‘यो पुरस्कार मलाई आकाशको फलजस्तै लागेको थियो’


५ असोज । धेरैले अनुमान गरेभन्दा विपरीत ०७२ सालको प्रतिष्ठित मदन पुरस्कार सुदूरपश्चिमको धनगढीमा रहेर साहित्य–सिर्जनामा क्रियाशील रामलाल जोशीले पाएका छन् । मदन पुरस्कार गुठीले यो वर्षदेखि पुरस्कारका लागि सम्भावित कृतिहरु चयन गर्ने क्रममा छनोटमा परेका सात कृतिमध्ये जोशीको कथाकृति ‘ऐना’ले सो पुरस्कार पाएको हो । गुठीको चयनमा परेका अरु कृतिहरुमा बुद्धिसागरको ‘फिरफिरे’, नीलम कार्कीको ‘चीरहरण’, घनश्याम खड्काको ‘निर्वाण’, सरिता तिवारीको ‘प्रश्नहरुको कारखाना’, भुवनहरि सिग्देलको ‘आमोई’ र दामोदर पुडासैनीको ‘सिमानाको रङ्ग, सिमानाको तरङ्ग’ थिए ।

पचासको दशकदेखि लेखन क्षेत्रमा क्रियाशील जोशीको जन्म ०३१ साल फागुन १७ गते डोटीको कानाचौर–७, कोटिलामा भएको हो । ‘ऐना’ सहित उनको अहिलेसम्म दुई वटा कृति मात्रै प्रकाशित भएका छन् । जसमा, अर्को ‘हत्केलामा आकाश’–०५७ (गजलसंग्रह) हो । सुदूरपश्चिममा रहेर त्यहीँका सामाजिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक विषयहरुलाई आख्यानमा उतार्न सक्षम यो वर्षको मदन पुरस्कार विजेता जोशीसँग विवश वस्तीले गरेका कुराकानी ः

तपाईलाई ०७२ सालको मदन पुरस्कार प्रदान गर्ने घोषणा भएको छ । सुदूरपश्चिममा रहेर साहित्य लेखनमा क्रियाशील भइरहेकै बेला देशकै प्रतिष्ठित साहित्यिक पुरस्कार पाउँदा कस्तो अनुभूति भइरहेको छ अहिले ?

यो वर्षको मदन पुरस्कार पाउँदा म हर्षित छु । खासगरी, पछिल्लो समयमा नेपाली समाज, राजनीति, प्रशासनिक क्षेत्र, साहित्यलगायत हरेक क्षेत्रमा विसंगति व्याप्त रहेको छ । हरेक क्षेत्रमा भनसुन, सोर्सफोर्स, चाकडीजस्ता विकृति देखिएको छ । यस्तो स्थितिले मोफसलका स्रष्टाहरुमा निराशा र कुन्ठा व्याप्त थियो । अझ, मोफसलका स्रष्टाहरुमा ‘हामी साहित्यको मूलधारमा आउन सक्दैनौं, पुरस्कार त अझ टाढाकै विषय हो’ भन्ने सोचाइ थियो ।

तर, मोफसलका रहेका स्रष्टाहरुमा व्याप्त कुन्ठा, भ्रमलाई यस पटक मदन पुरस्कार गुठीले चिरिदिएको छ । दूरदराजमा रहेर सिर्जना गरे पनि कुनै न कुनै संस्थाले सही मूल्यांकन गर्दोरहेछ, सही मूल्यांकन गर्ने निकाय अझै पनि जीवितै रहेछ भन्ने मलाई बोध भइरहेको छ अहिले ।

विगत वर्षहरुमा मदन पुरस्कार पाउनका लागि लेखक÷कविहरुले दौडधुप गर्ने र पुरस्कार छनोट समितिमा रहेकाहरुको दैलो चहार्ने गरेको कुरा उठ्ने गरेको थियो । तपाईले कुनै दौडधुप वा भनसुन गर्नु भएन ?

हाम्रो समाजमा पुरस्कार प्राप्तिका लागि दौडधुप चल्ने, आफ्नो वृत्तका व्यक्तिलाई दिने, भनसुन चल्ने, सोर्सफोर्स लाग्ने कुरा मैले पनि सुन्दै आएको हुँ । तर, मैले धनगढीजस्तो सुदूरपश्चिमको एउटा कुनामा बसेर सिर्जना गर्दै आएँ । मलाई आफ्ना रचनाहरु प्रकाशन गर्नै गाह्रो थियो । यस्तो स्थितिमा मैले नेपाली साहित्यकै ठूलो पुरस्कार प्राप्तिका लागि दौडधुप गर्नु, भनसुन गर्नु आफैमा हाँस्यास्पद कुरा हुन्थ्यो । मलाई कसले पत्याउला ? मैले किन भनसुन गर्नुपर्ला ? भन्ने लागिरहन्थ्यो र म निरपेक्ष रुपमा बसिरहेँ ।

