युवा र विद्यार्थीले आज पनि गरे विरोध प्रदर्शन


 

२७ मंसिर । संविधान संशोधन प्रस्ताव विरुद्ध ५ नम्बर प्रदेशका जनता अहिलेसम्मै आन्दोलित छन् । संशोधन प्रस्तावको विरुद्धमा काठमाडौंका युवा तथा विद्यार्थीहरु पनि आन्दोलनमा उत्रिरहेका छन् ।

नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी निकट युवा तथा विद्यार्थी सङ्गठनका कार्यकर्ताहरुले संविधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितमा नरहेको जनाउँदै सोमबार माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म ¥यालीसहित विरोध प्रदर्शन तथा सभा गरेका छन् ।

सो विरोध सभामा बोल्दै युवा सङ्घका अध्यक्ष राजीव पहारीले हिमाल, पहाड र तराईमा बसोबास गर्ने नागरिकलाई एकताबद्ध गरी प्रदेशको सीमाङ्कन गर्नुपर्नेमा जोड दिएका थिए । उनले मिलेर बसेका नागरिकबीच भावनात्मक रुपमा अलग हुने गरी संविधानमा संशोधन गर्न नहुने बताएका थिए ।

राष्ट्रिय जनमोर्चा निकट युवा सङ्गठनका अध्यक्ष तिलक थापाले मुलुकमा विदेशीको चाहना र हस्तक्षेप बढाउन ल्याइएको संविधान संशोधन प्रस्तावको अहिले औचित्य नरहेको बताउँदै त्यस्तो प्रस्ताव अविलम्ब फिर्ता लिनुपर्ने बताएका थिए ।

अनेरास्ववियुका सचिव आरसी लामिछानेले देशमा स्थानीयलगायत तीनवटा निर्वाचन गरी संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा ल्याइएको सो प्रस्तावले निर्वाचन हुने वातावरणमा अवरोध पु¥याएको र मुलुकमा राजनीतिक अन्योलता थपेको विचार राखेका थिए ।

सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएपछि सो प्रक्रियामा असहमत रहेका युवा तथा विद्यार्थीले विभिन्न चरणमा विरोध तथा आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्