राजनीतिक नेतृत्व आर्थिक नियम कानुनभित्र बस्नुपर्छः प्रधानमन्त्री ओली


काठमाडौ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानुनभित्र बस्नु पर्ने बताएका छन्।
सिंहदरवारमा बसेको महालेखा परीक्षकको २०७४ /०७५ लेखा परीक्षण सम्बन्धि बैठकमा प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउनु पर्ने भएकाले राजनीतिक व्यक्तित्वहरुले यस विषयमा गम्भीर हुनुपर्ने बताए।

कार्यलयहरुमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीले बताए।

प्रधानमन्त्री ओलीले भने ‘के कारणले बेरुजु भएको हो ? जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो। त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्दछ।’

उनले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकायले उन्मुक्ति नपाउने बताए। बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको भनाइ छ।

बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले आर्थिक वर्ष २०७४/०७५ मा ४८ अर्ब रुपैयाँ बेरुजु देखिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्