युवा परिषदमा माधव ढुंगेलका नौ योजना


नेकपा (एमाले) का वैकल्पिक केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला पाँच महिनाअघि राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त भएका हुन् । करिब एक महिना सिंहदरबारभित्रै रहेको ऊर्जा मन्त्रालयको एउटा कोठामा कार्यालय सञ्चालन गरेका ढुंगलको कार्यालय अहिले त्रिपुरेश्वरस्थित चार तले घरमा सरेको छ । कार्यकारी उपाध्यक्ष ढुंगेलसँग पद सम्हालेपछिका हैरानी, नयाँ संस्था स्थापना गर्नुपर्दाका चुनौती र उनको आगामी योजनाका बारेमा पहिलो न्युजका कार्यकारी सम्पादक मोहन बाँस्तोलाले लामो कुराकानी गरेका थिए । प्रस्तुत छ, उनले सुनाएका भावी नौ योजनाः 

१ कार्यालय व्यवस्थापन

म राष्ट्रिय युवा परिषद् उपाध्यक्ष नियुक्त भएर आएपछि सबैभन्दा पहिलो काम कार्यालय र कर्मचारी व्यवस्थापनमा निकै मिहिनेत गर्नुपर्ने भयो । त्यो काम सम्पन्न भएको छ । अहिले ६० जिल्लामा अध्यक्ष नियुक्त भएका छन् । बाँकी जिल्लामा पनि अध्यक्ष नियुक्त गर्ने र कार्यालय व्यवस्थापन गर्ने काम बाँकी छ । त्यसैले सबैभन्दा पहिलो र मुख्य काम नै कार्यालय व्यवस्थापन गर्नुपर्ने रहेको छ ।

२. एक वडा, १० युवा अभियान

मेरो दोस्रो योजना यो वर्ष युवाको उद्यमशीलता र आर्थिक सम्मृद्धिमा ध्यान दिने र त्यही हिसावका कार्यक्रमहरु सञ्चालन गर्ने रहेको छ । यसका लागि हामीले राज्यबाट धेरै ठूलो रकम निकासा पाउन सकेका छैनौँ । तर, जति रकम छ, त्यही अनुरुप हामीले ‘एक वडा, १० युवा’ कार्यक्रम अघि सारेका छौँ । त्यो कार्यक्रमलाई ‘साइकल’मा अघि बढाउने योजना छ । पहिलो पटक हामीले कम्तीमा २ सय ४० निर्वाचन क्षेत्रसम्म लैजाने तयारी गरेका छौँ । दोस्रो वर्ष यही कार्यक्रम हरेक गाविस र वडातहसम्म लैजाने योजना छ ।

पहिलो वर्ष हरेक निर्वाचन क्षेत्रमा पाँच–पाँच लाख विनियोजन गर्ने योजना बनाएका छौँ । त्यो पनि कार्यक्रम हेरेर र मूल्याङ्कन गरेर दिने तयारी गरेका छौँ । त्यो रकममा दोस्रो वर्षसम्म निगरानी गर्छौ । तेस्रो वर्षबाट उसले ३३ प्रतिशतका हिसावले राज्यको लगानी किस्तामा फिर्ता गर्न थाल्नुपर्छ र पाँच वर्षसम्ममा पूरै लगानी फिर्ता गर्नुपर्छ । त्यो पाँच वर्षमा राज्यको लगानी फिर्ता गर्ने मात्र होइन, ऊ सफल उद्यमी पनि बन्नुपर्छ । यसरी पाच वर्षसम्म फिर्ता आएको रकमले अरु अरु एक–दुई वर्ष पनि लगानी गर्न सकिन्छ । यसरी ४० हजार वडामा युवालाई रोजगारी दिन सकेको अवस्थामा चार लाख युवाले रोजगारी पाउँछन् । त्यति मात्र होइन, यो योजनाबाट चार हजार आयोजना अघि बढाउन सकिन्छ । हामीले यो उद्यमशीलता विकास गर्न सक्यौँ भने प्रत्येक वर्ष बैदेशिक रोजगारीमा जाने पाँच लाख युवालाई स्वदेशमै रोजगारी दिन सकिन्छ । यही कुरालाई ख्याल गरेर यो वर्ष २ सय ४० निर्वाचन क्षेत्रमा यो योजना केन्द्रित गरेका छौँ ।

३. सात प्रदेशमा सात मेगा प्रोजेक्ट

सरकारले सञ्चालन गरेका जनकपुर चुरोट कारखानादेखि, नेपाल वायुसेवा निगमसम्म घाटामा गएको विगतलाई मध्यनजर गरेर युवा परिषद्ले नेपाल सरकारसँग कम्तीमा सात प्रदेशमा सातवटा मेगा प्राजेक्ट ‘प्राइभेट, पब्लिक, पार्टनसीप’को अवधारणामा सञ्चालन गर्ने योजना प्रस्तुत गरेका थियौँ । त्यसमा राज्यका तर्फबाट युवा परिषद्मार्फत ५० लाख लगानी गर्ने र ५० लाख निजी क्षेत्रबाट खोज्ने योजना युवा परिषद्ले बनाएको छ । त्यो योजनामा त्यही रोजगारी गर्नेको पनि निश्चित लगानी राख्ने र उसलाई पनि अपनत्वसहित सेयर होल्डर बनाउने तयारी गरेका छौँ । त्यसमा अनुगमन, मूल्याङकन र सुरक्षाको जिम्मा युवा परिषद् वा राज्यले लिन्छ भने व्यवस्थापनको जिम्मा निजी क्षेत्रले लिनेछ । यसले नेपालको आर्थिक सम्मृद्धिमा सकारात्मक भूमिका खेल्ने हामीले अनुमान गरेका छौँ ।

