युरेनियम खोज्दै मुस्ताङ पुगेका उद्योगमन्त्री भन्छन्, ‘खानी भेटियो, अब काम सुरु हुन्छ’


१९ असार । उद्योगमन्त्री सोमप्रसाद पाण्डेय हालै मुस्ताङ पुगेर फर्किए । खानी विभागका अधिकारी र सम्बन्धित क्षेत्रका विज्ञसहित त्यहाँ पुगेका उनले युरेनियम र नुनको खानी रहेको भन्दै थप अध्ययनका लागि छिट्टै कदम चालिने बताएका छन् ।

उद्योगमन्त्री पाण्डेको भनाइ छ, ‘देशको समृद्धिका लागि खानीको उचित प्रयोग गर्नुपर्छ र देशमा रहेका सम्पूर्ण खानीहरुको अध्ययन गरी कुन स्थानमा कुन खानी कति परिणाममा छ भन्ने कुरा दुई वर्षभित्र प्रतिवेदन तयार गर्नुपर्छ भन्ने मेरो उद्देश्य छ ।’

व्यावसायिक रुपमा फाइदा हुने खानीहरुको उत्खनन् प्रक्रिया सुरु गर्ने योजनाका साथ अघि बढेका उद्योग मन्त्री पाण्डेय सोही कामका लागि आफ्नो मन्त्रालयअन्तर्गतको खानी विभागको टोलीसहित स्थलमार्गबाटै मुस्ताङ पुगेका थिए ।

मुस्ताङमा सबैभन्दा मुल्यवान बस्तु युरेनियम र मानिसलाई नभई नहुने बस्तु नुनको खानी भएको जानकारी पाएसँगै मन्त्री पाण्डेय आफैँ त्यहाँ पुगेका हुन् ।

मन्त्री पाण्डेयसँग खानी बिभाग निमित्त महानिर्देशक राजेन्द्र खनाल, उपमहानिर्देशकद्वय सोमनाथ सापकोटा र रामप्रसाद घिमिरे र विज्ञहरु प्राविधिक उपकरणसहित त्यहाँ पुगेका थिए ।

असार १३ गते म्याग्दीको बेनीबाट जोमसोम हुदै मुक्तिनाथ मन्दिर पुगेको टोलीले त्यहाँ बलिरहेका ज्वालाको अध्ययन गरेको थियो । त्यहाँ प्राकृतिक ग्यास हुन सक्ने अनुमान छ ।

नुनखानी, (2)
छुसाङको तेताङको नुन खानी अवलोकन

टोलीले भोलिपल्ट छुसाङको तेताङको नुन खानी अवलोकन गरेको थियो । स्थानीय बासिन्दाले बताए अनुसार, २५ वर्षअघिसम्म भोटे नुन भन्दै त्यहाँको नुन प्रयोग हुन्थ्यो । सरकार स्वयम्ले उत्खनन् सुरु गर्ने वा स्थानीय बासिन्दालाई उत्खनन् गर्न दिएर सरकारले किनिदिने कुन विकल्पमा जान सकिन्छ, छिट्टै काम सुरु गर्ने आश्वासन मन्त्री पाण्डेयले दिएका छन् ।

युरेनियम भएको पुष्टि

माथिल्लो मुस्ताङमा पर्ने लोमान्थाङमा युरेनियमको खानी छ भन्ने कुरा खानी विभागको अभिलेखमा पहिल्यैदेखि उल्लेख छ । तर, यसपटक चाहिँ भए–नभएको यकिन गर्नका लागि गामा रे स्पेक्ट्रोमिटर नामक विश्वसनीय यन्त्रसमेत बोकेर टोली त्यहाँ पुगेको थियो । यदि जमिनभित्र युरेनियम छ भने उक्त यन्त्र जमिनमाथि राख्दा यन्त्रमा बत्ती बल्दछ । विश्वभरि नै युरेनियम जाँच्ने यही उपाय प्रयोग गरेर त्यहाँको युरेनियम जाँच गरिएको थियो ।

गामा रेका माध्यबाट अध्ययनबाट लोमान्थाङमा उत्कृष्ट स्तरको युरेनियम खानी भएको प्रमाणित भएको टोलीले निष्कर्ष निकालेको छ । विश्वमा ऊर्जाका लागि अति आवश्यक तत्व युरानियमको खानीबारे थप अध्ययन र परिणाम पत्ता लगाउने काम खानी विभागले तत्कालै अघि बढाउने भएको छ ।

नेपालमा युरेनियमको सम्भावना कहाँ कहाँ छ ?

माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रबाहेक पनि नेपालमा यरेनियमको सम्भावना भएको विभिन्न अध्ययनहरुले देखाएका छन् । मकवानपुर धियालको तीनभंगाले, मकवानपुरको चिरुवा खोला र चाँदे खोला, काठमाडौंको जगते, बझाङको सेनगढ, निम्लीगढ, देभलेक, लाङटाङ हिमालमा पनि युरेनियमको प्रशस्त सम्भावना रहेको विभिन्न अनुसन्धानहरूबाट देखिन्छ ।

त्यसबाहेक राजधानीको उत्तरपश्चिम क्षेत्रमा अवस्थित ककनीको पाँचमाने क्षेत्र, मैलुङ खोला, शिवपुरीको टोखा, रसुवाको केही भाग, दोलखाको चरीकोट नजिकको केही भागमा उच्च रेडियोधर्मी विकिरण पाइएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

खानी विभागको अन्वेषण अनुसार, शिवालिक क्षेत्रमा पर्ने सिन्धुलीको बुका खोला, अछामको बुढीगंगा, चितवनको मरदार खोला तथा पाँपा खोला, बैतडीको बागेगढ (पूर्व), बागेगढ (पश्चिम), सानीगढ, जमरी, गोरङ्ग (पूर्व), गोरङ्ग (पश्चिम), बङ्गाबगर बगोट आसपासमा युरेनियमको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्