रवीन्द्र अधिकारीका १० सम्झनाः हलो क्रान्तिदेखि विकास समितिसम्म


१२ वर्षको उमेरदेखि नै कम्युनिष्ट राजनीतिमा होमिएका रवीन्द्र अधिकारी पण्डित परिवारमा हुर्केका हुर्केका हुन् । २०३८ सालमा सात कक्षा अध्ययन गर्दा अनेरास्ववियुको कान्छो सदस्यका रूपमा कम्युनिष्ट पार्टीको सपथ लिएका उनी अहिले एमाले केन्द्रीय कमिटीमा आबद्ध छन् । व्यवस्थापिका संसद्को विकास समिति सभापती समेत रहेका अधिकारीका जीवनका रोमाञ्चक र सम्झनलायक १० संस्मरणः
३६ दिन लगातार हलो जोतेँ
पण्डित परिवारमा हुर्किएकाले मलाई सबैले पण्डित परिवारकै सम्मान दिन्थेँ । अहिले पनि याद छ । त्यसबेला म कक्षा सातमा अध्ययनरत थिए । त्यतिबेलाको जमानामा पण्डित परिवारले हलो जोत्ने कुरा वर्जित थियो । मेरो बुबा, हजुरबुबा पण्डित हुनुहुन्थ्यो । तल्लो घरको हजुरबा पनि पण्डित हुनुहुन्थ्यो ।

मेरो बुबा र हजुरबुबा मात्र होइन तल्लो घरको हजुरबुबालाई पनि मैले हलो जोतेको पिटिक्कै मन पर्दैन थियो । तर, मैले ती सबैको वेवास्था गर्दै हलो जोतेँ । सबैतिरबाट मेरो आलोचना भैरहयो । तर मैले हलो जोत्ने कामलाई निरन्तरता दिइरहेँ । एसएलसी परीक्षापछि पनि म हलो जोत्थेँ ।

असारको महिना थियो । तल्लो घरका हजुरबाको घरमा काम गर्ने हली दाइको बुबाको त्यसैबेला मृत्यु भयो । उहाँ बुबाको काजक्रियामा बस्नुपर्ने भयो । गाउँमा परेली (आलोपालो एक–अर्काकोमा काम गर्ने चलन)को चलन थियो । हलिदाइको बुबा बितेपछि हजुरबाकोमा जोत्ने मान्छे भएन । असारको बेला खेती नलगाई नुहुने ।

हजुरबाले ‘रविन्द्रलाई नै जोत्न लगाउनु पर्नेभयो’ भन्नुभएछ । त्यो कुरा मैले थाहा पाएँ । मैले ‘हजुरबा नै आएर आग्रह गरे मात्र जोत्ने सर्त राखेँ ।’ पछि हजुरबा आएर मलाई आग्रह गर्नुभयो । म पनि त्यही प्रतिक्षामा थिएँ । उहाँको घरमा गएर जोतेँ । त्यसबेला मेरो जित भएको अनुभुति भयो । म त्यो घटना बिर्सन सक्दिन । मैले त्यो वर्ष ३६ दिन लगातार हलो जोतेँ ।

त्यतिमात्र होइन म त्यसैबेलादेखि छुवाछूत विरोधी थिएँ । मैले पानी नचल्ने जातको घरमा गएर खाएको भन्दै कति पटक हजुरबाले घरबाट निकालेको मलाई याद छ । अहिले सम्झँदा यी दुबै घटनाले मलाई क्रान्तिकारी बन्न प्रेरणा दियो भन्ने लाग्छ ।

वनविज्ञानको अध्ययन छाडेर व्यवस्थापनतिर

मैले एसएलसी गर्दा दाई ‘साइन्स’ पढेर अधिकृत बन्नुभएको थियो । परिवारको चाहना मलाई वनविज्ञान पठाउने थियो । वनविज्ञाको अध्ययनका लागि हेटौँडा जानुपर्ने बाध्यता थियो । म त्यसबेला राजनीतिमा सक्रीय थिएँ । राजनीतिमा रस भिजेका कारण मलाई वनविज्ञान पढ्ने चाहना थिएन । तर, बुबा र दाइले वनविज्ञान अध्ययनका लागि भर्ना गरिदिनुभयो । बस्नका लागि कोठासमेत खोजी दिनुभयो ।

