रमेशनाथ यतिसम्म गर्न सक्छन् !


काठमाडौँ । कुनै कुनै मानिसलाई कस्तोसम्म सोख हुन्छ भन्ने एउटा उदाहरण शाहीकालीन मन्त्री रमेशनाथ पाण्डेलाई हेर्दा देखिन्छ । ‘म विरामी छु’ भनेर घरमा आउनका लागि अनुरोध गर्ने अनि त्यसरी अनुरोपछि भेट्न गएका मान्छेसँग फोटो खिचेर ‘उहाँ मलाई भेट्न आउनुभयो, उहाँसँग राजनीतिक विषया कुराकानी भयो’ भन्ने उनको ताल देख्दा भेट्न जानेहरु नै छक्क परेका छन् ।

सयको काम गरेर लाखमा प्रचार खोज्ने चरित्रका रमेशनाथ पाण्डेले हालै त्यस्तै दुईवटा काम गरेका छन् । विरामी भएर घरमै आराम गरिरहेका पाण्डेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुनासाथ आफूलाई प्रचारमा ल्याउने तरिका अवलम्बन नगरिरहन सकेनन् । उनले बधाई दिन दाहाललाई फोन गरे र भने, ‘तपाईंसँग राजनीति र कुटनीतिका विषयमा केही कुरा गर्नु थियो । म विरामी छु, त्यहाँ आउन सक्दिनँ । यता पाल्दा कस्तो होला ?’ ‘जनयुद्ध’ का बेलासमेत दरबारको प्रतिनिधि भन्दै भारतसम्म भेट्न पुगेका पाण्डेले त्यति भने पनि प्रधानमन्त्री दाहालले भन्नैप¥यो– ‘त्यसो भए म आउँला नि त !’ पाण्डेलाई के खोज्छस्….आँखा नै भइहाल्यो । ‘कहिले आउनुहुन्छ ?’ भनेर तिथि–मिति सोधेपछि उनले ‘भोलि आउँछु, म खबर गरौँला’ भने । तर, भोलिपल्ट उनी गएनन् । विहानैदेखि पाण्डेले बालुवाटारमा रहेका प्रधानमन्त्री निकट एक–एकजनालाई फोन गर्न थाले । दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा, छोरा प्रकाश दाहालदेखि प्रेस सल्लाहकार गोविन्दा आचार्यसम्मलाई गुहारे । अब छुट्कारा नपाइने भयो भनेर पर्सिपल्ट (साउन २९ गते) दाहाल उनको निबासमा पुगे र सञ्चो–विसञ्चो सोधेर तीन मिनेटमा फर्किए । तर, पाण्डेले फोटो खिचेर ट्वीट गरे, ‘एम ग्रेटफुल टु द पीएम फर कमिङ ट इन्क्वायर अबाउट माइ हेल्थ दिस मर्निङ । अल्सो डिस्कस्ड पोलिटिकल इस्युज ।’

प्रधानमन्त्री दाहाललाई जस्तै बेला–बेलामा पाण्डेले एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई पनि दुरुपयोग गर्ने गर्दछन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेको बेला उपचारका लागि भन्दै १५ लाख रुपिया दिन पाण्डेले बरिष्ठ नेता नेपालमार्फत नै दवाव दिएका थिए । यसपटक पनि उनले नेपाललाई फोन गरेर भने, ‘म विरामी छु । तपाईं हेर्न पनि आउनुभएन । एकपटक आएको भए हुन्थ्यो ।’ कमलो मनका नेता नेपाल नगइरहन सकेनन् । उनी दाहालकै बेलामा जस्तो उनले फोटो खिचे र ट्वीट गरिहाले, ‘…..अल्सो वी डिस्कस्ड पोलिटिकल इस्युज ।’

अर्का पाण्डेसँग यस्तो गरेका थिए

२०७० को संविधानसभा निर्वाचनपछि सुशील कोइरालाको नेतृत्वमा सरकार बनेपछि परराष्ट्रमन्त्री बनेका महेन्द्रबहादुर पाण्डेसँग पनि रमेशनाथ पाण्डेले यस्तै गर्न कोसिस गरेका थिए । तर, कडा स्वभावका र रमेशनाथको स्वभावका बारेमा पहिलेदेखि नै जानकार महेन्द्रबहादुर पाण्डेले बाल मतलब दिएनन् ।

कुटनीतिका नाममा झुटनीतिको अभ्यास गर्दै आएका रमेशनाथले फोन गरेर परराष्ट्रमन्त्री पाण्डेलाई भनेका थिए, ‘तपाईंलाई मेरो घरमा स्वागत गर्ने मन छ । जुन कुर्सीमा मदन भण्डारीलाई बसालेर स्वागत गरेको थिएँ, त्यही कुर्सीमा बसालेर कुरा गर्ने मन छ । एकपटक आइदिनुप¥यो ।’ मन्त्री पाण्डेले तपाईंको ल्यान्डलाइन नम्बर दिनुहोस्, म फोन गरेर आउँछु भनेर नम्बर टिप्दै पन्छाए । दुई–चार दिनमा पाण्डेले फेरि फोन गरेर खोई त तपाई आउनुभएन भनेर सोधे । मन्त्री पाण्डेले जवाफ दिए, ‘मसँग तपाईंको नम्बर छ, म आफैँ फोन गरिहाल्छु ।’ तर, मन्त्री पाण्डे नगएपछि उनले चारपटकसम्म फोन गरेको स्रोतले बतायो ।

ठूला नेताहरुलाई फोन गरेर बोलाउने अनि ‘फलानो मेरो घरमा यति बजेर यति मिनेटमा आउनुभयो’ भन्ने पाण्डेको पुरानै चलन हो । आफ्नो पुस्तकमा पनि उनले गिरिजाप्रसाद कोइरालालगायतका नेताहरु त्यसरी घरमा आएको महत्वका साथ उल्लेख गरेका छन्, जबकि आफूले फोन गरेर आइदिन अनुरोध गरेको चाहिँ कहीँ कतै उल्लेख गरेका छैनन् । उनलाई नजिकबाट चिन्नेहरुका अनुसार, पञ्चायतकालमा पाण्डे आफ्नो रातो गाडी नारायणहिटी दरबारको पश्चिम गेटमा पार्किङ गर्थे र दरबारभित्र गएको भान पारेर जयनेपालमा चलचित्र हेरेर बेलुकी गाडी लगेर जान्थे ।

प्रतिक्रिया दिनुहोस्