योजना आयोगको उपाध्यक्षमा कँडेल नियुक्त


काठमाडौं, ११ वैशाख । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलवारको बैठकले कँडेललाई नियुक्त गरेको हो ।

नेकपा एमालेको पाचौं महाधिवेशनयता लगातार केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्षसमेत रहेका कँडेल अर्थविद मानिन्छन् । उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका थिए ।

त्यस्तै, आयोगको सदस्यहरुमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, डिलबहादुर गुरुङ, इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँल नियुक्त भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि  राज्यमन्त्री गोकुल बास्कोटाले बताए ।

कँडेल स्थायी कमिटीका पदेन सदस्य हुन् । २०२६ सालदेखि झापाली क्रान्तिकारी समूहसँग निकटताबाट कम्युनिस्ट राजनीतिमा लागेका कँडेल एमालेमा राजकीय अवसर नपाएका नेताका रुपमा चिनिन्छन् ।
धादिङ, बेनिघाट १, रिचोकटारमा २०१२ साल भदौ १५ मा जन्मिएका कँडेलले दिल्ली स्कूल अफ इकोनोमिक्सबाट कर्पोरेट ट्याक्सेसन एण्ड इनभेष्टमेन्ट बिहेवियर इन नेपाल विषयमा विद्यावारिधी गरेका छन् ।

आठौं महाधिवेशनका क्रममा संघीयता र विकेन्द्रीकरणले मुलुकलाई हित गर्दैन भन्दै वकालत गर्दै आएका उनका संघीयताका राम्रा नराम्रा पक्ष समेटिएको पुस्तकसमेत प्रकाशित छ ।  त्रिभुवन विश्वविद्यालयमा ३० वर्ष प्राध्यापन गरेका कँडेललाई धादिङ जिल्ला कमिटीले प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्