तर, मैले उहाँहरुले थाहा नपाई विज्ञान पढ्ने निधो गरी पहिल्यै भर्ना गरिसकेको थिएँ । विज्ञान विषयको अध्ययन गर्दा ‘प्राक्टिकल’ हुने नियमति ‘कजेल’ जानुपर्ने झमेला हुने र राजनीति गर्ने समय नहुने भएकाले मैले व्यवस्थापन अध्ययन गर्ने निधो गरेँ र पछि फेरि व्यवस्थापनतिर मोडिएँ ।

घर–परिवारमा चाहिँ पहिलो वर्षको रिजल्ट आएपछि र म पास भएपछि मात्र जानकारी दिएँ । परिवारबाट निकै ठूलो हप्की खानु पर्ला भन्ने सोचेको थिएँ । तर, त्यस्तो भएन । पछि मैले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेँ । अहिले त्यो घटना सम्झदा ठिकै गरेछु, जस्तो लाग्छ ।

बन्दीगृहमा ड्राइभरले हतकडी खोलिदिए

०४६ सालको जन–आन्दोलन उत्कर्षमा पुगेको थियो । त्यसैबेला म, झलक सुवेदीलगायत केहीलाई तत्कालीन प्रशासनले हतकडीसहित जेलमा हाल्यो । प्रशासनले निकै दुःख दियो । त्यो घटना सम्झदाँ अहिले पनि कहाली लाग्छ । भुँइमा पानी खन्याएर त्यही पानीमाथि हामीलाई सताउँथ्यो ।

सबै बन्दीले ट्वाइलेट जाँदा हतकडीसहित जानुपर्ने बाध्यता थियो । आठ–दश दिन बन्दीगृहमा बसेपछि एक ड्राइभरसँग भेट भयो । उनी निकै चतुर थिए । राम्रो हिमचिम भएपछि उनले रातीराती मेरो हतकडी बहुत कुसलतापूवएक खोल्ने र बिहान जस्ताको त्यस्तै बनाउँने गर्थे ।

मेरो हात चलाएर बोल्ने बानी थियो । हतकडी खोलेपछि हात चलाएर निर्धक्कसँग गफ गर्न सजिलो हुन्थयो । सबै कुरा प्रहरीले थाहा पाएछ । त्यही कारण प्रहरीले मलाई निर्मम यातना दियो र पाँच सय पटक उठबस गर्न लगायो । यो पनि मेरो जीवनको सम्झन लायक घटना थियो ।

महिलाका कपडा लगाएर भागेँ

पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्थेँ । २०४६ सालको आन्दोलन निकै उत्कर्षमा पुगेको थियो । हामी एक साँझ होेस्टलमै महत्वपूर्ण बैठक बसिरहेका थियौँ । प्रहरीले होस्टलमा छापा मा¥यो, त्यहाँ भागदौड चल्यो । सबै साथी छिन्नभिन्न भए । म र केही साथी भूईँमा घिस्रिदैँ पल्लो ‘कर्नर’मा गएर बस्यौँ । प्रहरी हाम्रो वरीवरी थुप्रै पटक घुम्यो तर हामीलाई भेट्टाएन । भोलिपल्ट बिहान हामी महिला होस्टलमा प्रहरीको आँखा छलेर र्छियौँ । हामीलाई महिला साथीले साथ दिए । उनीहरुकै सहयोगमा छात्राका कपडा लगाएर भाग्न सफल भयौँ । प्रहरीले पत्तो नै पाएन ।

पर्खाल फोरेर क्याम्पस प्रमुखको निवासमा

२०४६ सालको आन्दोलनकै ताका पोखरामा एउटा ठूलो घटना घट्यो । त्यसकोे सबै रिपोर्ट पार्टीलाई दिनुपर्ने थियो । टेलिफोनको सेवा सहज नभएकाले हामीले रिपोर्ट दिनका लागि उपयुक्त क्याम्पस प्रमुखको निवास हुने ठहर गर्‍यौ । गणेश गुरुङ क्याम्पस प्रमुख हुुनुहन्थ्यो ।

