यिनी प्राज्ञ हुन् कि काँग्रेसको प्रचारक ?


३१ चैत । प्राज्ञहरुलाई ‘राजनीतिक दलका झोले’ भनेर आरोप लाग्दै आएकोमा त्यसलाई थप पुष्टि हुने गरी नेपाल प्रज्ञा–प्रतिष्ठानका एक जना प्राज्ञ नेपाली काँग्रेसको प्रचार प्रसार समन्वय उपसमितिमा बसेका छन् । आफ्नो प्राज्ञिक मर्यादा र गरिमालाई रत्तिभर ख्याल नगरी काँग्रेसको प्रचारक बन्न रुचाउने ती प्राज्ञ हुन्, श्रवण मुकारुङ ।

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर काँग्रेसले केन्द्रीय सदस्य तथा भौतिक योजना तथा पूर्वाधार मन्त्री रमेश लेखकको संयोजकत्वमा प्रचार प्रसार समन्वय उपसमिति गठन गरेको थियो, केही दिनअघि । सो कमिटीको सहसंयोजकमा स्वास्थ्य मन्त्री गगन थापा रहेका छन् । काँग्रेस निकट वरिष्ठ पत्रकारहरुका साथै काँग्रेसकै कोटाबाट नेपाल पत्रकार महासंघका सभापति भइसकेकाहरु पनि सो उपसमितिमा रहेका छन् । तर, सोही कमिटीमा राज्यको सेवा, सुविधा पाउँदै आएका प्राज्ञ परिषद् सदस्य मुकारुङ पनि बसेका छन् । काँग्रेसकै कोटाबाट एकेडेमीका उपकुलपति भएका विष्णुविभू घिमिरे भने उक्त समितिमा रहेका छैनन् ।

‘एकेडेमीले प्राज्ञहरु राजनीतिक दलको चुनाव प्रचार कमिटीमा बस्नु हुँदैन भनेर आचारसंहिता त बनाएको छैन । तर, यो नैतिक विषय भने हो । किनकि, प्राज्ञहरु कुनै पार्टीको चुनाव कमिटीमा बस्दा एकेडेमीको गरिमा घट्न सक्छ ।’ एकेडेमीकै एक जना प्राज्ञले बताए ।

अहिले मुकारुङले प्राज्ञ परिषद् सदस्य भएबापत मुख्यसचिवले पाउनेजत्तिकै तलब र सेवा, सुविधाहरु पाउने गरेका छन् । उनले मासिक ५५ हजार २ सय तलब, मासिक २७ हजार घरभाडा, पत्रपत्रिका खर्चबापत ३ सय, टेलिफोन खर्चबापत ५ सय र भत्ता भनेर १ हजार गरी ८९ हजार ५ सय ३० रुपियाँ पाउँछन् । यसबाहेक गाडी सुविधा, महिनामा ८० लिटर पेट्रोल सुविधासमेत पाउँदै आएका छन् । उनले एकेडेमीको मातृभाषा साहित्य विभागको प्रमुखको जिम्मेवारी पनि पाएका छन् ।

कुनै समय वामपन्थी राजनीतिमा झुकाव राख्ने मुकारुङ पछिल्लो समय भने प्राज्ञ बन्नैका लागि काँग्रेस प्रवेश गरेका थिए । जनआन्दोलन २०६२÷६३ का चर्चित कवि मुकारुङलाई काँग्रेस प्रवेश गरेको पुरस्कारस्वरुप काँग्रेसमा प्राज्ञ परिषद् सदस्य बन्ने हैसियत भएका एकसे एक व्यक्तिहरुलाई पन्छाएर एकैचोटि परिषद् सदस्यमा नियुक्त गरिएको थियो ।

एकेडेमीको कुलपति गंगाप्रसाद उप्रेतीले भने प्राज्ञ परिषद्मा रहेकाहरु कुनै राजनीतिक दलको प्रचार कमिटीमा बस्न नमिल्ने बताए । उप्रेतीले भने, ‘हामी एक किसिमको सरकारी जागिरेजस्तै हौं । कुनै दलको चुनावी प्रचार समितिमा बस्न मिल्दैन ।’ कुलपति उप्रेतीले आफूले प्राज्ञ परिषद् सदस्य मुकारुङलाई ‘प्रचार कमिटीमा बस्न नमिल्ने’ जानकारी गराउने बताउँदै भने, ‘म उहाँलाई यो कुरा सम्झाउने छु ।’

प्रतिक्रिया दिनुहोस्