युवा संघको कार्यक्रममा भाषण गर्दा कांग्रेस नेताले निरन्तर ताली पाएपछि…


९ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उपस्थित भएर एमाले नेताकै प्रशंसा गरेपछि निकै ताली पाएका छन् ।

फरक पार्टीका कार्यक्रममा अतिथिका रुपमा उपस्थित भएर अतिथिकै आशनबाट गालीगलौज गर्ने परम्परलाई तोड्दै शर्माले भने बिहीबार भने एमाले नेता त्यसमा पनि आफ्नै प्रतिष्पर्धी नेताको प्रशंसा गरे । संविधानसभाको दोस्रो निर्वाचनमा झापा क्षेत्र नम्बर एकबाट नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्यको उम्मेदवार बनेका शर्माको प्रमुख प्रतिस्पर्धी एमालेका रविन कोइराला थिए ।

शर्माले युवा संघले आयोजना गरेको कार्यक्रममा उपस्थिति भएर सुरुमै भने– ‘म झापा क्षेत्र नम्बर एकबाट उम्मेदवार बन्दा रविनजीको प्रशंसा नै गर्थे । चुनावी मैदानमा त आफ्नो प्रमुख प्रतिष्पर्धीको प्रशंसा गर्ने म यहाँ कसैको पनि आलोचना गर्दिन ।’ शर्माले त्यति भन्न नभ्याउँदै युवा संघको कफन बाँधेर हलभरी खचाखच भएका कार्यकर्ताले ताली बजाए । तालीको ताल मत्थर हुन नभ्याउँदै मञ्चबाट अगाडी हातले इशारा गर्दै शर्माले फेरि थपे–‘तपत्याए राजुजी (युवा संघका सचिवालय सदस्य तथा झापाका युवा नेता)लाई सोध्नु ।’

नभन्दै करिब २० मिनेट बोलेका शर्माले कुनै पनि दल र नेताको आलोचना गरेनन् । बरु मन्तव्यभरी नै निरन्तर ताली पाइरहे । मञ्चमा बसेका एमाले सचिव योगेश भट्टराई मात्र होइन, युवा संघका पूर्व अध्यक्ष महेश बस्नेत, युवा संघका वर्तमान अध्यक्ष राजीव पहारी, उद्योगी एलपी साँवा, युवा संघका पूर्व महासचिव निरज युवा संघ उपाध्यक्ष दिल पन्त, रमेश पौडेल, महासचिव किरण पौडेल, सचिवहरु नरेश शाही,  माधव बास्तोला, युवा संघ प्रवक्ता प्रभातविक्रम कटुवाललगायत पनि उनको भाषण एक टकले सुनिरहे ।

तीन दिन पार्टीका लागि चार दिन रोटीका लागि

बोल्ने क्रममा शर्माले अब सबै समय पार्टीका लागि नभई हप्तामा तीन दिन मात्र पार्टीलाई समय दिनुपर्नेमा जोड दिए । उनले बाँकी चार दिन आफ्नो रोजी–रोटीलाई दिनुपर्ने तर्क प्रस्तुत गरे । ‘अहिले हरेक युवाको सानो सपना मलेसिया, ठूलो सपना अमेरिका बनेको छ,’ शर्माले भने, ‘यसको अन्त्यका लागि अब युवाहरुले रोजगारी र श्रम–सिर्जनामा ध्यान दिनुपर्छ ।’

उनले पार्टी राजनीतिका लागि घरगृहस्थी बर्बात बनाउने कुरा उचित नभएको भन्दै युवाहरुलाई श्रममा लाग्न प्रेरणा दिए । ‘अहिले २५ हजारको जागरि खाएर २८ हजार खर्च गरेर राजधानीमा बस्नुको बाध्यतालाई राज्यले समायोजन गर्न सकेन भने समस्या हुन्छ,’ उनले भने, ‘यसको अन्त्यका लागि सबै काम गर्न सक्छु भन्ने होइन केही निश्चित काम गर्न सक्छु भन्ने ‘सर्टिपिकेट’को आवश्यक छ ।’

मन्तव्यको अन्तिमतिर ‘म सगरमाथाको देशको मान्छे , अहिले म जीन्दगीको उचाई खोज्न खाडी आएको छु’ कविता सुनाएर शर्माले हलभरीका मान्छेलाई मात्र भाबुक बनाएनन् । खाडीमा जीन्दगी खोज्दै गरेका युवाको पीडा कवितामार्फत सुनाएर उनले मञ्चमा बसेका नेताहरुलाई पनि भाबुक बनाए ।

कार्यक्रममा पूर्वमन्त्री एवम् युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतले टेण्डर कब्जा गर्ने युवाका दिन गएको दाबी गरे । युवा संघका अध्यक्ष राजीव पहारीले स्वदेशी उत्पादनमा जोड दिने बताए । श्रम सचिव विष्णुप्रसाद लम्सालले सबै जग्गा बाँझो नराख्ने हो भने १२ लाख युवाले रोजगारी पाउने बताए । कार्यक्रममा बैदेशिक रोजगार व्यवसायसँग सम्वन्धित रहेका उद्यमी एलपी साँवाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्