यस्ता छन्, दस महत्वपूर्ण कामको लेखाजोखा


रवीन्द्र अधिकारी व्यवस्थापिका संसद्को विकास समितिका सभापति हुन् । संविधानसभाको पहिलो र दोस्रो दुवै निर्वाचनमा नेकपा (एमाले) बाट टिकट लिई कास्कीबाट निर्वाचित भएका अधिकारीले केही महिनाअघि मात्रै ‘समृद्ध नेपाल’ नामक पुस्तक प्रकाशनमा ल्याए । उनले उक्त पुस्तकमा नेपालको विकासको स्पष्ट खाका कोरेका छन् । विकास कस्तो हुनुपर्छ र विकास कसरी हुन्छ ? उनले धेरै कुराहरु उक्त पुस्तकमार्फत् स्पष्ट पारेका छन् ।

विकास समितिको सभापति भएपछि अझ बढी समृद्ध नेपालको सपना पूरा गर्ने ध्येयमा लागेका अधिकारीसँग पहिलो न्युज डटकमका कार्यकारी सम्पादक मोहन बास्तोलाले उनी विकास समितिको सभापति भएपछि गरेका केही सकारात्मक कामको लेखाजोखा गर्ने प्रयास गरेका छन् । यही सन्दर्भमा अधिकारीले विकास समितिको सभापति भएपछि गरेका कामको बेलिविस्तार यसरी लगाएः

विकास समितिको सभापति

म करिब तीन वर्षअघि व्यवस्थापिका संसद्को विकास समितिको सभापति भएको हुँ । विकास निर्माणका सन्दर्भमा म पहिलादेखि नै चासो राख्थेँ । त्यसैले विकास समितिको सभापति भएपछि वा भएकै दिनदेखि विकास निर्माणसँग सरोकार राख्ने विषयका काममा बढी खटिएँ । यो अवधिमा मैले जेजति काम गरेको छु, सबैतिरबाट राम्रो सहयोग पनि प्राप्त गरेको छु ।

सबैभन्दा पहिला त विकास समितिको कार्यक्षेत्रका बारेमा सबैले स्पष्ट हुनुपर्छ । विकास समितिले मुख्यतः पूर्वाधार विकास निर्माणसँग सरोकार राख्छ । अन्य क्षेत्रसँग पनि सरोकार त हुन्छ तर मुख्य गरेर विकास समितिले हेर्ने भनेको विकास निर्माणको काम नै हो । तर, नेपालको सन्दर्भमा भन्ने हो भने विकास निर्माणको काम एकदम कमजोर छ । म विकास समितिको सभापति बन्नु अघिसम्म राष्ट्रिय गौरवका आयोजना लथालिङ्ग अवस्थामा थिए । कतिपय आयोजना वेवारिसे थिए । कतिपय आयोजनाका नाम त राखिएको थियो, तर कार्यालय नै थिएनन् ।

चार–पाँच वटा आयोजनाहरुले गति लिएको जस्तो त देखिन्थ्यो तर २०–२५ आयोजनाहरु अलपत्र अवस्थामा थिए । म विकास समितिको सभापति भएपछि अहिलेसम्म १८–२० वटा आयोजनाले गति लिएका छन्, चलायमान भएका छन् । यो आफैँमा गौरवको कुरा हो ।

मध्यपहाडी लोकमार्ग

राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको मध्यपहाडी लोकमार्गको करिब ८० प्रतिशत काम सम्पन्न भएको छ । मेची–महाकाली जोड्ने यो मार्ग करिब–करिब जोडिने अवस्थामा पुगेको छ । पूर्वमा नेपाल–भारत सीमानाको पाँचथरस्थित चियो भन्ज्याङबाट सुरु भएको मध्यपहाडी लोकमार्ग करिब २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल–भारत सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ । अहिले झुलाघाटको पुलसमेत निर्माणको क्रममा छ । २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्ने यो मार्गले ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने अनुमान गरिएको छ ।

पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई मात्र यो सडकले जोड्ने छैन । काठमाडौँभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्ने छ ।

