यी २५ ठूला बैंकहरुले कसरी गर्लान् पुँजी वृद्धि ?


९ माघ । तीन दिनअघि मेघा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकबीच एकापसमा गाभिने सहमति भयो । अब यी दुई बैंक गाभिएपछि मेघाको चुक्ता पुँजी ४ अर्ब १ करोड र टुरिजम्को चुक्ता पुँजी ९१ करोड ९७ लाख पुग्छ । तर, मर्जरपछि मेघा बैंक नै कायम रहने भए पनि उक्त बैंकले नेपाल राष्ट्र बैंकको नीतिअनुरुप अझै ३ अर्ब ७ करोड पुँजी पु¥याउनुपर्ने हुन्छ ।

नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त भएपछि डा. चिरञ्जीवि नेपालले बैंक तथा वित्तीय संस्थाहरुले दुई वर्षभित्र चार गुना पुँजी वृद्धि गर्नुपर्ने नीति ल्याए । आगामी चैतमा राष्ट्र बैंकले तोकेको समय सीमा सकिँदैछ । अबको अढाई महिनाभित्र सबै बैंक तथा वित्तीय संस्थाहरुले चार गुना पुँजी वृद्धि गर्नुपर्ने देखिएको छ । तर, अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको समयावधिभित्र पुँजी वृद्धि गर्नसक्ने अवस्था नरहेको देखिन्छ ।

२०७३ मंसिरसम्म अधिकांश वाणिज्य बैंकहरुको चुक्ता पुँजी कम नै रहेको पाइएको छ । राष्ट्र बैंकले तोकेअनुरुप वाणिज्य बैंकहरुले चुक्ता पुँजी ८ अर्ब पु¥याउनुपर्ने हुन्छ । तर, २५ वाणिज्य बैंकहरुलाई भने अढाई महिनाभित्र चार गुना पुँजी वृद्धि गर्न हम्मेहम्मे नै पर्ने देखिन्छ ।

कुन बैंकको कति चुक्ता पुँजी ?

नेपाल बैंक लिमिटेडको ६ अर्ब ४९ करोड ९५ लाख, नविल बैंकको ६ अर्ब १८ करोड ३५ लाख, स्टान्डर्ड चार्टर्ड बैंकको ३ अर्ब ७४ करोड ९९ लाख, हिमालयन बैंकको ४ अर्ब ४९ करोड ९१ लाख, नेपाल एसबीआई बैंकको ३ अर्ब ८८ करोड ३७ लाख, नेपाल बंगलादेश बैंकको ४ अर्ब १ करोड १८ लाख, एभरेष्ट बैंकको २ अर्ब ७४ करोड २६ लाख, कुमारी बैंकको २ अर्ब ६९ करोड ९२ लाख, लक्ष्मी बैंकको ३ अर्ब ३ करोड ९२ लाख, सिटिजन्स बैंक इन्टरनेशनलको ५ अर्ब ५३ करोड ७४ लाख रुपियाँ चुक्ता पुँजी रहेका छन् ।

यसरी नै, प्राइम कमर्सियल बैंकको ४ अर्ब ८९ करोड १९ लाख, सनराइज बैंकको ५ अर्ब ३० करोड १४ लाख, जनता बैंकको २ अर्ब ६ करोड, सेन्चुरी कमर्सियल बैंकको ३ अर्ब ६८ करोड ९० लाख, सानिमा बैंकको ५ अर्ब ३० करोड ५९ लाख, माछापुछ्रे बैंकको ३ अर्ब ८६ करोड ४५ लाख, एनआइसी एसियाको ५ अर्ब ८१ करोड ९६ लाख, ग्लोबल आइएमईको ६ अर्ब १६ करोड ४३ लाख, सिभिल बैंकको ४ अर्ब ५८ करोड ३८ लाख, एनएमबी बैंकको ५ अर्ब ४३ करोड १ लाख, प्रभू बैंकको ५ अर्ब ८८ करोड १४ लाख, सिद्धार्थ बैंकको ३ अर्ब २ करोड २१ लाख, बैंक अफ काठमाण्डू लुम्बिनीको ४ अर्ब ५७ करोड ६९ लाख र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ४ अर्ब ६७ करोड ९१ लाख चुक्ता पुँजी रहेको छ ।

गएको मंसिरसम्म क वर्गका अधिकांश बैंकहरुले मर्जरको प्रक्रियाद्वारा चुक्ता पुँजी वृद्धि गरेका थिए । खासगरी, वाणिज्य बैंकहरुले विकास बैंक र फाइनान्स कम्पनीहरुसँग मर्जर गरेर पुँजी वृद्धि गरेका हुन् । तर, निजी क्षेत्रका नेपाल इन्भेस्टमेन्ट बैंकको ८ अर्ब ७० करोड ६६ लाख र सरकारी बैंकहरु राष्ट्रिय वाणिज्य बैंकको ८ अर्ब ५८ करोड ९० लाख र कृषि विकास बैंकको १० अर्ब ३७ करोड ४४ लाख चुक्ता पुँजी भएको हुँदा यी तीन बैंकबाहेक अरु सबै वाणिज्य बैंकहरुले पुँजी वृद्धि गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्