हामी राती उहाँको निवासमा पर्खाल फोरेर पुग्यौँ । उहाँले अताल्लिएर भन्नुभयो– ‘लौ–लौ यहाँबाट तिमीहरु भागिहाल, अहिले पुलिस आउँछ ।’ तर हामीले निर्धक्क साथ फोन गर्‍यौ । त्यसको केही दिनपछि म उहाँकै निवासबाट पक्राउ परेँ ।

दरबारमा पाँच लाख २७ हजारको हस्ताक्षर

२०५७ सालमा पूर्व युवराज पारस शाहले हाँकेको गाडीले गायक प्रविण गुरुङको किचेर मार्यो । त्यसबेला म अनेरास्ववियुको अध्यक्ष थिएँ । अनेरास्ववियुले मुलुकभरी नै त्यसको विरोधमा आन्दोलनको घोषणा गर्‍यो । मेरो नेतृत्वमा मुलुकभरी विरोध भयो । आन्दोलन नगर्न मलाई धेरैतिरबाट दबाब आयो । तर, त्यसको प्रवाह नै नगरी अनेरास्ववियुले आन्दोलन चर्कायो । हामीले मुलुकभरी हस्ताक्षर अभियान सञ्चालन र्गयौँ ।

त्यही घटनालाई आधार बनाएर मेरो परिवारलाई विभिन्न अज्ञात व्यक्तिले मार्नेसम्मको धम्की दिए । मलाई पनि मार्नेसम्मको योजना बनाएको कुरा सुरक्षा निकाएबाटै गोप्य रुपमा थाहा पाएँ । उनीहरुले मलाई मार्नका लागि म चड्ने मोटरसाइकलको नम्बरसम्म ‘नोट’ गरेका रहेछन् । पछि हामीले पाँच लाख २७ हजारको हस्ताक्षर दरबारमै लगेर बुझायौँ । त्यतिबेला पनि हामीलाई दरबारले त्यही खतम बनाउँछ भन्ने सोचेका रहेछन् । तर, दरबारले केही गर्ने आँट गरेन् ।

मृत्युलाई जितेर फर्के

अनेरास्ववियुको जिम्मेवारी पूरा गरेपछि कास्की फर्की पार्टी राजनीतिमा सक्रिय थिएँ । त्यतिबेला माओवादीको शसस्त्र युद्ध उत्कर्षमा पुगेको थियो । माओवादीले व्यक्ति हत्याको श्रृंखलालाई चरम बनाएको थियो  । राजनीतिक आस्थाकै कारण हत्या गर्ने, अंगभङ्ग बनाउने जस्ता घृणित कार्यमा माओवादी उत्साहित थियो । त्यसैबेला मलाई एक कार्यक्रमबाट माओवादीले अपहरण गर्‍यो ।

माओवादीले मलाई अपहरण गरेसँगै सारा गाउँ माओवादीको विरोधमा उत्रियो । त्यसले मलाई एकातिर उत्साह पैदा भएको थियो । अपहरणपछि मलाई उनीहरुले हत्या गर्लान वा अंगभङ्ग गराउलान भन्ने मानसिक रूपमा तयार भएको थिएँ । त्यसैले मलाई धेरै डर लागेन । मैले उनीहरुलाई निर्धक्कसाथ ‘तिमीहरु राजासँग हात मिलाइरहेका बेला म दरबारमा दरबारकै विरुद्ध लाखौँको हस्ताक्षर बुझाइरहेको थिएँ । तिमीहरु भारतमा बसेर नेपालमा युद्ध गर्ने योजना बनाइरहेका बेला मेरो नेतृत्वमा ‘कालपानी नेपालको हो’ भनी मार्चपास गरिरहेका थियौँ । तिमीहरुले मलाई के ठानेका छौँ’ भनी प्रतिवाद गरेँ । उनीहरु त्यसपछि केही गले जस्तो भए ।

मेरो अपहरणपछि सञ्चार माध्ययममा पनि माओवादीको निकै विरोध भयो । अन्तिममा उनीहरुले मलाई अपहरण मुक्त गर्नेसम्म आँट गर्न सकेनन् । मलाई त्यही छोडेर उनीहरु भागे । मलाई त्यतिबेला मृत्युको मुखमा पुगेर पनि बाँचेर आएको जस्तो अनुभूति भयो ।

‘स्ववियु सभापति होस् त रविन्द्र जस्तो’