यद्यपि, एउटा झिनो आशा त कुनै पनि स्रष्टालाई भइहाल्छ । हरेक स्रष्टा त्यो सम्मानित पुरस्कारसित जोडिन चाहन्छन् । तर मलाई पुरस्कार पाइहाल्छु भन्ने अपेक्षा र आशा थिएन र दौडधुपमा पनि लागिनँ । जहाँ मेरो पहुँच छैन, जहाँ मेरो सोर्सफोर्स चल्दैन, त्यस्तो ठाउँमा लाग्नुको मैले औचित्य देखिनँ र मैले कुनै दौडधुप गरिनँ । मदन पुरस्कार मलाई आकाश फलजस्तै लागेको कारण दौडधुप गर्न उचित देखिनँ ।

पुरस्कार लागि चयन भएका सात वटा कृतिमा तपाईको ‘ऐना’ पनि परेपछि केही अपेक्षा त बढेको थियो होला नि ?

जब मदन पुरस्कार गुठीले सात वटा कृति पुरस्कारका लागि छनोटमा पा¥यो र पद्मश्री पुरस्कारले पनि पाँच वटा कृति छनोट गर्दा ‘ऐना’ प¥यो । त्यसले मलाई केही आशा भने जगाएको थियो । अझ, धेरै आशा त के ले पनि जगायो भने, पूर्व मेचीदेखि पश्चिमको महाकालीसम्मका साहित्यका सचेत पाठक, समीक्षक र शुभेच्छुकहरुले मेरो कृति ‘ऐना’ प्रति जसरी सकारात्मक प्रतिक्रिया जनाउनुभयो, त्यसले मलाई हौसला दिनुका साथै पुरस्कृत पनि भइहाल्छ कि भन्ने झिनो विश्वास भने ममा पलाएको थियो ।

मदन पुरस्कार गुठीले यही वर्षदेखि पुरस्कारयोग्य कृतिहरुको सूचि निकाल्ने परम्परा सुरु गरेको छ, यसलाई तपाईले कसरी हेर्नुभएको छ ?

साहित्य क्षेत्रमा यो नौलो र प्रशंसनिय काम हो । विगतका वर्षहरुमा एकैचोटि घोषणा हुन्थ्यो । अर्कोतिर, मदन पुरस्कार नेपाली साहित्यको यति ठूलो पुरस्कार हो र यसले यति धेरै सर्वोच्चता कायम गरेको छ कि, यो पुरस्कार पाउने लेखक र कृतिलाई नेपाली समाजले फरक दृष्टिकोणले हेर्ने परम्परा नै बसेको छ ।

हरेक स्रष्टा यो पुरस्कार पाउन लालायित रहन्छन्, यो पुरस्कारसित जोडिन रुचाउँछन् । विगत वर्षहरुमा एउटा मात्रै कृति पुरस्कृत भएको घोषणा हुन्थ्यो, त्यसले पुरस्कृत कृतिसँगैका प्रतिस्पर्धी कृतिहरुबारे केही जानकारी हुँदैनथ्यो । तर, यो वर्षदेखि पुरस्कृत कृतिसँगैका प्रतिस्पर्धी कृतिहरु पनि सार्वजनिक गर्न थालिएको छ, यो प्रशंसनिय कार्य हो । पुरस्कृत हुने कृति त भइहाल्यो, अरु कृतिहरु पनि पुरस्कृत कृतिकै हाराहारी हुन्छन् । यसले साहित्यको बजारलाई विस्तार र वृद्धि गर्ने काम गर्छ ।

यस पटकको मदन पुरस्कार काठमाडौंमा बसेर हल्लाखल्ला गर्ने र पुरस्कारका लागि लबिङ चलाउने स्रष्टाहरुले पाएनन्, बरु सुदूरपश्चिममा बसेर कलम चलाउने तपाईले पाउनुभयो । मदन पुरस्कार गुठीले तपाईलाई पुरस्कृत गरेर सुदूरपश्चिमप्रति दयाभाव देखाएको हो जस्तो लाग्छ ?

