यसरी बन्छन् कानुन, कसरी तयार हुन्छ विधेयक ?


काठमाडौं , १६ असार ।

सरकारले पछिल्लो समय सदनमा दर्ता गरेका केही विधेयक आलोचित भए । सरकारका लागि विपक्षी दलहरूको आलोचना त अस्वाभाविक हुँदैन तर सत्तारूढ दलका केही शीर्ष नेताहरूले नै विधेयक तर्जुमाका क्रममा पार्टीभित्र कुनै आन्तरिक परामर्श नगरेको आरोप आयो । कतिपय शीर्ष नेताकोे अभिव्यक्ति दोस्रो तहका नेतामार्फत मुखरित भए ।

किन विवादमा परिरहेका छन् सरकारी विधेयक ? किन आलोचना हुन्छ मस्यौदाको ? विधेयक तर्जुमाका क्रममा हुने एक दर्जनभन्दा बढी यस्ता चरण छन्, जहाँ हरेक विधेयक परिमार्जनका थुप्रै सम्भावना हुन्छन् । मस्यौदा भएको विधेयकलाई अन्तिम रूप दिई पारितको दायित्व विधायिकासँगै सुरक्षित हुन्छ । विधायिकी परीक्षणभन्दा पहिले नै सैद्धान्तिक र विषयगत रूपमा सुधार हुने पनि धेरै चरण हुन्छन् ।

विधेयक तर्जुमाका दर्जनभन्दा बढी आन्तरिक प्रक्रिया छन् । आन्तरिक प्रक्रिया पूरा गरेपछि मात्र विधेयक दर्ताका लागि पठाइन्छ । संसद्मा दर्तापछि पारितका पनि मस्यौदा चरणजत्तिकै प्रक्रियागत कारबाही हुन्छ । विधेयकको विषय र गम्भीरका आधारमा सदनको छलफल निर्भर हुन्छ ।
कानुन, न्याय तथा संसदीय मन्त्रालयका सहसचिव हुमबहादुर केसी विधेयक संसद्मा पु¥याइनुअघि लामो चरण पूरा हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नयाँ विधेयक र संशोधनमा केही प्रक्रिया फरक छ तर धेरै लामो चरण पार गरेपछि मात्र विधेयक दर्ताका लागि अनुमति हुन्छ । आवश्यकता पहिचानदेखि मस्यौदा हुँदै मन्त्रिपरिषद्सम्म निकै लामो प्रक्रिया तर्जुमाका चरणमा लाग्छ । ’’

कसरी तयार हुन्छ विधेयक ?
हरेक योजना, नीतिजस्तै विधेयक तर्जुमामा पनि समस्या पहिचान गरिन्छ । अर्थात् विधेयकको किन आवश्यकता प¥यो भन्ने उद्देश्य र कारण खोजिन्छ । पहिचानका विभिन्न स्रोत हुन्छन् । जसमा संविधानले उल्लेख गरेका नीति र निर्देशक सिद्धान्त हेरिन्छ । राजनीतिक दलका घोषणापत्र कार्यान्वयनका लागि पनि कानुन आवश्यक पर्छ । तत्कालीन समस्या सम्बोधन गर्न, कुनै कार्यलाई कसुर कायम गर्न वा हटाउन पनि कानुनको आवश्यकता पर्छ । अन्तर्राष्ट्रिय समुदायमा गरिएका प्रतिबद्धता र अदालतको आदेश पनि कानुन तर्जुमाका स्रोतहरू हुन् ।

आवश्यकता पहिचानपछि नयाँ विधेयक तर्जुमा गर्ने वा पुरानो ऐनको संशोधन भन्ने टुङ्गो लाग्छ । पुरानै संशोधन भए सैद्धान्तिक स्वीकृति लगायतको प्रक्रिया छोटिन्छ, नयाँ भएमा सम्बन्धित निकायले कानुन मन्त्रालयसँग सैद्धान्तिक स्वीकृति माग गर्छ । सैद्धान्तिक स्वीकृतिको ढाँचा छुट्टै छ । सैद्धान्तिक स्वीकृतिको चरणमा नै कानुनका प्रचलित सिद्धान्त पालना भए वा नभएको, विधेयक संविधान अनुकूल रहे नरहेको परिमार्जनको अवसर हुन्छ । कानुनले स्वीकृति दिएपछि आर्थिक दायित्व सिर्जना हुने विधेयकको हकमा अर्थ मन्त्रालयको सहमतिका लागि पठाइन्छ ।

