योगेश भट्टराईको ३२ वर्षे मःमः प्रेम र जिम गुरुसँगको जम्काभेट


११ असोज ।  २०७३ असोज १० अपराह्न ३ बजे महासचिव कमरेड ईश्वर पोखरेलले पार्टी कार्यालयमा बोलाउनुभएको बैठक साँझ ६ः२० सम्म चल्यो । बैठक अति महत्वपूर्ण विषयमा थियो र छलफल पनि गम्भीर थियो ।

जसले गर्दा खाजातिर त्यति ध्यान गएन । सामान्य चिया र विस्कुटसँगै बैठक सम्पन्न भयो । बिहान ८ बजे घरमा खाना खाएर हिँडेको मेरा लागि त्यो समय भोकले निकै सताएको अवस्था थियो । बैठक सकेपछि म सिधै हानिए वेलनेस हेल्थ क्लब लाजिम्पाटतिर । भोकले क्वाँक्वाँ भइरहेको बेलामा केही नखाई एक्सरसाइज गर्नु राम्रो नहुने भएकाले केही खाजा खाने विचार गरें । रेस्टुरेन्टको भाइले सोधे– ‘के ल्याऊँ ?’ आम प्रचलनजस्तै मैले भने– ‘मःमः ल्याउनु न, तर छिटो है !’

केहीबेरमा मःमः मेरो टेबुलमा आयो । एकदुई गर्दै मःमःका डल्ला मुख हुँदै पेटतिर पठाइरहेको थिएँ, त्यहीबेला अगाडि उभिएर मैले मःमः खाइरहको हेरिरहको एउटा मानिसतिर आँखा लगाएको त मेरा जिम गुरु श्रीजेश श्रेष्ठ पो । गुरुले मःमः नखान उत्प्रेरित गरिरहनुहुन्छ । घरमा श्रीमतीले पनि मःमः कम गर्ने कुरामा जोड दिइरहेको सन्दर्भमा कहिलेकाहीँ ‘खाजा के खानुभयो ?’ भनेर श्रीमतीजीको प्रश्नमा मैले भन्ने गर्छु– ‘मःमः खाएको छैन ।’ तर, मैले ढाँटेको कुरा बुझ्न कुनै गाह्रो हुँदैन ।

मःमःसँग मेरो नाता गाँसिएको करिब ३२ वर्ष भयो । २०४१ सालमा बागबजारको एउटा सानो खाजा होटलमा पहिलोपटक मःमः मागेर खाँदा यति मीठो लाग्यो कि त्यसपछि बसेको मःमःसँगको प्रेम आजपर्यन्त जारी छ । कुनै मनमुटाव र असमझदारीविना आजसम्म चलिरहेको छ । योसँगको पारपाचुके मैले कल्पना गर्नै सक्दिनँ, तर मेरा गुरुको सल्लाह र निर्देशन ? सुरुमा महाबौद्धको एक तलामाथि थपीथपी मःमः खायो, जगको पानी घटघट पियो, काउन्टरमा प्रतिप्लेट रु. २ का दरले पैसा ति¥यो, बाटो लाग्यो ।

यो दिनचर्या पनि लामै चल्यो । सुरुसुरुमा मज्जाले पचाइयो, तर सधैं जित्न कहाँ सकिन्छ र ? ०४३ सालतिर टाइफाइडले झन्डै माथिको टिकट काटेको ! तर पनि छोडिएन । बसाइ कीर्तिपुर सर्यो त्यहाँ मःमः नपाइने तर खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै कीर्तिपुरदेखि घनाश्याम भुसाल, शंकर पोखरेलसहितका साथीहरू साझा बस चुँडेर रत्नपार्क आयो अनि कमलाक्षी गएर टोकन लिएर मःमः को लाइनमा बस्यो हातमा प्लेट लिएर उभिएरै खायो अनि खचाखच भरिएको मिनिबसमा कोचिएर कीर्तिपुर फर्कियो, यो क्रम पनि लामै चल्यो । धेरै पछि त्रिपुरेश्वरमा फास्ट फुड खुल्यो त्यसको मःमः पनि पेटभित्र निकै परेको छ ।

सुरुमा बफ मःमः नै मीठो लाग्ने । पञ्चायतविरोधी आन्दोलनका क्रममा पुलिस कस्टडी र जेलमा भएको बेला कहिलेकाहीँ भेट्न आउने साथीहरूले सोध्ने गर्थे– ‘के ल्याइदिऊँ ?’ विनाअलमल मुखबाट निस्किहाल्थ्यो– ‘मःमः ।’ राँगाको मासु सानै उमेरदेखि खाएकाले होला बफ मःमः प्रति कहिल्यै पनि दिगदिग लागेन, तर आजकाल भने अलि कस्तो कस्तो लाग्छ । मःमः बनाउनुभन्दा पहिले त्यसको अवस्था देखेर । त्यसैले, आजभोलि आम रूपमा चिकेन मःमः नै अर्डर गरिन्छ । छिटो, छरितो, मीठो, अडिलो मःमः । तर, गुरुको सल्लाह पनि नराम्रोचाहिँ होइन । त्यसैले, क्रमशः घटाउँदै छु भनेर गुरुलाई र श्रीमतीलाई भन्ने गरेको छु । हेर्दै जाऔं ।

गुरु श्रीजेश श्रेष्ठ अति नै मेहनती हुनुहुन्छ । हालै मात्र ६५ केजी समूहमा मिस्टर काठमाडौंको गोल्ड मेडल नै हात पार्न सफल हुनुभएको छ । त्यस अवसरमा गुरुका तर्फबाट क्लबमा चकलेट वितरण पनि भयो । गुरुले अब छिट्टै अन्तर्राष्ट्रिय स्तरमा मेडल ल्याउने घोषणा गर्नुभएको छ । शुभकामना छ– गुरु श्रीजेश ।

प्रतिक्रिया दिनुहोस्