यसरी खुल्दैछ मधेसी मोर्चाको भित्री योजना


४ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो जे बोल्छन्, कुनै बाह्य शक्तिको अल्प र दीर्घकालीन आन्तरिक योजनाको पूर्वसंकेत दिने गरी बोल्छन् भन्ने कुरा झन् स्पष्ट हुँदै गएको छ । मधेसी मोर्चाका अरु नेताहरु सार्वजनिक कार्यक्रममा त्यति छिचोलेर बोल्दैनन्, जति महतो छिचोलेरै बोल्न चाहन्छन् । तथापि, उनको अभिव्यक्तिलाई लिएर धेरै विरोध र आलोचना हुने पनि गरेको छ । तर, उनले आक्रोशमा आएर बोलेका कुराहरु समयक्रममा लागू हुँदै गएका पनि छन् ।

‘एक मधेस, एक प्रदेश’ को मागमा अडिग रहेका मधेसी मोर्चाका नेताहरुले पछिल्लो समय एक मधेस, दुई प्रदेशमा चित्त बुझाउन चाहेका थिए । यो उनीहरुको चाहना थिएन । बाह्य शक्तिको चाहनालाई स्वीकारेर त्यसलाई मूर्त रुप दिन मात्र उनीहरु प्रतिबद्ध ढंगले लागेका थिए । तर, उनीहरुको चाहना पूरा हुन पाएन । पूर्वका तीन जिल्लाहरु झापा, मोरङ र सुनसरीलाई पहाडसमेत समेटेर १ नम्बर प्रदेशमा गाभेपछि र सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुर पनि पहाडी जिल्लासहित ७ नम्बर प्रदेशमा राखेपछि मधेसी मोर्चाको असन्तुष्टि चुलिँदै आएको हो ।

मधेसलाई दुई प्रदेश बनाउने योजनामै

महतोले आइतबार मात्रै सार्वजनिक रुपमै बोले, ‘झापादेखि कञ्चनपुरसम्म दुई प्रदेश हुनुपर्छ ।’ उनले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई कुनै पनि हालतमा लिएरै छाड्ने दाबी गरे । उनले भनेका छन्, ‘पाण्डवले पाँच गाउँका लागि महाभारत गरे, अहिले पाएका उपलब्धि संस्थागत गर्दै हामी त्यसका लागि महाभारत गर्छौं, अन्तिम लडाइँ लड्छौं ।’

मधेसी मोर्चाले माग गरेबमोजिम सिंगो तराई दुई प्रदेशमा विभाजित नभए पनि संविधान जारी भएदेखि नै असन्तुष्ट रहेका महन्थ ठाकुर, महतो, महेन्द्र राय यादव, अनिल झालगायत मधेसका नेताहरुले प्रतिनिधित्व गर्ने आठ जिल्लालाई समेटेर २ नम्बर प्रदेश बनिसकेको छ । तथापि, २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने मधेसी मोर्चाका नेतामध्ये यादव मात्र जनताको मत पाएर निर्वाचित भएका सांसद हुन्, अरु नेताहरुले लज्जास्पद रुपमा दोस्रो संविधानसभाको निर्वाचन हारेका थिए र उक्त प्रदेशमा नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रकै अधिकांश सांसदहरु निर्वाचित भएका छन् ।

तर, मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन गराएर क्रमशः ५ नम्बर प्रदेशबाट पहाडलाई अलग्याउने र त्यसपछि तराईमा रहेका झापा, मोरङ र सुनसरीलाई २ नम्बर प्रदेशमा गाभ्नका लागि संघर्ष गर्ने र पछिल्लो चरणमा कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्ने आन्दोलन चर्काउने आन्तरिक योजनाअनुरुप कदम चालेको प्रष्टै देखिएको छ । र, महतो पनि यही कुरामा जोड दिइरहेका छन् । मधेसलाई दुई प्रदेश बनाएर बाह्य शक्तिको इच्छा परिपूर्ति गर्ने खेलमा मधेसी मोर्चाका नेताहरु लागिरहेको स्पष्टै देखिएको छ ।

महतो त्यत्तिकै बोल्दैनन्

मधेसी मोर्चाका नेताहरुमध्ये महतोलाई उग्र नेताका रुपमा लिइन्छ । उनको उग्रपन पछिल्लो समय झनै चर्किएको देखिन्छ । संविधानसभाको दोस्रो निर्वाचनमा सर्लाही क्षेत्र नं. ४ बाट महेन्द्र यादवसँग प्रतिस्पर्धा गर्दा पराजय भोगेपछि उनको उग्रता झनै फस्टाएको बताइन्छ । यद्यपि, अहिले उनी र यादव एउटै मोर्चामा छन् । तर, सधैंभरि आफूले जित्दै आएको क्षेत्रमा पराजय बेहोर्नु परेपछि उनमा उग्रता देखिएको बताइन्छ ।

त्यसो त, संविधान जारी हुनुभन्दा केही महिना पहिले उनी तराईमै रहेका थिए । मधेसी मोर्चालाई तत्कालीन सरकारले वार्ताका लागि काठमाडौं बोलाए पनि महतोले भने ‘अब तराईमै वार्ता हुन्छ, काठमाडौं आइँदैन’ भनेका थिए । तर पनि विराटनगरबाट जहाज चढेर उनी वार्ताका निम्ति काठमाडौं आएका थिए ।

अझ, त्यसभन्दा अगाडि नै उनले संविधान जारी भए ‘काठमाडौंको दानापानी बन्द गरिदिने’ धम्की दिएका थिए । उनले दिएको धम्की संविधान जारी भएलगत्तै लागू भयो । सीमानाकामा आन्दोलन भएको बहाना बनाउँदै भारतले अघोषित रुपमा नाकाबन्दी लगाउन पुग्यो, त्यसको असर काठमाडौंका जनताले ६ महिनासम्म बेहोर्नुप¥यो । इन्धन, औषधि र खाद्यान्नको समस्या काठमाडौंलगायत देशका अरु भूभागका जनताले झेल्नुप¥यो ।

अहिले महतोले जे बोल्न थालेका छन्, यो कुनै विदेशी दूतावासमा रहेर बनाइएको योजनाको पहिलो झलक मात्र हो । किनकि, महतोलगायत मोर्चाका अरु नेताहरुले केही समयअघि मात्रै एउटा विदेशी दूतावासमा घन्टौं बसेर डिनरसहित जुन योजना बनाएका थिए, त्यही योजनालाई सार्वजनिक गर्ने अभिप्रायस्वरुप महतोको कुरा बाहिर आएकोमा शंका गर्नुपर्ने कुनै कारण देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्