युवा संघको चेतावनीपछि तिवारी हत्याकाण्डको छानविन गर्न बन्यो उच्चस्तरीय आयोग


५ पुस । युवा संघ, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याबारे छानविन गर्न सरकारले उच्चस्तरीय छानविन आयोग गठन गरेको छ । नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो ।

सो समितिका सदस्यहरुमा राष्ट्रिय अनुसन्धान विभागका एआइजी यादवप्रसाद रेग्मी, एसएसपी मनोज न्यौपाने, गृहका उपसचिव शिवराज जोशी र गृहका प्रवक्ता बालकृष्ण पन्थी रहेका छन् । सो आयोगले डेढ हप्ताभित्र प्रतिवेदन बुझाउने छ ।

युवा संघ, नेपालले तिवारी हत्याकाण्डबारे मंगलबार ५ बजेसम्म उच्चस्तरीय छानविन आयोग गठन नगरे आन्दोलनमा उत्रिने जनाएको थियो । तिवारीको हत्याको विरोधमा युवा संघले मंगलबार रुपन्देही बन्दको आव्हान गरेको छ । यसैबीच, युवा संघले तिवारीको हत्यामा संलग्न दोषीहरुलाई नियन्त्रणमा लिई कारबाही गर्न मंगलबार गृहमन्त्री विमलेन्द्र निधिलाई ज्ञापन पत्र बुझाएको संघका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए । ज्ञापन पत्र बुझ्ने बेला गृहमन्त्रीले नेपाल प्रहरी, सशस्त्र र अनुसन्धान विभागका प्रमुखहरुलाई पनि मन्त्रालयमा बोलाएका थिए ।

सरकारले संविधान संशोधन विधेयक ल्याएर ५ नम्बर प्रदेशलाई टुक्र्याउने निधो गरेसँगै सो प्रदेशका बुटवललगायत अरु जिल्लाहरुमा तीन सातादेखि आन्दोलन चर्किएको थियो । तिवारीले सोही आन्दोलनमा सक्रिय रुपले नेतृत्व गरेका थिए ।

आन्दोलनमा सक्रिय तिवारीलाई सोमबार अपरान्ह करिब साढे तीन बजे रुपन्देहीको देवदह नगरपालिका–६, खैरेनीमा हिँडिरहेको बेला मोटरसाइकलमा आएका दुईजना व्यक्तिले गोली हानी हत्या गरेका थिए । तिवारीको हत्याको एमाले महासचिव ईश्वर पोखरेलले सोमबार नै घोर भत्र्सना गर्दै हत्याराहरुलाई तुरुन्त कारबाही गर्न माग गरेका थिए । राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र स्वाभिमानका पक्षमा सञ्चालित आन्दोलनमा तिवारी सक्रिय भन्दै महासचिव पोखरेलले त्यसमा संलग्न अपराधीहरुलाई तुरुन्त गिरफ्तार गरी कडा कानुनी कारवाही गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्