यस्ता कारण जसले नेपालीहरु असामयिक मृत्युको मुखमा धकेलिदै


विभिन्न उमेर समुहका नेपालीहरुले विभिन्न कारणले असामयिक मृत्युवरण गर्नुपरेको छ । विभिन्न योजना र काम गर्ने इच्छाशक्ति भएपनि शारिरिक रुपमा नै अस्वास्थ्य हुँदै मृत्युको मुखमा पुग्नु पर्ने बाध्यता छ । नेपालीहरु यस्ता १० कारणले गर्दा असामयिक मरणको भागिदार बनेका छन । नेपालमा विगत एक दशकमा मुटुको धमनी साँघुरिएर अक्सिजन कम हुने समस्या, विभिन्न सरुवा रोग, आमा एवम् नवजात शिशुसम्बन्धी रोग र अन्य कारणबाट मानिसहरूको असामयिक मृत्यु हुने गरेको छ ।
अन्य प्रमुख कारणमा झाडापखाला, नवजात शिशुमा हुने इन्सेफलोपथी अर्थात् मस्तिष्कको सुजन र नवजात शिशुमा हुने अन्य रोग रहेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।
ग्लोबल बर्डन अफ डिजिज स्टडी २०१६ मा नेपाल लगायत अन्य देशबाट सन् २००५ देखि २०१६ सम्म सङ्कलित तथ्याङ्कको अध्ययन र विश्लेषण गरिएको छ।

उक्त अध्ययनले मस्तिष्कको रक्तनलीका रोग, सीओपीडी भनिने श्वासप्रश्वासको दीर्घरोग, सडक दुर्घटनामा हुने चोटपटक, समय नपुगी हुने जन्म, क्षयरोग र आत्महत्या पनि नेपालमा हुने असामयिक मृत्युका शीर्ष कारकका रूपमा देखाएको छ।

उक्त अध्ययनका अनुसार सन् २००५ को तुलनामा सन् २०१६ मा मधुमेहसँग सम्बन्धित जटिलताका कारण हुने मृत्युमा झन्डै ५९ प्रतिशतले वृद्धि भएको छ।

ग्लोबल बर्डेन अफ डिजिज स्टडी २०१६ का अनुसार सन् २००५ मा भएका मृत्युका कारणमा श्वासनलीको तल्लो भागको सङ्क्रमण पहिलो स्थानमा थियो भने मधुमेह ११ औँ स्थानमा थियो।

सन् २००५ को तुलनामा सन् २०१६ मा श्वासनलीको तल्लो भागको सङ्क्रमणका कारण हुने मृत्युमा करिब ४० प्रतिशतले वृद्धि भएको छ।

मधुमेहसँग सम्बन्धित जटिलताका कारण हुने मृत्युमा चाहिँ झन्डै ५९ प्रतिशतले वृद्धि भएको सो अध्ययनमा उल्लेख छ।
चिकित्सकहरूले विलासी जीवनशैली र खानपानमा गरिने लापर्बाहीका कारण मधुमेहसँग सम्बन्धित समस्या बढेको बताएका छन्।
गर्भवती महिलामा मधुमेह, रक्तचापका समस्या बढ्दो
हृदयाघात भएका महिलालाई असमान उपचार
थोरै मदिरा सेवनले मधुमेहको जोखिम कम हुने
मोटो अनि स्वस्थ हुन सक्दैनः अध्ययन
मधुमेहको विश्वव्यापी घातक प्रभाव
डाइबिटिज पाँच प्रकारकाः नयाँ अनुसन्धान
जनस्वास्थ्य विज्ञ डा. रीता थापा भन्छिन्, कारणहरू हाम्रै हातमा छन्। हाम्रो जीवनशैलीसँग जोडिएका कुरा छन्। हाम्रो आनाबानी, रहनसहन, खानपानका कुरा, व्यायाम नगर्ने र अर्को ठूलो समस्या तयारी खानेकुरा हो
उनका अनुसार जीवनशैलीसँग जोडिएका कुराहरू सबै मुटु रोगसँग मात्रै नभई मृत्युको जोखिम निम्त्याउने अरू कारणसँग पनि अन्तर्सम्बन्धित छन्।

