योगेश भट्टराईका दृष्टिमा ओली सरकार ढल्नुका चार कारण यस्ता छन्


७ भदौ । नेकपा (एमाले) सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमाले स्थायी कमिटी बैठकमा पार्टी भित्रका केही कमजोरीहरुलाई माझ्ने काम गरेको बताएका छन् । उनले कान्तिपुर एफएमको बिहानी कायक्रम ‘हेडलाइनर’मा कुराकानी गदै यस्तो बताएका हुन् ।

उनले पार्टी सरकारमा रहेका बेला पार्टी अध्यक्षको व्यस्थताका कारण बैठक बस्न र पार्टीका आन्तरिक कमीकमजोरीका बारेमा छलफल गर्न केही समस्या भएको भन्दै अहिले उपयुक्त समय निकाले मन माझ्ने काम भैरहेको पनि जानकारी दिए । कांग्रेस–माओवादी गठबन्धन फेरवदलका बारेमा पनि पार्टी भित्र केही बुझाइमा कमजोरी रहेको र बैठकले त्यसमा स्पष्ट भएको जानकारी दिए । ‘एमाले–माओवादीको गठबन्धन टुट्नुका मूख्य चार कारण छन् ।

पहिलो त एमालेको नेतृत्वमा सरकार बन्न नै नदिने खेलहरु भएको थिए । दोस्रो एमाले नेतृत्वको सरकारले लोकप्रीय काम गरेको देखेर मुख्य गरेर आगामी निर्वाचनमा एमालेसँग प्रतिष्पर्धा गर्ने गनेृ दललाई एमाले लोकप्रीय हुने भयो हामी प्रतिस्पर्धामा कमजोर हुने भयौँ भन्ने चिन्ता भयो र उनीहरु अत्तालिए ।

तेस्रो कतिपय क्षेत्रीय शक्तिहरुले संविधान जारी गरेदेखि नै आफ्ना स्वार्थका एजेण्डाहरु घुसाउन नसकेकोमा चिन्तित थिए,’ भट्टराईले भने, ‘ती क्षेत्रीय शक्तिलाई पनि एमालेको नेतृत्वमा सरकार भैरहने हो भने आफ्ना स्वार्थ पूरा गर्न अप्ठ्यारो हुने भएकाले उनीहरु पनि विकल्पको खोजीमा रहेका थिए । त्यसमा उनीहरुलाई अन्तराष्ट्रिय शक्तिको चलखेल पनि सहयोगी भयो ।’

भट्टराईले चौथो विकल्पमा नेकपा माओवादीको अस्थिर चरित्र पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नमा सहयोगी भएको दाबी गरे । ‘माओवादीको अवसरवादी चरित्र, पदलोलुप्ता र अस्थिर चरित्रले पनि निकै काम गरेको देखियो,’ उनले भने, ‘अस्थिर चरित्रको गाटी माओवादी भैदियो । अझ भन्ने हो भने माओवादी सबैको स्वार्थको गोटी बनिदियो र ओली सरकार ढल्यो ।’

उनले प्रचण्डले मागे जति सबै कुरा दिएको भए पनि एमाले–माओवादी गठबन्धनको प्रधानमन्त्री नबन्ने परिस्थित स्वयम् प्रचण्डले नै सिर्जना गरेको पनि दाबी गरे । ‘त्यस्तो अवस्थामा हामी प्रतिपक्षमा बसेरै संविधान निर्माणमा भूमिका खेल्छौ भनेर प्रचण्डलाई आफ्नो खुशी गर्न दिएका हौँ,’ उनले भने, ‘बैठकमा पनि त्यही निष्ष्कर्ष निकालेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्