अर्थबाट सहमति प्राप्त भएपछि विधेयक तर्जुमा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस हुन्छ । मन्त्रिपरिषद्ले तर्जुमाको सैद्धान्तिक स्वीकृति दिएमा सम्बन्धित मन्त्रालयले मस्यौदा तयार पार्छ । मन्त्रालयसँगै विधेयक तर्जुमाको अधिकार राख्ने निकायको हकमा पनि यही व्यवस्था लागू हुन्छ । मस्यौदाका चरणमा सम्बन्धित मन्त्रालयले विषय–विज्ञ तथा परामर्शदातासँग पनि विधेयक तर्जुमाका लागि सहयोग माग्न सक्ने अवस्था हुन्छ । विधेयकमा कुनै त्रुटि भएमा यो चरणमा पनि सच्याउन सकिन्छ ।

विधेयक तर्जुमा भएपछि राय परामर्शका लागि अगाडि बढ्छ । कुनै मन्त्रालयले तयार पारेको मस्यौदा अन्य मन्त्रालयसँग पनि जोडिने विषय भएमा सो मन्त्रालयसँग पनि परामर्श हुन्छ । यस्तै उक्त मस्यौदा कानुन मन्त्रालय र आर्थिक दायित्व सिर्जना गरेको अवस्थामा अर्थ मन्त्रालयमा जान्छ । सरोकारवाला निकाय, सङ्घ, संस्था लगायतसँग विधेयकको मस्यौदामा छलफल हुन्छ ।

सरोकारवालाको सुझाव, जोडिएका मन्त्रालयको राय र कानुन मन्त्रालयको समेत थप निक्र्योलपछि मस्यौदा विधेयकले अन्तिम रूप पाउँछ । यस्तो मस्यौदा सहमतिका लागि कानुन मन्त्रालयमा पुनः पठाइन्छ ।

कानुन मन्त्रालयले प्राप्त मस्यौदा संविधान कानुन अनुकूल भए नभएको अध्ययन गर्छ । यस्तै मस्यौदा अन्तर्राष्ट्रिय कानुन, नेपाल पक्ष राष्ट्र भएका विभिन्न अनुबन्धन अनुकूल भए नभएको पनि अध्ययन हुन्छ ।

व्यावहारिक दृष्टिकोणबाट पनि मस्यौदा विश्लेषण हुन्छ । यो चरणमा सम्बन्धित सरोकारवालासँग पुनः छलफल हुन्छ । विधेयक परिमार्जनका दृष्टिकोणले सबैभन्दा महìवपूर्ण चरण नै यही हो । संविधानविपरीत विधेयक तर्जुमा भयो भन्ने प्रश्नको निरुपण यही चरणबाट गर्न सकिन्छ ।

मस्यौदा मन्त्रिपरिषद्मा
मस्यौदा तयार भएपछि सम्बन्धित मन्त्रालयले संसद्मा दर्ता अनुमतिका लागि मन्त्रिपरिषद् पठाउँछ । मन्त्रिपरिषद्को पूर्ण बैठकमा छलफल वा विधेयक समितिमा छलफल भएपछि विधेयकले अनुमति पाउन सक्छ । विधेयक समितिले आधारभूत संरचना नबिग्रने गरी विधेयक परिमार्जन गर्न सक्छ । यो चरणमा पनि कुनै त्रुटि भएमा विधेयक सच्याउने अवस्था रहन्छ । मन्त्रिपरिषद्को विधेयक समिति कानुन, न्याय तथा संसदीय मन्त्रीको संयोजकत्वमा हुन्छ ।

मन्त्रिपरिषद्ले मस्यौदा दर्ताको अनुमति दिएपछि भने केही प्राविधिक काम मात्र बाँकी रहन्छ । अनुमोदन भएको विधेयक सम्बन्धित मन्त्रालयमा जान्छ । मन्त्रालयले विधेयकको उद्देश्य, कारण, प्रत्यायोजित विधायन तथा आर्थिक टिप्पणी तयार पार्नुपर्छ र व्याख्यात्मक टिप्पणी पनि यही चरणमा तयार पारिन्छ । त्यसपछि विधेयक संसद्मा दर्ता हुन्छ ।

संसदीय प्रक्रिया
विधेयक दर्तादेखि पारितसम्म संसद्का आफ्नै प्रक्रिया छन् । सरकारले ल्याएका सबै विधेयक सदनमा दर्ता हुन्छन् भन्ने पनि हुन्न । उद्देश्य, कारण, प्रत्यायोजित विधायन, आर्थिक टिप्पणी नभएका विधेयक दर्ता नहुन सक्छन् ।

