युवा तथा विद्यार्थीहरुले घेरे भारतीय दुतावास


२० मंसिर । संविधान संशोधन भारतको निर्देशनअनुरुप आएको निष्कर्षमा युवा तथा विद्यार्थीहरु पुगेका छन् । संविधान संशोधनमा भारतीय राजदूतले अनावश्यक भूमिका खेलेको भन्दै सोमबार संयुक्त युवा–विद्यार्थी संघर्ष समितिले भारतीय दूतावास लैनचौरमा नारा र जुलुस प्रदर्शन गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सहमति बिना र मधेसी मोर्चाको असन्तुष्टिबीच नै सरकारले ७ दिनअघि संशोधन विधेयक संसद्मा दर्ता गरेको थियो । संशोधन विधेयक दर्ता भएसँगै काठमाडौंमा युवा तथा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् भने एमालेले विगत ३ दिनदेखि व्यवस्थापिका–संसद अवरुद्ध तुल्याइरहेका छन् ।

संशोधनकै विरुद्धमा प्रदेश नम्बर ५ का सबै जिल्लाका जनता आन्दोलनमा उत्रिएका छन् । सो प्रदेशका पहाड र तराईका जनताले ६ दिनयता आन्दोलन चर्काइरहेका छन् र बन्दका कार्यक्रमहरु पनि जारी राखेका छन् ।

सोमबार भारतीय दूतावास घेराउका क्रममा युवा संघ, नेपालका अध्यक्ष राजीव पहारीले भारतको निर्देशन बमोजिम नै संविधान संशोधनको विधेयक सरकारले ल्याएको बताए । उनले नेपालको आन्तरिक मामिलामा भारतले अनावश्यक रुपमा हस्तक्षेप बढाएको उल्लेख गर्दै भारतीय राजदूतले संशोधनमा धेरै नै चलखेल गरिरहेको पनि बताए । उनले भने, ‘मधेसी नेताहरुलाई दूतावासमै बोलाएर, भोतभते्र गरेर राजदूतले संशोधनमार्फत् आफ्नो स्वार्थ पूरा गर्न खोज्दैछन् ।’

सोमबारको दूतावास घेराउका क्रममा युवासंघ, अनेरास्ववियु, अखिल पाँचौं, अखिल क्रान्तिकारीलगायत युवा तथा विद्यार्थीहरुले भाग लिएका थिए । घेराउ कार्यक्रमको नेतृत्व युवासंघका अध्यक्ष पहारी र अखिलकी अध्यक्ष नवीना लामाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्