटकको तीजलाई खानपिन, नाचगानमा होइन, सामाजिक सेवा र सत्कार्यमा अर्पण गर्न खोजिएको छ ।

नेपाल निजामती कर्मचारी संगठनले यस पटकको तीजको कार्यक्रमलाई बाढी–पीडितका निम्ति राहत संकलन कार्यमा रुपान्तरित ग¥यो । भदौ २ गते तीजको कार्यक्रम राखेर ३४ हजार रुपियाँ बाढी–पीडितलाई सहयोगार्थ उठाएको संगठनले साउन ३१ गतेदेखि नै अभियानको रुपमा राहत संकलन कार्य गरेको सुरु गरेको थियो ।

बाढी–पीडितका लागि संगठनले १० लाख रुपियाँ संकलन गरेको छ । उक्त रकम र राहत सामग्री लिएर संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाको नेतृत्वमा बुधबार संगठनको टोली मधेस जाँदैछन् । संगठनले उठाएको राहत रकम सप्तरी, धनुषा र रौतहटका बाढी–पीडितलाई स्थानीय प्रशासनसँग समन्वय गरेर वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष देवकोटाले जनाए । एक दिनमा २ जिल्ला भ्याउने गरी संगठनको टोली बाढी–प्रभावित क्षेत्रमा जाँदै छ ।

यसैगरी, एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले यस पटकको तीज भदौ ३ गते भव्य रुपमा मनाउने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, विपद्को समय रमझम गर्ने कुरालाई पन्छाएर तीजमा हुने खर्च बाढी–पीडितलाई राहतस्वरुप प्रदान गर्ने निर्णय गरियो । मञ्चका अध्यक्ष अमर थापामगरले उठेको ५१ हजार १ सय रुपियाँ एमाले केन्द्रीय राहत कोषमा जम्मा गर्ने निर्णय गरे । मञ्चको महिला विभागले तीज कार्यक्रम राखेर त्यति रकम उठाई बाढी–पीडितलाई सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्