यी तीन जनालाई केमा चित्त बुझेन ?


२६ असार । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिभित्र मतदानै गर्ने हो भने पनि अहिलेको वामपन्थी गठबन्धनका पक्षमा भारी मत छ । तर, तीनजना यस्ता पात्र छन्, जसले लाजिम्पाट धाएर अध्यक्ष पुष्पकमल दाहाललाई सरकार ढाल्न लगातार उक्साइरहेका छन् ।

कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्माको गठबन्धन र सरकार ढाल्न देखिएको सक्रियतालाई लिएर माओवादीभित्र आश्चर्य मानिँदैछ । पहिलो न्युजसँग कुरा गर्दै माओवादीका एक माथिल्लो तहका नेताले भने, ‘अहिले सरकार ढाल्नुपर्ने कुनै कारण छैन । तर पनि, पार्टीभित्र यही तीन जनाको समूहले साँझ–विहान अध्यक्ष कमरेडकोमा धाएर प्रधानमन्त्री बन्नुपर्छ भन्दै उकासिरहेका छन् ।’

कृष्णबहादुर महरा माओवादीभित्र विजयकुमार गच्छदारका रुपमा चिनिन्छन् । आर्थिक आर्जन र पद दुबैका लागि उनी गच्छदारको हाराहारीको नेताका रुपमा दाँजिन्छन् । शान्ति प्रक्रियामा आउँदा माओवादीले उनकै नेतृत्वमा अन्तरिम व्यवस्थापिकामा टोली पठाएको थियो । त्यसलगत्तै गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा उनी माओवादीको नेतृत्व गर्दै सूचना तथा सञ्चारमन्त्री बनेपछि उनले पछाडि फर्केर हेर्नुपरेन । त्यसयता माओवादी सरकारमा जाँदा महरा मन्त्री नभएको यही पटक हो । यसपटक उनी पुनः गृहमन्त्री बन्न चाहन्थे । तर, माओवादीभित्र सधैँ एउटै मान्छेलाई मात्रै हुन्न भन्ने आवाज दह्रो गरी उठेका कारण उनी सफल भएनन् । हुन त उनलाई त्यतिबेला सभामुखका रुपमा पनि नहेरिएको होइन । तर, शक्तिको महत्व बुझेका महराले मर्यादाक्रममा राष्ट्रको पाँचौँ स्थानमा रहेको उक्त पद अस्वीकार गरेका थिए ।

अहिले महराका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अकुत सम्पत्ति आर्जनको मुद्दा छ । उनलाई यस्तै खेलमा प्रयोग गर्नकै लागि शक्ति केन्द्रको योजनामा लामो समयसम्म सो मुद्दा अदालतमा समेत पेस गरिएको छैन । सञ्चारमन्त्री हुँदा अजय सुमार्गीलाई गैरकानुनी रुपमा फ्रिक्वेन्सी दिएको अभियोग त्यतिबेलै लागेको थियो । एकातिर उनले मन्त्री हुँदा गरेका विवादित निर्णयहरुको छानबिन भइरहेको छ भने अर्कातिर अकुत सम्पत्तिको स्रोत पनि खोजी भइरहेको छ । यसबाट बँच्न भारतीय संस्थापन गुहार्न पुगेको बेला गत बैशाखमा दिल्लीमा कांग्रेस सभापति शेरबहादुर देउवासँग सरकार ढाल्नेबारे उनले सहमति गरेर फर्किएका थिए । दाहालले सात पटकसम्म प्रधानमन्त्रीको चुनाव हार्दा महराले चिनियाँ लवजको विदेशीसँग सरकार बनाउन ५० करोड रुपियाँ मागेको टेप सार्वजनिक भएको थियो ।

अर्का नेता वर्षमान पुन कुनै बेला आफ्नै पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराईलाई ‘भारतीय एजेन्ट’ भन्दथे । अहिले सरकार बदल्नका लागि भारतीय गुप्तचर निकायसँग उनको दैनिक उठबस भइरहेको सूचना बालुवाटार पुगेको छ । कुनै बेला दिनको एकपटक चिनियाँ दूताबास धाउने यिनी अहिले सरकारका विरुद्धमा लागे पनि तत्कालै कुनै पद पाउने छैनन् । किनभने, चुनाव हारेका कारण मन्त्री हुने ढोका बन्द छ भने उनकी पत्नी ओनसरी घर्तीलाई सभामुख बनाएकै छन् । अस्थिर र महत्वाकांक्षी स्वभावका यिनलाई डा. भट्टराईले त्यतिबेला ‘बालरोगी’को संज्ञा दिएका थिए ।

जनार्दन शर्माले यसपटक गृहमन्त्री हुनका लागि मरिहत्ते नै गरेका थिए । अध्यक्ष दाहाललाई फकाउने, घुक्र्याउनेदेखि दवाव दिनेसम्मका कुनै काम गर्न बाँकी नराखेका उनलाई छिमेकी जाजरकोटका शक्ति बस्नेत गृहमन्त्री भएकोमा सही नसक्नु भएको छ । विगतमा शान्ति तथा पुनर्निर्माणमन्त्री हुँदा आफन्तलाई जागिर खुवाएर विवादमा आउनुबाहेक खासै काम गर्न नसकेका शर्मा अहिले संसद्को सर्वाधिक महत्वपूर्ण सार्वजनिक लेखा समितिका सभापति छन् । सभापतिका रुपमा उनले ठोस काम गर्न सकेका छैनन् । तर, त्यहीँ बसेर पनि चलखेल चाहिँ जारी रहेको माओवादीका नेताहरु नै बताउँछन् ।

माओवादीभित्र नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, गिरिराजमणि पोखरेल, अमिक शेरचनलगायतका नेताहरु वर्तमान वामपन्थी गठबन्धन भत्काउन नहुने पक्षमा छन् । एक नेताले भने, ‘राष्ट्रिय सहमतिको सरकार बन्दै बन्दैन । त्यो त हामीलाई वर्तमान सरकारबाट बाहिर निकाल्ने अस्त्र मात्र हो । फेरि पनि बन्ने बहुमतीय सरकार हो र त्यसको प्रधानमन्त्री पनि हाम्रो अध्यक्षलाई बन्ने नदिने स्पष्ट नै छ । त्यसकारणले अहिले हतारमा गठबन्धन विगारेर फुर्सत्मा पछुताउने काम गर्नुहुन्न ।’ माओवादीमा अहिले यी तीनै जना दक्षिणको गोटी बनेको भन्दै त्यसमा फस्न नहुने आवाज उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्