युवा–विद्यार्थीले आन्दोलन चर्काउने, आज थरुहटको कैलाली बन्द


२४ मंसिर । संविधान संशोधन विरुद्ध विगत नौ दिनदेखि आन्दोलनमा उत्रिएको संयुक्त युवा तथा विद्यार्थी संगठनले संविधान संशोधन प्रस्तावको विरोधमा थप आन्दोलनको घोषणा गरेका छन् । व्यवस्थापिका–संसद्का संशोधन प्रस्ताव दर्तालगत्तै आन्दोलित भएका उनीहरुले शुक्रबार युवा सङ्घ नेपालको कार्यालयमा पत्रकारसम्मेलन गरी थप आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनरत युवा–विद्यार्थीहरुले प्रस्तावको विरोधमा शुक्रबारदेखि सोमबारसम्म विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

आन्दोलनको नयाँ कार्यक्रममा आज नयाँ बानेश्वरमा खेलाडीको प्रदर्शन गरिनेछ भने शनिबार वैदेशिक हस्तक्षेप रोक्नका लागि परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, आइतबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म दौड जुलुस र सोमबार संशोधनका विपक्षमा सडक बहस गर्ने घोषणा गरिएको छ ।

अनेरास्ववियुकी अध्यक्ष नविना लामाले संशोधनले देश विघटन गराउने भएकाले नेपाललाई एउटै स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आन्दोलन गर्नुपरेको बताइन् । युवा सङ्घका अध्यक्ष राजीव पहारीले संशोधन विधेयकले नेपालको राष्ट्रिय अखण्डतामाथि आँच आउने भएकोले राष्ट्र बचाउनका लागि आन्दोलन गर्नुपरेको बताए । उनले विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी राखिने बताए ।

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष निरज लबजुले संशोधनले मुलुकको स्थापित सामाजिक सद्भावलाई बिथोल्ने भएकाले प्रस्ताव फिर्ता लिनुपर्ने बताएका थिए ।

यसैगरी, सङ्घीय गठबन्धन तथा थरूहट थारूवान् सङ्घर्ष समितिले शुक्रबार कैलाली बन्द गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले ल्याएको अपूरो संविधान संशोधनको विरोधमा व्यापार, व्यवसाय, उद्योग, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी संस्था तथा यातायात एक दिनका लागि बन्द गरिदिन अनुरोध गरिएको एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सङ्घीय गठबन्धन तथा थरूहट, थारूवान् सङ्घर्ष समिति कैलालीका कार्यवाहक अध्यक्ष कृष्णकुमार चौधरीले बन्दको अवज्ञा गरी भएको क्षतिमा स्वयम् व्यवसायी वा राज्य जिम्मेदार हुनेसमेत बताएका छन् । बन्दमा अति आवश्यकीय सवारीसाधन एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी, पत्रकार, कूटनीतिक नियोगलाई भने छुट गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्