युवा संघका केन्द्रीय सदस्य बुढाथोकीमाथि खुकुरी प्रहार, उपचारका लागि लखनउ लैजाने तयारी


१४ पुस ।  युवा संघ नेपालका नेतामाथि निरन्तर आक्रमण सुरु भएको छ । रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको एक हप्ता नवित्दै फेरि युवा संघका केन्द्रीय कमिटी सदस्य  सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ ।

युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले दिएको जानकारी अनुसार बुढाथोकीलाई राती ९ बजे बाँकेको कोहलपुरमा खुकुरी प्रहार भएको हो । उनको घाँटीमा खुकुरी प्रहार भएको छ । उनलाई तत्कालै हेलिकोप्टरबाट काठमाडौँ ल्याउने तयारी भए पनि संभव नभएकाले उनलाई लखनउ लैजाने तयारी भएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको कटुवालले जानकारी दिए ।

‘नेकपा (एमाले)को आन्दोलनबाट त्रसित भएकाहरुले आन्दोलन कमजोर बनाउँन निरन्तर युवा संघका नेता–कार्यकर्तामाथि प्रहार प्रहार गरेका छन्,’ कटुवालले भने, ‘यस्ता प्रहारले हाम्रो आन्दोलन कमजोर बन्दैन ।’

उनले बुढाथोकीको हत्या प्रयास गर्ने हत्यारालाई सरकारले तत्काल खोजि नगरे कडा आन्दोलन गर्ने चेतावी दिए । उनले राष्ट्रघाती संविधान संशोधन प्रस्तावको विरुद्धमा एमाले उभिएपछि निरन्तर एमालेमाथि प्रहार भएको भन्दै तत्काल त्यस्ता कार्य बन्द गर्न चेतावनी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्