सन् २००५ मा मृत्युका प्रमुख कारणमध्ये ११ औँ स्थानमा रहेको मधुमेह सन् २०१६ मा छैटौँ स्थानमा उक्लेको अध्ययनले देखाएको छ।
मिर्गौलाको दीर्घरोग
अध्ययनअनुसार सन् २००५ को तुलनामा सन् २०१६ मा मिर्गौलाको दीर्घरोगबाट मर्नेहरू ३७ प्रतिशतले बढेका छन्।
सन् २००६ मा १२ औँ स्थानमा रहेको मिर्गौलाको दीर्घरोग सन् २०१६ मा नवौँ स्थानमा उक्लेको छ।
चिकित्सकहरूका अनुसार पछिल्लो समय यो समस्या विश्वव्यापी बढ्दो छ।
पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्माका अनुसार नेपालको हकमा रोकथाममा केन्द्रित नहुनु एउटा प्रमुख कारण हो।
उनी भन्छिन्, रोकथाम भन्दा पनि उपचारमा बढी केन्द्रित भएको जस्तो लाग्छ।
मधुमेह र रक्तचापसम्बन्धी समस्यालाई हुनै नदिए मिर्गौलाको दीर्घरोग नियन्त्रण गर्नसकिने उनको बुझाइ छ।
नसर्ने यस्ता रोगहरूको उपचारभन्दा रोग हुनै नदिनेतर्फ केन्द्रित हुनुपर्नेमा डा. रीता थापाको पनि जोड छ।

उनी भन्छिन्, विद्यालय तहदेखि नै किशोरकिशोरीलाई स्वस्थ जीवनशैली अपनाउने बनाउन सकिए धेरै हदसम्म त्यस्ता रोगको रोकथाम गर्न सकिन्छ।
सावधानीका थप कदमबारे डा. सुधा शर्मा भन्छिन्, कथाममा हामी बढी केन्द्रित हुनुपर्छ। विद्यालय तहबाटै रक्तचाप र प्रोटिनसम्बन्धी जाँच गराउनुपर्यो, नियमित जाँच हुनुपर्‍यो।
असामयिक मृत्युका कारणहरूमा आएको फेरबदलसँगै राज्यले पनि सोही अनुसार रोकथामसम्बन्धी आफ्ना नीति र प्राथमिकता परिवर्तन गर्नुपर्ने विज्ञहरू बताउँछन्।
राज्यले तदरूप नै नीति अवलम्बन गर्न खोजेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रमान श्रेष्ठ बताउँछन्।
श्रेष्ठ भन्छन्, नसर्ने रोगबारे घरघरमा जनचेतना बढाउन, कम गर्नका लागि जीवनशैलीमा परिवर्तन गर्न, ठिक समयमा निदान र उपचारको व्यवस्था गर्न हामीले यस वर्षदेखि राष्ट्रव्यापी अभियानका रूपमा नीति तथा कार्यक्रम तय गरेका छौँ।
यसरी हेर्दा नेपालीहरु रोग लाग्नै नदिन भन्दा पनि रोग लागेपछि उपचारमा बढी केन्द्रित हुने गरेका छन । शारिरिक व्यायाम नगर्ने, शरिरलाई भन्दा पनि जिब्रोलाई माया गर्ने यानी कि चिल्लो मसालेदार र बाहिराको खानेकुरालाई बढी जोड गर्ने बानीले पनि हाम्रो स्वास्थ्यलाई दिनदिनै विगारिरहेका हुन्छौ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो । त्यसकारण खानपानमा ध्यान पुरयाउन सक्यौ भने अल्पआयुमै ज्यान गुमाउन कसैले पनि पर्दैनथ्यो । बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्