युवालाई निर्देशन दिदैँ भीम रावलले भने– ‘क भन्ने मान्छे ‘ख’ भयो भने के हुन्छ ?’


१७ भदौ । नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले पार्टी भित्रको गुटवन्धी समाप्त भएको दाबी गरेका छन् ।

युवा संघ नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको ‘युवा फाँट इञ्चार्जहरुलाई स्वागत तथा विधाई’ कार्यक्रममा बोल्दै यस्तो दाबी गरेका हुन् । रावलले केही दिन अघि सम्पन्न एमाले स्थायी समिति बैठकले पार्टी भित्रको गुटवन्धीलाई सधैँका लागि अन्त्य गरेको दाबी गरे ।

‘हामीले नवौँ महाधिवेशन सम्पन्न गरेको दुई वर्ष भयो, अब अर्को महाधिवेशन आउन अझै तीन वर्ष बाँकी छ,’ उनले भने, ‘अहिले नै महाधिवेशन लाग्ने र त्यसको प्रचार गर्ने बेला भएको छैन । अहिले नवौँ महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन गर्ने चरण हो ।’

उनले स्थायी समिति बैठकले त्यही कुरालाई ध्यानमा राखेर ६ बुँदे निर्देशन जारी गरेको जानकारी दिए । ‘निर्देशनको पहिलो बुँदामै पक्षधरताका आधारमा गुटबन्धीपूर्ण दृष्टिकोण राखेर जिम्मेवारी दिने कुरा नगर्ने भन्ने उल्लेख छ,’ उनले भने, ‘निर्वाचनमा हाम्रो नवौँ महाधिवेशनमा जस्तै प्यानलको सूची बनाएर त्यो प्यानलको अध्यक्षलाई हेरेर आँखा चिम्लेर चिन्ह लगाउने परम्पराको पनि अन्त्य गर्ने भनेका छौँ ।’

उनले आगामी कुनै पनि निर्वाचनमा प्यानल सूचीका आधारमा मतपत्र बनाउँन नदिने पनि दाबी गरे । उनले अब पार्टी विधि, सिद्धान्त र नीतिमा चल्ने पनि दाबी गरे । उनले चरम गुटबन्धी गर्ने र यो मात्र मेरो नेता हो भन्ने कार्याकर्ताहरुको नेता बन्ने दिन गएको पनि दाबी गरे । ‘चरम गुटबन्धी गर्ने र मेरो ‘क’ भन्ने व्यक्ति मात्र नेता हो भन्ने हो भने यो शरीर न हो,’ उनले भने ‘क’ भन्ने मान्छे ‘ख’ भयो भने के हुन्छ ? त्यसपछि कुन नेताको पछि लाग्ने ? त्यसले कहाँ जाने ? त्यसैले अब यसको अन्त्य हुन्छ ।’

माओवादी अहिले फेरि युद्धमा जान चाहन्छ

रावलले कार्यक्रमलाई सम्वोधन गर्दै सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र फेरि पनि युद्धमा फर्किन चाहेको आरोप लगाए । ‘अहिले प्रचण्डजीहरु संविधान सर्वस्वीकृति हुनपर्छ भन्दै आउनु भएको छ । उहाँहरुले संविधानसभामै भाग नलिएका मोहन वैद्यजीहरुलाई पनि सर्वस्वीकृति गर्न सक्नुहुन्छ,’ रावलले भने, ‘उहाँहरुले यो भन्नु भनको १० वर्षे युद्धले नपुगेर फेरि त्यतातिर जाने चाहना हो भन्ने शंका लागेको छ ।’ रावलले त्यसलाई तोडेर जानुपर्नेमा जोड दिए ।

गोप्य सुत्रबाट थाहा भयो

रावलले अब हुने भनिएका स्थानीय र प्रदेशका निर्वाचनमा एमालेलाई हराउन माओवादीले गाउँ–गाउँमा आफ्ना कार्यकर्ता खटाएको गोप्य सुत्र फेला परेको दाबी गरे । ‘मलाई एउटा गोप्य सुत्र प्राप्त भएको छ,’ उनले भने, ‘अहिले माओवादीहरु गाउँ–गाउँमा एमालेलाई हराउन त्यहाँका कर्मचारीलाई कुन ठाउँमा ‘हजुरलाई सरुवा गरौँ’ भनेर लागेका छन् । अब त्यसलाई एमालेले चिर्नुपर्छ ।’

कपाल फुले पनि महेन्द्र कमरेडको मन तन्देरी

युवाफाँट इञ्चार्ज शेरधन राईलाई विदाई गरेर अर्का पोलिट्ब्युरो सदस्य महेन्द्र पाण्डेलाई युवाफाँट इञ्चार्ज बनाएको भन्दै रावलले व्याङ्ग्य गरे । ‘उहाँको केश फुलेको छ, त्यो केश त्यसै फुलेको होइन, अनुभवले फुलेको हो,’ रावलले भने, ‘उहाँको अनुभवलाई युवासंघले लिन सक्नुपर्छ । उहाँको केश फुले पनि मन तन्देरी नै छ ।’

कालो दिन र उज्यालो दिन मनाउनेको दोहोरी

संविधान जारी भएको दिनको विषयलाई लिएर सत्ता पक्ष दलहरुबीच नै मतभेद रहेको भन्दै रावलले यसो हुनु दूर्भाग्य भएको बताए । ‘अहिले संविधान जारी भएको दिनलाई सत्ता पक्ष दलमै एक थरीले कालोदिन र अर्को थरीले उज्यालो दिनका रुपमा मनाउँने तयारी गरेका छन्,’ उनले भने ‘यो भन्दा दूर्भाग्य के हुन्छ ?’

कार्यक्रमा युवा संघका निवर्तमान इञ्चार्ज शेरधन राई, इञ्चार्ज महेन्द्र, पाण्डे, सह–इञ्चार्ज निरु पाल, अध्यक्ष राजीव पहारी, उपाध्यक्ष निरु पाल, महासचिव किरण पौडेललगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्