४. युवा उद्यम तथा सामाजिक सुरक्षा कोष स्थापना

अहिले प्रत्येक दिन जहाज चढेर विदेश गएका युवा बाकसमा सुतेर फर्किने गरेका छन् । कतिपय अवस्थामा उनीहरुलाई उद्धार गर्न राज्यले पनि तत्काल बजेट जुटाउन नसक्ने अवस्था हुन्छ । कोष स्थापना गरेर त्यस्तो अवस्थामा भएको रकम ती युवाहरुको उद्धार र सुरक्षामा खर्च गरिनेछ । त्यसकारण त्यो कोषमा वैदेशिक रोजगारीमा रहेका युवाले आफ्नो कमाइको एक प्रतिशत रकम जम्मा गर्नुपर्ने हुन्छ । त्यति मात्र होइन, देशभित्रै पनि जोखिममा परेका युवाको सुरक्षामा त्यो रकम खर्च गरिनेछ । त्यसैले स्वदेशमै रहेका युवाले पनि आफ्नो कमाइको एक प्रतिशत रकम त्यो कोषमा जम्मा गर्नेछन् ।

made

त्यही रकम जुटाउनका लागि हामीले विश्व युवा सम्मेलनको तयारी गरेका छौँ । त्यति मात्र होइन, हामीले गैरआवासी नेपालीहरुलाई पनि त्यो कोषमा रकम जम्मा गर्न आग्रह गर्नेछौँ । त्यहाँ राज्यको पनि सहयोग रहनेछ । यसरी हामी अघि बढ्यौँ भने केही वर्षपछि कोषमा राज्यको सहयोग आवश्यक नै पर्ने छैन ।

५. युथ ट्यालेन्ट हन्ट कार्यक्रम

हामी तलबाट प्रतिस्पर्धा गराएर युवाहरुको प्रतिभाको खोजी गर्नेछौँ र अन्तिममा १० उत्कृष्ट छान्नेछौँ । त्यसमा विभिन्न विधाहरु रहनेछन् । यसले अबका केही वर्षपछि योजना आयोगको विज्ञ खोज्न २० वर्षअघिको व्यक्ति खोज्न जाने परम्पराको अन्त्य हुनेछ । हामीले हरेक क्षेत्रका विज्ञ नयाँ पुस्ताबाटै खोज्न सक्छौँ । नेपाल बनाउने सपना नयाँ पुस्ताले के देखेको छ । ती युवाले नै पूरा गर्नेछन् । राज्यलाई आवश्यक जनशक्ति खोज्न कतै जानु नपर्ने अवस्था पनि त्यो कार्यक्रमले सिर्जना गर्नेछ ।

६. युवाहरुको एक दिन

युवाहरुको एक दिन यो स्वयम्सेवकीय काम हो । युवाको विशेष क्षमताको विशेष सहयोग त्यो अभियानमा रहनेछ । जस्तै– आईटी, व्यवस्थापन, हेल्थ डाक्टरलगायत जुन क्षेत्रमा विज्ञता प्राप्त गरेका युवा छन्, उनीहरुले युवा परिषद्को व्यवस्थापनमा एक दिन स्वयम्सेवा गर्नेछन् । युवाहरुको राज्यलाई योगदान कस्तो छ भन्ने कुराको नमुना त्यहाँ देखिने छ । यससँगै युवा प्रतिभाको खोजी गर्नेलगायतका योजना पनि युवा परिषदसँग छन् ।

७. आफ्नै तालिम केन्द्र

अहिले हामीले काभ्रे जिल्लाको पाँचखालमा १ सय १३ रोपनी जग्गालाई युवा परिषद्को मातहतमा ल्याउने तयारी गरेका छौँ । केही प्राविधिक कारणले रोकिएको छ । त्यहाँ युवाहरुको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने र उनीहरुलाई विभिन्न खाले तालिम दिने युवा तालिम केन्द्र रुपमा विकास गर्ने तयारी भएको छ ।

८. युवा परिषद्को आफ्नै भवन

युवा परिषद्ले आफ्नै भवन निर्माणका लागि बबरमहलमा गुठी संस्थानको जग्गा हेरेको छ । गुठी सस्थानको बोर्डले निर्णय गरेर प्रक्रिया अघि बढाएको छ । त्यो जग्गा निकै महंगो भएकाले राज्यले हामीलाई सहयोग गरेको अवस्थामा खरिद गरेर त्यही जग्गामा आफ्नै भवन बनाउने योजना अघि बढाएका छौँ ।

९. विदेश होइन, नेपालमै केही गरौँ

‘विदेश होइन, नेपालमै केही गरौँ’ भन्ने मूल नारासहित युवा परिषद्ले केही योजनाहरु अघि सारेको छ । युवा स्वरोजगार अभियानका लागि ३ सय ६५ दिनै हरियो घाँस, इन्धनको बचत, माटो बिनाको हरियो तरकारी, खोलामा सफा पानी, हावाबाट खानेपानी, छानाको पानीबाट सिचाइँ, घरमा प्रयोग हुने इन्धनमा आत्मनिर्भर, अमूल्य बृक्षारोपण जस्ता योजना पनि युवा परिषद्ले अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्