यसरी हुँदै छ आजको जनप्रदर्शन


२२ पुस । सरकारलाई संविधान संशोधन विधेयक फिर्ता लिन र तत्काल निर्वाचनको मिति घोषणा गर्न दबाब दिने उद्देश्य नेकपा (एमाले) सहित व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलले आज गर्न लागेको जनप्रदर्शनको अहिलेदेखि नै तयारी सुरु भइसकेको छ । विरोधसभा हुने भृकुटीमण्डपमा मञ्च तयार भइसकेको छ भने ४० वटा विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारीसमेत सुरु भइसकेको छ ।

आजको जनप्रदर्शन दिउँसो १ बजे रत्नपार्कबाट सुरु हुने जनाइएको । रत्नपार्कबाट जनप्रदर्शन सुरु हुनुअघि उपत्यकाका विभिन्न ४० स्थानबाट जुलुस सुरु भई रत्नपार्क आउने बताइएको छ । सबै ठाउँबाट आएको जुलुस रत्नपार्कमा मिसिएपछि त्यहाँबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्यूरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुनेछ । आजको विरोधसभालाई एमालेसहित ९ राजनीतिक दलका प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आजको जनप्रदर्शनलाई व्यवस्थित गर्न पाँच सय स्वयम्सेवक परिचालित भइसकेका छन् । स्वयंसेवकहरुले जनप्रदर्शनलाई भव्य र सानदार ढंगले सम्पन्न गर्नका लागि भूमिका खेल्ने बताइएको छ ।

आजको जनप्रदर्शनलाई सफल बनाउन हिजो एमालेसहित नौ राजनीतिक दलले दिउँसो ३ बजेदेखि मोटरसाइकल र्यालीको आयोजनासमेत गरेका थिए । हिजो रत्नपार्कबाट र्याली सुरु भएर भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, सिनामंगल, बत्तीसपुतली, डिल्लीबजार, बागबजार हुँदै पुनः रत्नपार्कमा पुगेर मोटरसाइकल र्याली समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्