मेलम्ची खानेपानी

विकास समितिको सभापति भएपछि दू्रत गतिमा अघि बढेको अर्को आयोजना हो, मेलम्ची खानेपानी आयोजना । करिब २० वर्षदेखि चर्चामा रहेको मेलम्ची खानेपानी १८–२० वर्षसम्म गफहरुमै सीमित रह्यो । तर, काम भने एकदमै कम भयो । विकास समितिमा हामी आएपछि यतिका वर्ष भएको कामभन्दा दुई–तीन गुणा बढी काम गर्ने वातावरण निर्माण भएको छ । सबै सिफ्टमा काम भएका छन् । हामीले पटक–पटक त्यहाँ अनुगमन गरेका छौँ । विविध समस्याहरुलाई हल गर्दै हामीले अब काठमाडौँबासीको ‘मेलम्ची सपना’ लाई विपनामा परिणत गर्दैछौँ । धेरैलाई मेलम्चीको पानी राजधानीमा आउने सपना जस्तो लागेको थियो, अब त्यो सपना पूरा हुँदैछ ।

तोकिएको समयमा मेलम्चीको पानी काठमाडौँ आइपुग्ने सम्भावना बढेको छ । मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ निर्माणको काम अब ५.४ किमिभन्दा पनि कम छ । यही गतिमा काम हुने हो भने २०७४ असोज महिनाअघि नै पानी ल्याउन सकिने अनुमान गरिएको छ । २०७४ असारसम्म टनेल (सुरुङ) सम्पन्न गर्ने र बाँकी अवधिमा टनेलको फिनिसिङ गरेर असोज मसान्तसम्ममा पानी ल्याउने योजनामा सबै लागेका छन् । यसपछि काकाकुल काठमाडौँ पानीमय बन्नेछ ।

हुलाकी राजमार्ग

सबैभन्दा बढी समय अल्झिरहेको अर्को आयोजना हो, हुलाकी राजमार्ग । हामीले यो राष्ट्रिय गौरवको आयोजनालाई अघि बढाउन देशभित्र र बाहिर छलफल गरेर, दुई–तीन चरणमा ब्रेकअप गरेर, नेपाल सरकारसँगै भारतको पनि सहयोगमा अहिले सबै सहरहरुमा सडक जोड्ने काम भइरहेको छ । भारतीय अनुदान सहयोगमा निर्माणाधीन हुलाकी राजमार्गको काम अहिले अघि बढेको छ । पहिलो चरणका सडक निर्माणका लागि १३ अर्ब लाग्ने अनुमान गरिएकोमा भारतले ८ अर्ब रुपैयाँ सहयोग गर्छु भनेको छ । नेपालले पाँच अर्ब हाल्ने भनेको छ । अहिले हुलाकी राजमार्ग आयोजनाका बाँकी सडक खण्ड नेपाल आफैंले निर्माण गर्ने तयारी अघि बढाएको छ । राजमार्गको पहिलो चरणका १७ सडकमध्ये ११ वटा भारत सरकारले र बाँकी ६ वटा नेपाल आफैंले निर्माण गर्ने निर्णय भइसकेको छ । २० वर्षदेखि अल्झिएको काम अहिले तिव्र गतिमा अघि बढेको छ । यो गौरवको कुरा हो । मेरो कार्यकालमा भएको यो अर्को उपलब्धी हो ।

भैरहवा र पोखरा विमानस्थल

भैरहवा र पोखरा विमानस्थलको काम अघि बढेको थिएन । त्यसलाई अघि बढाउने काम भएको छ । अब केही वर्षभित्रै ती विमानस्थल सञ्चालनमा आउनेछन् । निजगढ विमानस्थलको सन्दर्भमा पनि त्यहाँ तारबार गर्ने काम सुरु भएको छ । आयोजना प्रमुख तोक्ने काम पनि भएको छ ।

मेची–महाकाली राजमार्ग ‘फोर लेन’

अर्को महत्वपूर्ण काम भनेको हामीले मेची–महाकाली राजमार्गलाई ‘फोर लेन’ बनाउने प्रक्रिया अघि बढाएका छौँ । त्यो अहिले कार्यान्वयनको प्रक्रियामा अघि बढेको छ । मेची–महाकाली राजमार्गका पुलहरु पनि त्यही अनुसारका निर्माण हुनेछन् ।

उत्तर–दक्षिण करिडोर

राष्ट्रिय गौरवकै आयोजनामध्ये उत्तर–दक्षिण करिडोरले पनि अहिले गति लिएको छ । किमाथाङ्का–विराटनगर–जोगमनी होस् वा रसुवागढी–केरुङ–ठोरी नाका होस् अर्थात् कोरला–पोखरा–सुनौली नै किन नहोस्, यी सबै करिडोर तीव्र गतिमा अघि बढेका छन् । केही हप्ताअघि प्रधानमन्त्रीले हिल्सा पुलको उद्घाटन गर्नुभयो । त्यो नाका पनि विकास समितिकै पहलमा अघि बढेको हो । कर्णाली–कालीगण्डकी त्यसैगरी हुम्लाको ताक्लाकोट यी सबै सडक निर्माणको काम पनि तीव्र गतिमा अघि बढेको छ । तातोपानी नाकामा भूकम्पपछि केही समस्या आएको थियो । यो नाका पनि अहिले सहज बन्दै आएको छ । मेरो कार्यकालमा इतिहासमा नाम राख्ने गरी काम अघि बढेको छ ।

पूर्व–पश्चिम राजमार्गमा अप्टिकल फाइबर

पूर्व–पश्चिम राजमार्ग अब अप्टिकल फाइबरयुक्त हुनेछन् । उक्त योजना अन्यतिर पनि लागु हुनेछन् । अहिले सूचना–प्रविधिका क्षेत्रमा नेपाललाई अघि बढाउने योजनाले मूर्तरुप प्राप्त गर्न सकेको छैन । यसलाई अझ दु्रत गतिमा अघि बढाउने योजना अघि सारिएको छ । देश नै स्याटेलाइटयुक्त बनाउने योजना पनि अघि बढेको छ । हेर्दा सामान्य लाग्ने तर महत्वपूर्ण काम कलाकारको रोयल्टीको पनि व्यवस्था गरिएको छ ।

भूकम्प पुनर्निर्माणमा विकास समिति

भूकम्प पुनर्निर्माणका सन्दर्भका इमानदारपूर्वक कुरा गर्ने हो भने विकास समितिले निकै महत्वपूर्ण काम गरेको छ । फाष्टट्रयाकका सन्दर्भमा पनि विकास समितिले निकै काम गरेको हो । तर, देश अर्कैतिर मोडिएकाले केही समस्या भयो ।

कान्ति लोकपथले गति लियो

मैले मेरो कार्यकालमा सम्झिरहने अर्को काम कान्ति लोकपथ पनि हो । ललितपुरको चापागाउँ हुँदै हेटौंडा पुग्ने कान्ति लोकपथ हराएको थियो । त्यो सडक दुई लेनको बनाउने प्रक्रिया अघि बढेको छ ।

अलमलमा परेका पुल कालोसूचीमा

हामीले देशैभरि अलमलमा परेका पुलहरु कालोसूचीमा राख्न लगायौँ । केहीलाई राख्न पनि सफल भयौँ । सबै नगरपालिकालाई गुरुयोजना बनाउने तयारी, सार्वजनिक खरिद ऐन संशोधनजस्ता काम पनि मेरो कार्यकालमा भएका महत्वपूर्ण काम हुन् ।

बाँकी कामहरु

यी बाहेक हामीले गर्नुपर्ने थुप्रै कामहरु छन् । तराईका प्रत्येक सहरलाई सहरीकरण गर्ने जस्ता कामहरु अहिले केही अघि बढेका छन् । तिनीहरुलाई पूरा गर्नुपर्ने छ । माथिल्लो तामाकोसी, बुढीगण्डकीजस्ता हाइड्रो पावरहरुलाई तिव्र गतिमा काम अघि बढाएर उज्यालो नेपाल बनाउने, एकीकृत र सुरक्षित बस्ती विकास गर्ने, योजनाबद्ध विकास र कृषिको अवधारणालाई अघि बढाउने, दिगो विकासको मोडलहरु अघि बढाउने, त्योसँगै अहिले चुनौतीका रुपमा रहेको फाष्टट्याकलाई नयाँ गतिमा अघि बढाउने जस्ता थुप्रै योजनाहरु छन् । त्यसो गर्न सकियो भने मात्र समृद्ध नेपाल निर्माण हुनेछ ।

अहिले विद्यमान उद्यमशीलता र रोजगारीलाई हामीले नयाँ उचाइँबाट अघि बढाउनु पर्नेछ । पर्यटन, जलविद्युतका क्षेत्रमा पनि हामीले धेरै गर्न सक्ने सम्भावना छन् ।

विकास भनेकै पूर्वाधार हो । हामीले त्यसका लागि रेलवे, हवाईमार्गका पनि कुरा आउँछन् । कनेक्टीभिटी पनि अर्को महत्वपूर्ण पाटो हो । सहरीकरण पनि विकासको छुट्याउन नहुने पाटो हो । पूर्वाधार कमजोर भएकै कारण यहाँ अवसरहरु पनि सिर्जना हुन सकेका छैनन् । हामीले यी कुरामा पनि ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्