पोखरामा अध्ययन गर्दा पृथ्वीनाराण क्याम्पसमा सभापति भै सकेको थिएँ । स्नातकोत्तर अध्ययनका लागि त्रिभूवन विश्वविद्यालय कीर्तिपुर आएँ । त्यतिबेला केदारभक्त माथेमा त्रिभूवन विश्वविद्यालय कीर्तिपुरको प्रमुख हुनुहुन्थ्यो । पृथ्वीनाराणको सभापति हुँदा मलाई उहाँले एक पटक औपचारिक कार्यक्रममै ‘स्ववियु सभापति होस् त रविन्द्र जस्तो’ भन्नुभएको थियो ।

त्यहि कुरा उहाँले ‘टियु’मा औपचारिक भाषणकै क्रममा दोर्होयाउनुभयो । उहाँलाई धेरैले कांग्रेस निकट भन्ने गरेका थिए । उहाँको त्यो भनाइपछि नेपाल विद्यार्थी संघका विद्यार्थीहरु निकै रिसाएका थिए । नभन्दै म त्यही पटक सभापतिको उम्मेदवार बने र विजयी पनि भएँ । आफुले राम्रो गर्न सक्यो भने सम्मान पनि पाइन्छ भन्ने कुराको ज्ञान त्यसबेला भयो ।

एमाले विभाजन हुँदा धेरै रात अनिदो भएँ

नेकपा (एमाले)मा नेताबीच मतभेद चुलिएपछि पार्टी विभाजनको संघारमा पुग्यो । म विभाजन नहोस् भन्ने पक्षमा थिएँ । पार्टी विभाजन हुने निश्चित भएपछि दुवै थरी नेता एक अर्काको आरोप–प्रत्यारोपमा खुलारुपमा भाषण गरिरहेका थिए । म भने रातभरी पीडामा हुन्थेँ ।

जीवनमा सबैभन्दा बढी पीडा मलाई एमाले विभाजन हुँदा भयो । रातभरी चिन्ताले अनिदो हुन्थँ । दिनभरी कार्यकर्तालार्ई उर्जा भर्नका लागि भए पनि भाषण गर्नुपर्ने बाध्यता हुन्थ्यो । एमाले विभाजन हुँदा म आफैँ विभाजन भएको अनुभूति भएको थियो । मलाई एमाले–माले विभाजले जीवनमा निकै ठूलो पाठ सिकायो । पार्टी विभाजनको पीडा नेतालाई मात्र हुँदैन । त्यसको पीडा आम कार्यकर्तामा पनि हुन्छ भन्ने बोध मलाई त्यसैबेला भयो । अहिले पनि मलाई अन्य पार्टीका नेतालेसमेत विभाजनको कुरा गर्दा निकै नरमाइलो लाग्छ ।

योगेश भट्टराई र म अलग हुँदा
मैले सम्झिने महत्वपूर्ण घटनामा नेकपा (एमाले)को नवौँ महाधिवेशन पनि एक हो । विभिन्न कारणले मैले र योगेश भट्टराईले फरक–फरक समूहका नेताको समर्थन गर्‍यौँ । मैले नवौँ महाधिवेशनको केही समय पहिला पनि योगेशजीलाई ‘महाधिवेशनमा फरक–फरक नेतालाई अध्यक्षमा समर्थन गर्नुपर्ने अवस्था आउन सक्छ है,’ भनेको थिएँ । तर मैले त्यसो भन्दैगर्दा मलाई एक प्रकारको पीडा महशुस भएको थियो ।

उहाँ र मेरो व्यक्तिगत सम्बन्ध नराम्रो भएर वा अरू कुनै कुराले हामी महाधिवेशनमा फरक–फरक कित्तामा उभिएका थिएनौँ । हामी अनेरास्ववियुको प्रारम्भिक कमिटिदेखि नै एक प्रकारले सहकार्य गरेर अघि बढेका थियौँ । हामीबीच कहिल्यै पनि नराम्रो भएन ।

तर, नवौँ महाधिवेशनमा हामी टाढाटाढा जस्तो भयौँ । वर्षौसम्मको हाम्रो सम्बन्ध धुमिल हुने हो कि भन्ने चिन्ताले मलाई धेरै रात निन्द्रा लागेन ।

प्रतिक्रिया दिनुहोस्