मलाई यो पुरस्कार क्षेत्रीय हिसाबले, पिछडिएको ठाउँ एवं सुदूरपश्चिम अगाडि नआएको कारण ठम्याएर दिएको जस्तो लाग्दैन । तर, हाम्रो कुन्ठा र अविश्वासलाई मदन पुरस्कारले चिरेको छ जस्तो लागेको छ । किनकि, मदन पुरस्कारसँग जोडेर विगतमा सानातिना विवादहरु पनि देखिन्थे । चर्चा÷परिचर्चाहरु पनि सुनिन्थे । ती विवाद र चर्चाहरु सही हुन् वा झुठा थिए, त्यो छुट्याउन समय लाग्ला । तर, जुन मानिसहरुमा मदन पुरस्कारप्रति विश्वास थियो, त्यो विश्वासलाई अझ जगाउने काम भएको छ ।

यो पुरस्कार पाएपछि मलाई के अनुभूति भएको छ भने, कसैलाई पनि मोफसल भनेर, दूरदराजका भनेर, सुदूरपश्चिमका भनेर पन्छाउन नसकिँदो रहेछ, राम्रा सिर्जना गर्ने त्यस्ता ठाउँका प्रतिभाहरु पनि अगाडि आउन सक्दा रहेछन् । तसर्थ, मोफसल भन्दैमा मदन पुरस्कारले सहानुभूति दिने, पाठकले सहानुभूति दिने भन्ने कुरा हुँदैन । मोफसल, दलित, जनजाति भनेर कसैले पनि सहानुभूति दिन्छन् भन्ने कुरालाई म स्वीकार्दिनँ ।

‘ऐना’ ले नै यो वर्षको मदन पुरस्कार पाउनुपर्ने कारण चाहिँ के थियो ? मूल्यांकनकर्ताहरुले तपाईको कृतिमा के त्यस्तो देखेका हुन सक्छन्  ?

मेरो कथाको ‘यो पक्ष सबल भएर पुरस्कार पायो’ भनेर अनुमान त म गर्न सक्दिनँ । तर, मेरो कृति निस्किएपछि समीक्षक र पाठकहरुबाट मैले जेजस्ता प्रतिक्रिया पाएँ, त्यसले म पहिले नै पुरस्कृत भइसकेको जस्तो लागिसकेको थियो । पाठक र समीक्षकहरुका मन मैले जितिसकेको महसुस पुरस्कार पाउनुअघि नै गरिसकेको थिएँ ।

aina

नेपाली साहित्यको मूलधारमा मलाई स्वीकार गरिएको छ भन्ने लागेको छ । सुदूरपश्चिमा बसेर आञ्चलिक जनजीवनलाई साहित्यमा उतार्दा मलाई के संशय थियो भने, स्थानीय गाउँठाउँका कुरा, भाषिक कुरा, सांस्कृतिक पक्ष, जीवनशैलीले नेपाली साहित्यको बजारमा प्रवेश पाउला कि नपाउला ? यी पक्षहरुलाई नेपाली साहित्यको बजारले स्वागत गर्ला कि नगर्ला ? भन्ने द्विविधा थियो । तर, यो पक्षलाई पाठकहरुले त पहिले नै स्वीकार गरेको थियो, मदन पुरस्कार गुठीले पनि स्वीकार गरे भन्ने लाग्छ ।

धनगढीमा रहेर सिर्जना गर्नुभए पनि ‘ऐना’ ले काठमाडौंकै प्रकाशनसंस्था भेट्यो । सो कृति प्रकाशन गर्न कत्तिको पापड पेल्नुप¥यो ?

नयाँ लेखकहरुले सानातिना झमेला त बेहोर्नु पर्छ नै । चर्चामा नआएका, मिडियामा नछाएका र साहित्यको बजारमा नाम नसुनिएका लेखकले प्रकाशनका लागि झन्झट बेहोर्नु पर्छ । अर्कोतिर, नेपाली साहित्यको बजारमा मेरो नाम नौलो थियो । निजी प्रकाशनगृहहरुले तुरुन्तै पत्याइहाल्ने स्थिति थिएन । किनकि, अहिले साहित्य पनि एउटा व्यवसाय भएको हुँदा चल्ने कृतिहरु मात्रै छाप्ने गरिन्छ । कुनै पनि प्रकाशनगृहहरुले बिक्री हुने, भोलिका दिनमा अब्बल ठानिने कृतिहरु मात्रै छाप्छन् ।

मैले पनि प्रकाशनगृहहरुका ढोका ढक्ढक्याउँदा सानातिना झन्झटहरु बेहोरँे । तर, मैले ०७२ सालभित्रै किताब निकाल्नुपर्ने बाध्यता पनि थियो । किनकि, हामीले सुदूरपश्चिमबाट देशैभरि साहित्यिक जागरण चलाउने टुंगो गरेका थियौं र त्यसका निम्ति पनि मैले आफ्नो किताब प्रकाशन गर्नैपर्ने थियो र त्यही अठोटका कारण मैले आफैले हतार गरेर किताब निकालेको हुँ । यसले मलाई सफलता पनि दिलायो ।

प्रतिक्रिया दिनुहोस्