विधेयक दर्तापछि सांसदहरूलाई वितरण हुन्छ । सरकारी विधेयक परिपक्व हुने समय तोकिएको हुन्छ । सो अवधि कटेपछि विधेयक सदनमा पेस गरिन्छ । कुनै विधेयक संविधान र राज्यले लिएको नीतिको आधारभूत सिद्धान्तविपरीत भएमा सांसदले पेस गर्न अनुमति माग्ने प्रस्तावउपर नै विरोधका सूचना दर्ता गर्न पाउँछन् । विधेयक माथिको प्रक्रियागत चुनौती विरोधको सूचनाबाटै सुरु हुन्छ ।

विधेयक सदनमा पेस भएपछि सैद्धान्तिक विषयमा छलफल हुन्छ । सैद्धान्तिक छलफल सकिएपछि विधेयक संशोधन दर्ताका लागि अनुमोदन हुन्छ । प्रचलित नियमावलीअनुसार ७२ घन्टाको समय संशोधन दर्ताका लागि दिइन्छ । विधायिकाले विधेयक परिमार्जन गर्ने सबैभन्दा महìवपूर्ण चरणको प्रारम्भ संशोधन दर्ताबाटै सुरु हुन्छ ।

संशोधन दर्तापछि विधेयक पुनः सदनमा नै पेस हुन्छ । सदनमा पेस भएको विधेयक तत्कालीन आवश्यकता, संशोधनको अवस्थासमेत हेरेर विभागीय मन्त्रीले सदनमा नै छलफल वा सम्बन्धित समितिमा पठाउनका लागि प्रस्ताव गर्न सक्नेछन् । सदनमा छलफल भएमा पारितको प्रक्रिया छिटो हुन्छ । समितिमा गएमा थप लम्बिन्छ ।

समितिमा दफावार छलफलका क्रममा पेस भएको विधेयक आवश्यकताअनुसार उपसमितिमा पठाउन पनि सकिन्छ । उपसमितिमा पठाइए उक्त प्रतिवेदन समितिले कुर्छ अन्यथा समितिले दफावार छलफल प्रारम्भ गर्छ । यस्तो छलफलमा समितिले संशोधनकर्ता, विधेयक प्रस्तुतकर्ता मन्त्रीलाई सँगै राख्छ । दुवैका कुरा सुनेर आवश्यक निर्णय लिइन्छ । समितिले विधेयकमा सरोकार राख्ने पक्षसँग समेत दफबार छलफलका क्रममा परामर्श गर्न सक्छ ।

समितिले विधेयकको दफावार छलफलको प्रतिवेदन तयार पारेपछि सदनमा पेस गर्छ । सदनमा प्रतिवेदन पेस भएपछि विभागीय मन्त्रीले प्रतिवेदन सहितको विधेयक छलफल र पारितका लागि सदनमा प्रस्ताव गर्ने व्यवस्था छ । सदनमा विधेयक पेस भएपछि संशोधन दर्ता तथा दफावार छलफल परिमार्जनका महìवपूर्ण चरण र प्रक्रिया हुन् । हालको द्विसदनात्मक व्यवस्थामा विधेयक दुवै सदनमा परिमार्जन हुन सक्छन् । दुवै सदनबाट पारित भएपछि विधेयक प्रमाणीकरणको प्रक्रियामा जान्छ । राष्ट्रपतिद्वारा प्रमाणीकरणसँगै कानुनका रूपमा तत्कालै वा तोकिएको समयदेखि कार्यान्वयनमा आउँछ ।

जनमतको सुझाव पनि
सदनले कुनै विधेयक विधायकको मतसँगै जनताको राय पनि सुन्न आवश्यक मानेमा जनमतका लागि पठाउने व्यवस्था पनि छ । विवादास्पद विधेयकमा जनताको रायसमेत बुझेर निर्णय लिने प्रचलित मान्यताअनुसार विधायिकाले विधेयक जनमतका लागि पठाउँछ । संशोधन दर्ताको प्रक्रिया सुरु भएसँगै विधेयक जनमतका लागि पनि अनुमोदन गरिन्छ । जनमतबाट प्राप्त भएको रायसमेत सदनमा पेस गरी आवश्यकताअनुसार सुझाव ग्रहण गर्ने प्रचलन छ । गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस्