यस्ता छन्, सफलता र विफलताका शृंखलाहरु


१२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतान्त्रिक नेपालको दोस्रो राष्ट्रपतिका रुपमा शपथ लिएको आज ठीक एक वर्ष पुग्यो । राजनीतिक वृत्तमा पुरानो गठबन्धन टुट्ने र नयाँ बन्ने क्रमसँगै पोहोर साल राष्ट्रपतिमा निर्वाचित भएकी भण्डारीले एक वर्षको अवधिमा संविधानको संरक्षणको भूमिकामा आफूलाई कत्तिको सफल रुपमा उभ्याइन् ? र, विवादको घेराबाट कति टाढा भइन् ? स्वाभाविक रुपमा यस्ता प्रश्नहरु उठ्नुलाई अनौठो मान्न सकिँदैन ।

गत वर्ष असोज ३ गते संविधान जारी भएपछि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता–गठबन्धन कायमै थियो । संविधान जारी हुनुअघि एमालेले प्रधानमन्त्री लिने र कांग्रेसले राष्ट्रपति लिने भद्र सहमति भएको थियो र सभामुख चाहिँ संसदको तेस्रो ठूलो दल नेकपा (माओवादी–केन्द्र) को भागमा परेको थियो । त्यही अनुरुप, प्रमुख राजनीतिक दलहरुबीच १६ बुँदे सहमति पनि भएको थियो । तर, १६ बुँदे सहमतिलाई तोडेर भारतीय दबाबमा कांग्रेसले प्रधानमन्त्रीमा सुशील कोइरालालाई उठाएपछि पुरानो गठबन्धन टुट्यो र एमाले र माओवादी–केन्द्रबीच नयाँ गठबन्धन बन्यो ।

एमाले–माओवादी केन्द्रबीच गठबन्धन कायम भएपछि प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाचित भए । कांग्रेस–एमालेबीचको गठबन्धन नटुट्दा सम्भावित राष्ट्रपतिमा सुशील कोइरालालाई हेरिए पनि नयाँ गठबन्धन बनेपछि भने राष्ट्रपतिको पद एमालेकै भागमा प¥यो । माओवादी–केन्द्रले पूर्वलडाकु कमान्डर नन्दबहादुर पुनलाई उपराष्ट्रपतिमा अघि सा¥यो । माओवादी–केन्द्रमा पुष्पकमल दाहालबाहेक राष्ट्रपति बन्ने उचाइँका अरु नेता नभएका हुँदा र दाहालले राष्ट्रपति बन्ने चासो नदेखाएपछि एमालेकै भागमा परेको थियो, राष्ट्रपति पद । तर, कांग्रेसका पाका नेता कुलबहादुर गुरुङ र भण्डारीबीचको प्रतिस्पर्धामा भण्डारी राष्ट्रपतिमा निर्वाचित भइन् । र, गरिन् एक वर्षअघि आजैको दिन शपथ ग्रहण ।

बितेको एक वर्षको कार्यकालमा राष्ट्रपति भण्डारीले विवादमुक्त ढंगबाट आफूलाई अगाडि बढाइन् । नयाँ संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षकको भूमिका सुम्पिएको छ । संविधान जारी भएपछि त्यसलाई सफलतापूर्वक कार्यान्वयन गर्नुपर्ने चुनौती कायमै रहेको बेला राष्ट्रपतिमा निर्वाचित भएकी भण्डारीले यो एक वर्षको अवधिमा के–कस्तो भूमिका निर्वाह गरिन् त ?

उपलब्धिमूलक पक्षहरु
एकः संविधान कार्यान्वयनमा चासो

अहिले राजनीतिक वृत्तमा निर्धारित समयावधिमै संविधान कार्यान्वयन नहुने हो कि भन्ने आशंका व्याप्त छ । संविधान जारी भएपछि त्यसलाई कार्यान्वयनको चरणमा लैजानुपर्ने बेला राजनीतिक दलहरुबीच सत्ताको खेल सुरु भएपछि यस्तो आशंका जन्मिन पुगेको हो । ०७४ माघभित्र स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचन सम्पन्न गरेर संविधानलाई कार्यान्वयन गर्नुपर्ने बेला प्रमुख तीन राजनीतिक दलहरु एकै थलोमा उभिन सकेका छैनन् ।

तर, राष्ट्रपति भण्डारीले भने प्रमुख राजनीतिक दलहरुबीच अहिले देखिएको फाटो र तिक्ततालाई बुझेर नै हुनुपर्छ, सत्तारुढ र विपक्षी दलहरुका नेताहरुलाई संविधान कार्यान्वयन गराउन झक्झकाउने काम गरिरहेकी छिन् । चाहे राजनीतिक दलका नेताहरुसितको भेटको क्रममा होस् वा खुला मञ्चहरुबाट बोल्दा नै किन नहोस्, राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन हुनुपर्ने कुरालाई नै पहिलो प्राथमिकतामा राख्दै आइरहेकी छिन् ।

दुईः साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माणमा जोड

संविधान कार्यान्वयनमा तीव्र चासो राखेरहेकी राष्ट्रपति भण्डारीले सामाजिक, आर्थिक र साँस्कृतिक क्षेत्रको संरक्षण र सम्बद्र्धनमा पनि उत्तिकै चासो र चिन्ता राख्दै आइरहेकी छिन् ।

करिब डेढ वर्षअघिको विनाशकारी महाभूकम्पले काठमाडौं उपत्यकालगायत अन्य ठाउँका साँस्कृतिक, पुरातात्विक, धार्मिक सम्पदाहरु ध्वस्त बनायो । अहिले पनि अधिकांश साँस्कृतिक सम्पदाहरु क्षतविक्षत अवस्थामा छन् । तर, राष्ट्रपति भण्डारीले आफू राष्ट्रपति भएपछि भने ध्वस्त भएका साँस्कृतिक, पुरातात्विक महत्वका थलोहरुको पुनर्निर्माणमा विशेष जोड दिँदै आइरहेकी छिन् ।

तीनः शीतल निवास बाहिर पनि सक्रिय

संविधानले राष्ट्रपतिलाई सक्रिय गतिविधिको भूमिका सुम्पेको छैन । तर, राष्ट्रको अभिभावक र संविधानको संरक्षक भएकी हैसियतले राष्ट्रपति भण्डारीले शीतल निवासभन्दा बाहिर गएर जनतासँग घुलमिल हुने कामलाई भने यो अवधिमा रोक्न चाहिनन् ।

विभिन्न सामाजिक कार्यहरुका साथै धार्मिक, साँस्कृतिक समारोहहरुमा शीतल निवास बाहिर गएरै उपस्थिति जनाउने र जनताका भावनालाई बुझ्ने कार्यमा राष्ट्रपति भण्डारीले अग्रसरता लिएको पाइन्छ । भूकम्पले थिल्थिलो भएका जनताका बीचमा पुगेर होस् वा अरु सामाजिक कार्यक्रमहरुमा सहभागिता जनाएर होस्, राष्ट्रपति भण्डारीले एक वर्षको अवधिमा जनतासितको सम्बन्ध र सम्पर्कलाई ताजै राख्ने कार्य गरिन् ।

चारः गुनासा सुन्ने बानी

महिला, बालबालिका र अपांगता भएकाहरुलाई राष्ट्रपति भवनमै निम्त्याएर उनीहरुसँग संवाद गर्ने, गुनासाहरु सुन्ने र आफ्नो तर्फबाट उनीहरुका समस्याबारे पहल गर्ने कार्यमा पनि राष्ट्रपतिले यो एक वर्षको अवधिमा अग्रसरता लिइन् ।
त्यस्तै, प्रकृति र संस्कृतिको संरक्षणमा पनि राष्ट्रपति भण्डारीको अग्रसरता रह्यो । जैविक विविधता र वन्यजीवहरुको संरक्षणबाट नै मुलुकको समृद्धि हुने कुरामा जोड दिँदै त्यस क्षेत्रका अगुवाहरुलाई झक्झक्याउने काम पनि राष्ट्रपति भण्डारीबाट भयो ।

आलोचनाका पाटाहरु
एकः सानातिना कार्यक्रमहरुमा सहभागिता

तर, राष्ट्रपतिको एक वर्षे कार्यकाल विवादमुक्त रहे पनि केही कुरामा भने आलोचित पनि हुनुप¥यो । खासगरी, राष्ट्रप्रमुखको गरिमा र हैसियतअनुरुप नसुहाउने सानातिना कार्यक्रमहरुको उद्घाटन गर्न जाने र त्यस्ता कार्यक्रमहरुमा सहभागिता जनाउनेजस्ता कार्यले राष्ट्रपतिलाई ‘हलुका’ भएको आक्षेप पनि लाग्यो ।

दुईः जनकपुर भ्रमणले आलोचित

त्यस्तै, जानकी मन्दिरको दर्शन गर्न जाँदा तराई–मधेसका केही अराजक व्यक्ति र समूहको विरोधले गर्दा पनि राष्ट्रपतिलाई विवादमा तान्ने काम भयो । गत वर्ष संविधान जारी भएपछि तराई–मधेसका केही समूह असन्तुष्ट रहे । त्यही असन्तुष्टिकै बीच नेपालले भारतको नाकाबन्दी पनि बेहोर्नुप¥यो ।

तराई–मधेसमा पहाडी समुदायका साथै काठमाडौंमा सत्ता सञ्चालन गरेर बस्नेहरुबीच तीव्र असन्तुष्टि र रोष रहिरहेकै बेला राष्ट्रपति भण्डारीको जनकपुर भ्रमण भयो र उनीमाथि अभद्र व्यवहार प्रदर्शनसमेत भयो । कतिपयले राष्ट्रपतिलाई तत्कालीन समयमा जनकपुरको भ्रमण नगर्न सुझाव दिए पनि त्यतातिर चासो नदिइएको कारण जनकपुर तनावग्रस्त बन्न पुग्यो र राष्ट्रपतिको जनकपुर भ्रमण विवादित रह्यो ।

प्रतिक्रिया दिनुहोस्