राजनीतिक अन्योलबीच आज पुनर्जीवित प्रतिनिधिसभा वैठक, के–के छन् कार्यसूचीमा ?


काठमाडौं, २३ फागुन । राजनीतिक अन्योलका बीच पुनर्जीवित प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज (आइतबार) बाट शुरु हुँदैछ । गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापना भएपछि पहिलो बैठक आज बस्न लागेको हो । संसद् बैठक अपराह्न ४ बजे बस्दैछ ।

यसका लागि संसद् सचिवालयले सम्भावित कार्यक्रमका सूची तयार पारेको छ । जसअनुसार बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् । यस्तै राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पनि पढेर सुनाइने छ । अनि सभामुखको अनुमतिमा सभाको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिने छ ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ । यसबीच वर्तमान तथा पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पनि पेस गर्ने कार्यक्रम छ । तर बैठक शुरु हुनुअघिसम्म सम्भावित कार्यक्रम थपघट हुन सक्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्