राजधानीमै नक्कली डाक्टर, बालिकाको ज्यान गएपछि फरार


काठमाडौं, ४ मंसिर । बुढानीलकण्ठ नगरपालिका–८ सुन्दरबस्तीकी १० वर्षीया कृष्मा खतिवडालाई तीन साताअघि सामान्य ज्वरो आयो ।

आफन्तले कात्तिक १० गते भंगालमा रहेको अक्सिजन नेसनल मेडिकल पुर्‍याए । त्यहाँ डाक्टरका रुपमा कार्यरत अंगतमणि श्रेष्ठ कृष्मालाई ज्वरोले च्यापेको भन्दै भर्ना गरेर स्लाइन चढाउनुपर्ने बताए । आफन्तले कृष्मालाई मेडिकलमै भर्ना गरे ।

बाबुआमा वैदेशिक रोजगारमा रहेकाले कृष्मा हजुरबुवालगायत आफन्तसँग बस्थिन् । दुई दिन मेडिकलमा राखेपछि श्रेष्ठले औषधि दिएर उनलाई घर पठाए । छोरी बिरामी भएको थाहा पाएपछि बाबुआमा १६ गते बेलुकी जापानबाट नेपाल फर्किए ।

१७ गते दिउँसो फेरि कृष्मालाई ज्वरो बल्झियो । हजुरबुवाले त्यही लगौं भनेपछि पहिलेकै मेडिकल लगे । श्रेष्ठले फेरि पनि भर्ना गरेर स्लाइन दिनुपर्ने दोहोर्‍याए । त्यसपछि उनी त्यहाँ दोस्रोपल्ट भर्ना भइन् ।

भर्ना भएको भोलिपल्ट श्रेष्ठले बिरामीलाई एउटा एन्टिबायोटिक औषधि खुवाउनुपर्ने आफन्तलाई बताए । डाक्टरले सोधेपछि आफन्तले नाइँ भन्ने कुरो भएन । श्रेष्ठले बिरामीलाई औषधि खुवाए । त्यसको भोलिपल्टदेखि कृष्माले बारम्बार बान्ता गर्न थालिन् । यस्तो देखेर बाबुआमा डराए । श्रेष्ठले बिरामीलाई सास फेर्न गाह्रो भएकाले १० दिनसम्म खुवाउने औषधि लेखिदिए । त्यसपछि उनी दोस्रोपल्ट डिस्चार्ज भइन्।

डिस्चार्ज गर्ने बेला श्रेष्ठले आफू लामो बिदामा बस्ने भएकाले मेडिकल नआउनू भनेका थिए । डिस्चार्जपछि कृष्मालाई ज्वरोले झन् सतायोे । ज्वरो बढेपछि आफन्तले १९ गते बिहान उनै डाक्टर श्रेष्ठलाई फोन गरे । श्रेष्ठले अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा लैजान अराए । त्यही दिन आफन्तले कृष्मालाई बालमैत्री अस्पताल पुर्‍याए ।

त्यहाँ चिकित्सकले कृष्माको छातीको एक्सरे गरे । रिपोर्टमा निमोनियाले ढाकेको देखियो अनि उनलाई आइसियुमा भर्ना गरियो । तर उनको रोग निको भएन बरु भर्ना भएको ६ दिनपछि ज्यान गयो ।

त्यसयता आमा मञ्जु खतिवडा (बस्ताकोटी) विक्षिप्त जस्तै छिन्, घरि रुन्छिन्, घरि टोलाउँछिन् । ‘सबै गाउँलेले त्यही मेडिकलमा उपचार गराउँथे, छोरीलाई पनि त्यहीं लग्नुभएको रहेछ । हामी जापान थियौं । छोरी बिरामी परेपछि नेपाल आएका हौं । यहाँ आएर बुझ्दा त्यो मेडिकल दर्तै रहेनछ, डाक्टर पनि नक्कली रहेछन्,’ मञ्जुले भक्कानिँदै भनिन् ।
डाक्टर नै नक्कली
अक्सिजन नेसनल मेडिकलका सञ्चालक श्रेष्ठ नक्कली डाक्टर भएको प्रमाण भेटिएको छ । उनका शैक्षिक प्रमाणपत्र र अन्य कागजात नक्कली भएको भेटिएको छ । उनका प्रमाणपत्रमा दुई वटा नाम छन् । मेडिकलमा उनले डाक्टर अंगतमणि श्रेष्ठ भनेर नेमप्लेट बनाएका छन्।

कागजातमा उनको नाम कृष्णबहादुर उल्लेख छ । उनको वास्तविक ठेगाना सिन्धुली हो तर उनले आफू काठमाडौंकै स्थायी बासिन्दा भएको बताउँदै आएका छन् । उनले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबाले हस्ताक्षर गरेको ‘वल्र्ड टपर’ नामक नक्कली सर्टिफिकेट समेत बनाएका छन् ।

‘भंगाल क्षेत्रका सबै स्थानीय बिरामी पर्दा त्यही मेडिकलमा पुग्थे । मेडिकलले चर्को पैसा असुलेपछि मात्रै अन्त पठाउँथ्यो,’ कृष्माका एक आफन्तले भने, ‘शंका लागेका डाक्टरको कागजात खोज्दा केही भेटिएको छैन । वडा कार्यालयले नक्कली डाक्टर भन्दै प्रहरीलाई खबर गरेको छ ।’

श्रेष्ठले अमेरिका र जापानबाट ‘एमडी’ गरेर आएको, नर्भिक र ओम हस्पिटलमा पनि आफू संलग्न भएको भन्दै रोगी र तिनका आफन्तलाई प्रभाव पार्ने गरेको स्थानीय बताउँछन् । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्