युवा संघमा फेरि लफडा, पन्त समूहले बैठक बहिष्कार गर्दा इञ्चार्ज बने मूकदर्शक


२६ माघ । नेकपा (एमालें) को भ्रातृ संगठन युवा संघ नेपालमा फेरि लफडा भएको छ । निकै लामो समयको विवादपछि एक ठाउँ भएको युवा संघमा फेरि विवाद सुरु भएको हो ।

युवा संघका महासचिव राजीव पहारी युवा संघ आयोजक कमिटीको अध्यक्ष भएसँगै केही हदसम्म विवाद साम्य भएको थियो । तर, फेरि विवाद सुरु भएपछि थप समस्या सिर्जना भएको छ । ललितपुरको तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पहारी र उपाध्यक्ष दिलु पन्त समूहबीच अन्तर जिल्ला कमिटीको विषयमा विवाद भएपछि बैठक नै अन्योलमा परेको छ । वैठकले नवौँ महाविधेशन मिति वैशाख अन्तिमतिरका लागि तोक्ने तयारी गरेको थियो ।

तर, पहारी समूहले पार्टीको विधिविधानलाई नै मिचेर अन्तर जिल्ला कमिटीलाई सक्रिय बनाउन खोजेको भन्दै पन्त समूहले बैठक बहिष्कार गरेपछि समस्या भएको हो । ‘हामीले विधि–विधानमा युवा संघ सञ्चालन गर्न आग्रह गर्यौँ,’ उपाध्यक्ष पन्तले भनिन्, ‘तर, उहाँहरु पार्टीलाई ‘वाइपास’ गरेर अघि बढ्न थालेपछि हामी बैठक बहिष्कार गर्न बाध्य भयौँ ।’

पहिलो न्युजले फोन गर्दा पन्तले आफूहरु अहिले सडकमै रहेको भन्दै कुनै स्थान खोजेर छुट्टै बैठक बस्ने तयारीमा रहेको जानकारी दिइन् । ‘अध्यक्ष चुनिएको १७ महिनासम्म बैठक नबसेकाले महाधिवेशन नै अन्योलमा परिरहेका बेला जारी केन्द्रीय कमिटी बैठकले महाधिवेशन मिति तोक्ने एजेण्ड नै बनाएको थियो,’ पन्तले भनिन्, ‘तर, पार्टीले दिएको निर्देशनलाई नै ‘वाइपास’ गरेर संगठन सञ्चालन गर्न थालेपछि हामीलाई मान्य भएन ।’ यता पहारी समूहले पनि समस्यालाई हल गरेर जान सकिने बताएको छ ।

 इञ्चार्ज टोलाएपछि…

युवा संघको इञ्चार्ज अहिले महेन्द्रबहादुर पाण्डे छन् । उमेरका हिसावमा पनि बुड्यौलीले छोएका पाण्डेलाई युवा संघको इञ्चार्ज बनाएपछि त्यसैबेला पनि हस्यौँली भएको थियो । युवा संघका पुराना इञ्चार्जको विदाई र नयाँ इञ्चार्जको स्वागतका लागि युवा संघले आयोजना गरेको कार्यक्रममा पाण्डे स्वयमले आफू उमेर बुढो र केश फुलेको भए पनि विचारमा आफू युवा रहेको तर्क गरेका थिए । तर, बैठकमा भने पाण्डेले युवापन देखाउन नसकेको पन्त समूहको गुनासो छ । ‘युवा संघका साथीहरुले विधान बाहिर गएर संगठनलाई चलाउन खोज्दा इञ्चार्जको दवावपूर्ण भूमिका भएन,’ पन्तले भनिन्, ‘आजको बैठकमा पनि उहाँले हामीले बहिष्कार गर्ने भन्दा बस्नु पनि भन्नु भएन, जानु पनि भन्नु भएन् । उहाँले टोलाएर मात्र हेर्नुभयो ।’
पन्त समूहले इञ्चार्जले समस्या समाधान गर्ने तर्फ भन्दा पनि चुपचाप लागेकाले पनि थप समस्या भएको गुनासो गरेको छ ।

प्रतिक्रिया दिनुहोस्